काठमाडौँ- नेपाल एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग पराजित भएपछि नेपाल उक्त प्रतियोगिताबाट बाहिरिएको हो।
कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४२ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६८ रनको योगफल बनायो। पाकिस्तानका लागि रोहेल नाजिरले सर्वाधिक अविजित ६४ रन बनाए। त्यस्तै हसन नवाजले २८ र अहमद दानियालले १६ रन बनाए।
बलिङतर्फ नेपालका रासिद खानले पाँच विकेट लिए। उनले आठ ओभरमा ३९ रन खर्चिए। त्यस्तै अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एकएक विकेट लिए।
एक सय ६९ रनको विजयी लक्ष्य पाएको नेपालको पारी १७ दशमलव तीन ओभरमा ७२ रनमै समेटियो। नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए। यस्तै बसिर अहमदले ११ रन बनाए। बलिङतर्फ पाकिस्तान ‘ए’का लागि दुई मोहमद हसनैन र सुफायन मोकिमले तीन तीन तथा मोहमद इमरानले दुई र माज सदाकतले एक विकेट लिए।



