अथर्ववेदसँग सम्बद्ध उपवेदका रूपमा आयुर्वेदलाई उल्लेख गरिएको छ। आयुर्वेद मानव स्वास्थ्य, रोगको निदान, उपचार, औषधि विज्ञान तथा दीर्घजीवनसँग सम्बन्धित ज्ञानविज्ञानको समष्टिगत शास्त्र हो। यसको मूल उद्देश्य मानव जीवनलाई स्वस्थ, निरोगी र दीर्घजीवी बनाउनु हो। चिकित्सा क्षेत्र, विशेषतः शल्यचिकित्साको क्षेत्रमा भारतीय संस्कृतिका प्रारम्भिक तथा विशिष्ट अगुवामध्ये एक धन्वन्तरि हुन्।
पौराणिक मान्यताअनुसार देवता र असुरबीच भएको समुद्रमन्थनका क्रममा कालकूट विष, विभिन्न रत्न, दिव्य औषधि तथा अमृत प्रकट भएका थिए। सोही समुद्रमन्थनबाट भगवान् विष्णुको अंशावतारका रूपमा भगवान् धन्वन्तरी अमृतकलश धारण गरी प्रकट भएको प्रसङ्ग पुराणहरूमा वर्णित छ।
दूधको समुद्र (क्षीरसागर) बाट धन्वन्तरी प्रकट भएको कथा भागवत पुराण, महाभारतको आदिपर्व र वाल्मीकि रामायणमा उल्लेख गरिएको छ।
हरिवंश पुराणमा क्षीरसागरबाट प्रकट भएपछि धन्वन्तरीलाई अब्ज उपाधि प्रदान गरिएको र उनी भास्कर अर्थात् सूर्यदेवका शिष्य बनेको वर्णन छ। पछि उनी काशीका राजाका रूपमा पुनर्जन्म लिएको पनि उल्लेख गरिएको छ। वायु पुराणमा पनि धन्वन्तरी क्षीरसागरबाट प्रकट भएको र पछि काशीका राजाका रूपमा पुनर्जन्म लिएको कथा दोहोर्याइएको छ। तथापि यस पुराणमा धन्वन्तरीलाई विष्णुको अवतार नभई विष्णुका पुत्रका रूपमा चित्रण गरिएको छ।
ब्रह्मवैवर्त पुराणमा वासुकीकी बहिनी देवी मनसादेवी र धन्वन्तरीबीच भएको युद्धको कथा वर्णन गरिएको छ। यस पुराणमा भगवान् धन्वन्तरीलाई गरुड र भगवान् शिवका शिष्यका रूपमा प्रस्तुत गरिएको छ।
स्कन्द, गरुड र मार्कण्डेय पुराणमा धन्वन्तरीसम्बन्धी अर्को भिन्न कथा प्रस्तुत गरिएको छ। यस कथाअनुसार वीरभद्रा नामकी एक युवतीले प्यासले व्याकुल तथा थकित ऋषि गालवलाई पानी खुवाएर उनको तिर्खा मेटाएकी थिइन्। त्यसबाट प्रसन्न भएका ऋषिले उनलाई सबै शास्त्रमा निपुण पुत्र प्राप्त हुने वरदान दिए। पछि ती युवतीले धन्वन्तरीलाई जन्म दिइन्। धन्वन्तरीले अश्विनीकुमारहरूबाट आयुर्वेदको ज्ञान प्राप्त गरे र उनीहरूकै छोरीहरूसँग विवाह गरे।
