तिहारको उमंग विश्वभर, नेपाली समुदायसँगै उत्सवमा कूटनीतिक नियोग र नेताहरू

अस्ट्रेलियाका प्रधानमन्त्री, अमेरिकी सांसद् र मेयरका साथै विश्वका अन्य नेताहरुले दिए दीपावलीको शुभकामना

हिमाल प्रेस २३ कार्तिक २०८३ १५:४९ | Monday, November 9, 2026
तिहारको उमंग विश्वभर, नेपाली समुदायसँगै उत्सवमा कूटनीतिक नियोग र नेताहरू अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज नेपाली समुदायसँग तिहार मनाउँदै। सामाजिक सञ्जालमा तस्बिरहरू पोस्ट गर्दै प्रधानमन्त्री अल्बानीजले सिड्नीमा नेपाली समुदायसँगै तिहार पर्व मनाउन पाउँदा निकै खुसी लागेको र विविधता नै हाम्रो शक्ति हो र तपाईंहरूको समुदाय यस विविधताको एउटा अत्यन्तै महत्त्वपूर्ण हिस्सा हो भन्ने उल्लेख गरेका छन्।

काठमाडौँ- नेपालमा मनाइने तिहारको उज्यालो केही वर्षदेखि देशको सीमाभन्दा धेरै परसम्म फैलिएको छ। विश्वका विभिन्न मुलुकमा रहेका नेपाली समुदायले आफ्नो मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिइरहँदा विदेशी सरकारका उच्चपदस्थ अधिकारीदेखि नेपालस्थित कूटनीतिक नियोगसम्मले तिहार तथा दीपावलीको शुभकामना दिइरहेका छन्।

कतिपय काठमाडौँ उपत्यकास्थित विदेशी दूतावासले नेपाली परम्पराअनुसार कुकुर पूजा गरेका छन् भने केहीले देउसीभैलो र सांस्कृतिक गतिविधिमा समेत सहभागिता जनाएका छन्। नेपाली समुदायको ठूलो उपस्थिति रहेको अमेरिका र अस्ट्रेलियाका नेताहरूले समेत शुभकामना दिएका छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि दीपावली मनाउने सबै समुदायलाई शुभकामना दिएका छन्। यस पर्वले अन्धकारमाथि उज्यालोको विजय, नयाँ सुरुवात र उज्ज्वल भविष्यको आशा जगाउने उनले बताएका छन्।

उल्लेख्य नेपाली समुदाय रहेकाे अमेरिकी सहर न्युयोर्कमा अमेरिकी प्रतिनिधिसभा सदस्य अलेक्जान्ड्रिया ओकासियो-कोर्टेज र न्युयोर्कका मेयर जोहरान क्वामे ममदानीले नेपाली समुदायलाई तिहारको शुभकामना दिएका छन्।

उनीहरूले नेपाली भाषामै शुभकामना सन्देश सार्वजनिक गर्नुले नेपाली संस्कृति र समुदायले अन्तर्राष्ट्रिय समाजमा बनाएको पहिचानलाई प्रतिबिम्बित गरेको छ।

एन्थोनीले दीपावली हिन्दु, जैन, सिख र बौद्ध समुदायका सांस्कृतिक तथा आध्यात्मिक परम्परासँग जोडिएको उल्लेख गर्दै उनले यसले उदारता, करुणा, प्रेम र एकताको सन्देश प्रवाह गर्ने बताएका छन्। अस्ट्रेलियाको पहिचानमा दीपावली महत्त्वपूर्ण पर्वका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै उनले विभिन्न पृष्ठभूमिका मानिसलाई एकताबद्ध गर्न यसले भूमिका खेलेको बताएका छन्।

ओकासियो-कोर्टेजले सामाजिक सञ्जाल एक्समा रोमन लिपिमा नेपाली भाषामा ‘तिहारको हार्दिक शुभकामना’ लेख्दै अमेरिकामा रहेका नेपालीहरूलाई सम्बोधन गरेकी छन्। उनले तिहारलाई मानिसको जीवनमा साथ र संरक्षण दिने सम्बन्धहरूको सम्मान गर्न सम्झाउने पर्वका रूपमा व्याख्या गरेकी छन्।

