फाइल तस्बिर : एपी/रासस
काठमाडौँ- विश्व ऊर्जा आपूर्तिको लाइफलाइन मानिने ‘स्ट्रेट अफ हर्मुज’ मा जारी तनाव कम गर्न इरानले लचिलो बन्ने संकेत दिएको छ।
तर, इरानले होर्मुजमा आफ्नो नियन्त्रण हटाउने प्रस्ताव अघि सारे पनि अमेरिकाले लगाएको आर्थिक नाकाबन्दी अन्त्य हुनुपर्ने अडान राखेपछि कूटनीतिक निकास झनै जटिल बनेको छ।
क्षेत्रीय अधिकारीहरूका अनुसार इरानले आफ्नो आणविक कार्यक्रमलाई थाती राख्दै व्यापारिक मार्ग खुला गर्ने प्रस्ताव गरेको हो। तर, अमेरिकी प्रशासनले भने इरानको आणविक कार्यक्रम पूर्ण रूपमा अन्त्य नभएसम्म कुनै पनि दीर्घकालीन सम्झौता सम्भव नभएको स्पष्ट पारेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि आफू तयार रहेको तर इरानले प्रत्यक्ष सम्पर्क गर्नुपर्ने बताएका छन्। आइतबार फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भने,‘इरानले पहिलेभन्दा राम्रो प्रस्ताव पठाएको छ, तर आणविक हतियार अन्त्य गर्ने सुनिश्चितता नै प्रमुख सर्त हो।’
यसैबीच इरानी विदेशमन्त्री अब्बास अराघची सोमबार रुसको सेन्ट पिटर्सबर्ग पुगेका छन्। त्यहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरी पछिल्लो विकसित घटनाक्रम र कूटनीतिक पहलका विषयमा परामर्श गर्ने कार्यक्रम रहेको छ। अराघचीले ओमान र पाकिस्तानलगायतका देशहरूसँग पनि संवाद जारी राखेका छन्।
पाकिस्तानको इस्लामाबादमा इरान र अमेरिकाबीच मधयस्थताको प्रयास भए पनि प्रक्रिया प्रभावित भएको छ। इरानले अमेरिकी पक्षको अत्यधिक मागलाई वार्ता ढिलाइ हुनुको मुख्य कारण मानेको छ।
अमेरिकी दूतहरू स्टिभ विटकफ र जारेड कुशनरको इस्लामाबाद भ्रमण रद्द भएपछि प्रत्यक्ष वार्ताको सम्भावना तत्कालको लागि टरेको देखिन्छ।
होर्मुजमा अवरोध भएपछि विश्व बजारमा तेल र ग्यासको मूल्य आकासिएको छ। युद्धअघि प्रतिब्यारेल ७२ डलर रहेको ब्रेन्ट क्रुडको मूल्य अहिले १०७ डलर पुगेको छ। विश्वको २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने यो मार्ग अवरुद्ध हुँदा मल तथा अन्य अत्यावश्यक सामग्रीको ढुवानीसमेत ठप्प भएको छ।
गत फेब्रुअरी २८ देखि सुरू भएको अमेरिका–इजरायल संयुक्त आक्रमण र त्यसपछिको द्वन्द्वले ठूलो मानवीय क्षति पु¥याएको छ। एक तथ्यांकअनुसार यद्धमा परेर इरानमा ३ हजार ३७५ र लेबनानमा २ हजार ५०९ जनाको मृत्यु भइसकेको छ। यसबाहेक इजरायल र खाडी क्षेत्रमा पनि मृत्यु हुनेको संख्या बढ्दो छ।
इजरायल र हिजबुल्लाहबीचको युद्धविराम तीन हप्ताका लागि थप गरिए पनि स्थायी शान्तिको संकेत देखिएको छैन। इरानले ओमानसँग मिलेर जहाज आवागमनका लागि ‘टोल प्रणाली’ लागू गर्ने विषयमा छलफल गरिरहेको छ।
यद्यपि दुवै पक्षले सैन्य चेतावनी जारी राखेका कारण पर्सियन खाडीको तनाव तत्काल साम्य हुने छाँटकाँट देखिँदैन।