विष्णु पुराणमा वर्णित समुद्रमन्थनको कथाअनुसार धन्वन्तरी प्रकट भएको केही समयपछि लक्ष्मी प्रकट भएकी थिइन्। यही आधारमा लक्ष्मीपूजाको अघिल्लो दिन अर्थात् कार्तिक कृष्ण त्रयोदशीमा धन्वन्तरी जयन्ती मनाइने गरिन्छ। अन्य ग्रन्थहरूमा भने समुद्रमन्थनको अन्त्यतिर, तुलसी प्रकट भएपछि धन्वन्तरी प्रकट भएको वर्णन पाइन्छ। ती ग्रन्थहरूमा पनि धन्वन्तरि जयन्ती कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाउने परम्परा रहेको उल्लेख छ।
धन्वन्तरीलाई आयुर्वेदका अधिष्ठाता देवताका रूपमा सम्मान गरिन्छ। उहाँको हातमा रहेको अमृतकलशले जीवनरक्षा, आरोग्य र अमरत्वको प्रतीकात्मक सन्देश बोकेको छ। सोमलता, मृतसञ्जीवनीलगायतका दिव्य औषधिहरूको पौराणिक महत्त्व पनि जीवनरक्षासँग जोडिएको छ।
आयुर्वेदको विकास र प्रवर्द्धनमा अश्विनीकुमार, देवदत्त, सुश्रुतलगायतका आचार्य तथा चिकित्सकहरूको महत्त्वपूर्ण योगदान रहेको छ। वैदिक परम्परामा औषधि र आरोग्यलाई विशेष महत्त्व दिइएको छ। ‘भेषजमसि’ अर्थात् ‘तिमी औषधिरूप हौ’ भन्ने वैदिक भावले औषधिको जीवनरक्षक महत्त्वलाई उजागर गर्दछ। रुद्रलाई रोगनिवारक तथा मृत्युञ्जयका रूपमा स्तुति गरिनु पनि आरोग्यसम्बन्धी यही आध्यात्मिक चिन्तनको एउटा पक्ष हो।
कलशपूजाको प्रसङ्गमा गङ्गाजल, सर्वौषधि, पञ्चपल्लव, सप्तमृत्तिका र पञ्चरत्न आदिले युक्त जलद्वारा अभिषेक गर्ने धार्मिक परम्परा पाइन्छ। यस्तो कलशलाई पवित्रता, आरोग्य र कल्याणको प्रतीक मानिन्छ। विशेषतः ईशान कलशको स्थापना तथा अभिमन्त्रण गरी त्यसको जलद्वारा अभिषेक वा स्नान गराउने विधिले समुद्रमन्थनबाट प्रकट भएको अमृतकलशको पौराणिक स्मृतिलाई समेत जीवन्त बनाउँछ। यसरी धन्वन्तरी उपासनाको मूल मर्म स्वास्थ्य, औषधि, आरोग्य र जीवनरक्षासँग सम्बन्धित रहेको स्पष्ट हुन्छ।
धन्वन्तरी जयन्ती र धन्तरेसको प्रचलन
कार्तिक कृष्ण त्रयोदशीलाई धन्वन्तरी जयन्तीका रूपमा मनाउने परम्परा छ। यही तिथिलाई कतिपय समुदायमा धन्तरेस वा धनतेरस भन्ने गरिन्छ। यस दिन भगवान् धन्वन्तरीको पूजा गरी आरोग्य, निरोगिता र दीर्घजीवनको कामना गर्नु पर्वको मूल आध्यात्मिक तथा आयुर्वेदिक पक्ष हो। धनतेरस शब्दलाई दुई भागमा बुझ्न सकिन्छ- धन : सम्पत्ति, समृद्धि, ऐश्वर्य तथा सम्पन्नता। तेरस : त्रयोदशी अर्थात् चान्द्रमासको तेह्रौँ तिथि। यसरी धनत्रयोदशी अर्थात् धनतेरस नामले नै धन र समृद्धिसँग सम्बन्धित त्रयोदशी तिथिलाई जनाउँछ।