‘हामीसँग जीवन बाँड्ने पशुपन्छीदेखि संरक्षण दिने दाजुभाइ तथा दिदीबहिनीसम्म र हरेक सम्बन्धको सम्मान गर्न तिहारले सम्झाउँछ,’ उनले लेखेकी छन्। यस पर्वले सबैमा सुख, समृद्धि र शान्ति ल्याओस् भन्ने कामनासमेत उनले गरेकी छन्। यसअघि न्युयोर्कका मेयर ममदानीले पनि नेपाली समुदायलाई तिहारको शुभकामना दिँदै पर्वको धार्मिक तथा पारिवारिक महत्त्वलाई उल्लेख गरेका थिए। उनले नेपाली भाषामा ‘तिहारको हार्दिक शुभकामना’ लेखेपछि अंग्रेजीमा अन्य सन्देश लेखेका थिए।

उनकाे सन्देशपछि हजारौँ अमेरिकीले नेपाली समुदायलाई लक्षित गर्दै उनको सन्देशको कमेन्टमा थप सन्देश दिएकाे देख्न सकिन्छ। लक्ष्मीपूजामा दियो बाल्ने र भाइटीकामा पारिवारिक सम्बन्धको उत्सव मनाउने नेपाली समुदायलाई सम्बोधन गर्दै उनले तिहारले समृद्धि, शान्ति र सबैले पाउनुपर्ने अपनत्वको अनुभूति ल्याओस् भन्ने कामना गरेका थिए।

न्युयोर्कमा नेपाली समुदायको बसोबास विशेषगरी क्वीन्सका रिजउड, ज्याक्सन हाइट्स, उडसाइड, सन्नीसाइड र एल्महर्स्टलगायत क्षेत्रमा छ। यी क्षेत्रमा नेपाली चाडपर्व, भाषा, खानपान र सांस्कृतिक गतिविधिले स्थानीय समाजमा पनि आफ्नो स्थान बनाउँदै लगेका छन्।

नेपालस्थित विदेशी दूतावासमा पनि तिहारको रौनक

नेपालमा रहेका विदेशी कूटनीतिक नियोगहरूले पनि तिहारलाई नेपाली समाजको सांस्कृतिक पहिचान र आत्मीयतासँग जोडेर शुभकामना दिएका छन्। अमेरिका, बेलायत, चीन, भारत, जापान, संयुक्त अरब इमिरेट्सलगायत देशका दूतावासले सामाजिक सञ्जालमार्फत नेपालीहरूलाई तिहार तथा दीपावलीको शुभकामना दिएका छन्।

नेपालस्थित अमेरिकी दूतावासले उज्यालो र उमङ्गको पर्व तिहार मनाइरहेका सबै नेपालीलाई शुभकामना दिँदै यसले उनीहरू र परिवारमा सुख, समृद्धि, सुस्वास्थ्य र खुसी ल्याओस् भन्ने कामना गरेको छ। दूतावासले नेपाली र अंग्रेजी दुवै भाषामा सन्देश सार्वजनिक गरेको छ।

बेलायती दूतावासले भने कुकुर तिहारलाई विशेष रूपमा जोड दिएको छ। नेपालमा कुकुरलाई सम्मान र पूजा गर्ने परम्पराको प्रसंग उल्लेख गर्दै दूतावासले कुकुरलगायत सबै जनावरलाई अझ बढी माया गर्नुपर्ने सन्देश दिएको छ। दूतावासका अधिकारीहरूले कुकुर पूजामा सहभागी भएको तस्बिर तथा गतिविधि पनि सार्वजनिक गरेका छन्।

चिनियाँ दूतावासले पनि कुकुर तिहारका अवसरमा नेपालीहरूलाई शुभकामना दिएको छ। दूतावासले आफ्ना दुई सुरक्षा कुकुर ‘सन्नी’ र ‘स्लोकी’को तस्बिर सार्वजनिक गर्दै कुकुर तिहारको सांस्कृतिक महत्त्वलाई आत्मसात् गरेको छ। नेपालका लागि चिनियाँ राजदूत छन सोङले यसअघि देउसीभैलोको साँझलाई लक्षित गर्दै गीत, हाँसो र सामूहिक आत्मीयताले भरिएको साँझको शुभकामना दिएका थिए।

