काठमाडौँ- मकवानपुरको हेटौंडाबाट पेस्तोलसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। आज (कात्तिक २८ गते) दिउँसो करिब १२:१५ बजे हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलमा गरिएको सवारी जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण मकवानपुर र सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो जाँच गर्ने क्रममा अटोबाट भाग्न खोजेपछि ब्युरोको टोलीले एक राउण्ड हवाई फायर गरेको सशस्त्रका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
प्रहरीले ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने एक थान म्यागजिन र एक राउन्ड गोली बरामद गरेको छ। नियन्त्रणमा लिइएका हरुमा मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्ती निवासी २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ रहेका छन्।