धनतेरसका दिन नयाँ भाँडाकुँडा, सुनचाँदी तथा अन्य धातुजन्य सामग्री खरिद गर्ने प्रचलन विशेषतः केही क्षेत्रीय तथा सामुदायिक परम्परामा विकसित भएको पाइन्छ। कतिपय स्थानमा यसै दिन लक्ष्मी र कुबेरको पूजासमेत गरिन्छ। तर यस्ता प्रचलनलाई सबैका लागि अनिवार्य शास्त्रीय विधि वा वैदिक विधानका रूपमा व्याख्या गर्नु उचित हुँदैन। धन्वन्तरी जयन्तीको मूल उद्देश्य र बजारमा नयाँ सामग्री खरिद गर्ने प्रचलनलाई एउटै विषयका रूपमा बुझ्नु शास्त्रीय दृष्टिले उपयुक्त हुँदैन।
लक्ष्मी, कुबेर र धन्वन्तरीसम्बन्धी उपासनाका आफ्नै धार्मिक तथा पौराणिक आधार छन्। विभिन्न समुदायमा विकसित भएका परम्परालाई सम्मान गर्दै तिनको वास्तविक शास्त्रीय आधार पहिचान गर्नु आवश्यक छ। नयाँ सामग्री खरिद नगरे पर्व अधुरो हुन्छ वा धनसम्पत्ति प्राप्त हुँदैन भन्ने मानसिकता सिर्जना हुनु उचित होइन।
आफ्नो संस्कृति र परम्पराको संरक्षण गरौँ-
धन्वन्तरी जयन्तीलाई बजारमा नयाँ सामग्री खरिद गर्ने अवसरका रूपमा सीमित नगरी आयुर्वेद, औषधोपचार, स्वास्थ्य चेतना र ऋषिमुनिहरूको चिकित्सा परम्पराको स्मरण गर्ने पवित्र दिनका रूपमा स्थापित गरौँ। आफ्नै घरमा रहेका चरेस, काँस, तामा, पित्तललगायतका धातुजन्य भाँडावर्तनको सदुपयोग गरौँ। अनावश्यक प्रतिस्पर्धा, देखासिकी र बजारको आकर्षणमा परी आर्थिक भार थप्नुभन्दा उपलब्ध साधनको संरक्षण र सदुपयोग गर्नु नै बुद्धिमानी हो।
सुनको बजार मूल्य तोलाको पौने तीन लाख रुपैयाँ छ भने सुनौलो लेप लगाइएको चार हजार रुपैयाँ पर्ने धातुको सामान किन जोर्ने! चाँदीको बजार मूल्य तोलाको झन्डै चार हजार रुपैयाँ रहेको अवस्थामा एक हजार मूल्यको नक्कली वा कमसल भाँडाको आकर्षणमा पर्नुभन्दा आफ्नो सामर्थ्यअनुसारको व्यवहार गरौँ। धनसम्पत्तिको वास्तविक सार खरिद गरिएका वस्तुमा होइन, सद्बुद्धि, सन्तोष, परिश्रम, संस्कार र लक्ष्मीको सदुपयोगमा निहित हुन्छ।
चञ्चला लक्ष्मीलाई स्थिर राख्ने उपाय अनावश्यक खरिद र प्रदर्शन होइन, धर्मसम्मत आर्जन, विवेकपूर्ण खर्च, दान, सेवा र सदाचार हो। त्यसैले धन्वन्तरी जयन्तीको अवसरमा भगवान् धन्वन्तरीको आराधना गर्दै आरोग्य, आयुर्वेद र सनातन संस्कृतिको महत्त्वलाई आत्मसात् गरौँ।
पर्वको नाममा बजारको प्रभाव र देखासिकीलाई प्रश्रय दिनुभन्दा पर्वको वास्तविक मर्म, शास्त्रीय आधार र सांस्कृतिक पहिचानलाई जीवन्त राख्नु हाम्रो दायित्व हो। विकृतिमा होइन, संस्कृतिमा रमाऔँ। बजारको आकर्षणमा होइन, शास्त्रीय ज्ञान र परम्पराको मर्ममा रमाऔँ।