जापानी दूतावासले दीपावली तथा तिहारले सबैको जीवनमा खुसी, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेको छ। दूतावासका प्रतिनिधिहरू नेपाली सांस्कृतिक उत्सवमा सहभागी भएका तस्बिर र गतिविधि पनि सार्वजनिक भएका छन्।

भारत, संयुक्त अरब इमिरेट्स र बंगलादेशका दूतावासले पनि यमपञ्चक तथा तिहारका अवसरमा शुभकामना दिएका छन्। भारतीय दूतावासले तिहारको प्रकाशले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस् तथा प्रेम, सद्भाव र पारिवारिक सम्बन्धलाई अझ बलियो बनाओस् भन्ने कामना गरेको छ। यूएईको दूतावासले लक्ष्मीपूजा र कुकुर तिहारका अवसरमा नेपालीहरूमा सुख, शान्ति, समृद्धि र खुसीको कामना गरेको छ।

नेपालमा रहेका विदेशी नियोगले तिहारलाई धार्मिक पर्वका रूपमा नभई नेपाली समाजको सांस्कृतिक परम्परा, पशुपन्छीप्रतिको संवेदना, पारिवारिक सम्बन्ध र सामुदायिक सद्भावसँग जोडेर प्रस्तुत गरेका छन्। तिहार नेपालको मौलिक सांस्कृतिक पहिचान बोकेको प्रमुख पर्व हो। पाँच दिनसम्म मनाइने यस पर्वमा काग, कुकुर, गाई र गोरुको पूजा गर्नुका साथै धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ।

नेवार समुदायले यही अवसरमा म्हःपूजा गरेर आफ्नो शरीर र आत्माको पूजा गर्ने परम्परा पनि निर्वाह गर्छन्। लक्ष्मीपूजामा घरआँगनमा दियो बालेर उज्यालो पार्ने, देउसीभैलो खेल्ने र अन्तिम दिन भाइटीकामा दिदीबहिनी तथा दाजुभाइबीचको सम्बन्धलाई विशेष महत्त्व दिने चलन छ। विदेशमा रहेका नेपाली परिवार र समुदायले पनि यी परम्परालाई निरन्तरता दिँदै आएका छन्।

विदेशमा नेपाली चाडपर्व मनाइनु प्रवासी नेपालीको धार्मिक वा पारिवारिक गतिविधिमा मात्र सीमित छैन। यसले उनीहरू बसोबास गर्ने समाजमा नेपालको सांस्कृतिक पहिचान चिनाउने, स्थानीय समुदायसँग सम्बन्ध विस्तार गर्ने र नयाँ पुस्तालाई आफ्नो भाषा तथा परम्परासँग जोडिराख्ने कामसमेत गरिरहेको छ।

नेपाली समुदायले आयोजना गर्ने तिहार उत्सवमा विदेशी नागरिक, स्थानीय जनप्रतिनिधि र अन्य समुदायका मानिसको सहभागिता बढ्नु सांस्कृतिक आदानप्रदानको एउटा उदाहरण हो। विदेशी नेताहरूले नेपाली भाषामै शुभकामना दिनु, दूतावासका अधिकारीहरूले कुकुर पूजा र देउसीभैलोमा सहभागिता जनाउनु तथा विदेशी नियोगहरूले नेपाली परम्परालाई आफ्ना सन्देशमा स्थान दिनुले संस्कृतिको सीमा भूगोलले निर्धारण गर्दैन भन्ने देखाउँछ।

विश्वभर फैलिएको नेपाली समुदायले आफ्नो भाषा, संस्कृति र चाडपर्वलाई पनि सँगै विस्तार गरिरहेको छ। नेपाली जहाँ पुगे पनि तिहारको दियो, देउसीभैलो, भाइटीका र पारिवारिक आत्मीयता त्यहाँ पुग्नुले नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय समाजमा स्थापित गर्न मद्दत गरिरहेको छ।

प्रकाशित: २३ कार्तिक २०८३ १५:४९ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast