फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताएका छन्।
बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले सरकारले गर्ने काम र पार्टीले गर्ने काम दुवैमा स्पष्टता रहेको भन्दै सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताए।
उनले सरकार टिकाइराख्न वा पार्टीमा एकता कायम गर्न प्रधानमन्त्रीले अर्को मान्छेलाई कुर्सी राख्ने किसिमको अभ्यासमा आफूहरु नरहेको उल्लेख गरे।
सरकारले गर्ने काम र पार्टीले गर्ने काममा स्पष्टता र सुदृढतामा ध्यान दिइने भन्दै उनले दुवैले गरेका कामकारबाहीमा कहिलेकाहीं प्रश्न वा जिज्ञासा आएमा बसेर छलफल हुने गरेको र समन्वयको कुनै कमी नरहेको बताए। उनले सरकार र पार्टीबीच कुनै प्रकारको अन्तरद्वन्द्व नरहेको उल्लेख गरे।
कुनै पनि संस्थाले गल्ती गरेमा त्यसलाई सच्याउने संस्थाहरू रहेकाले तथा प्रहरी प्रशासन, अदालत, र प्रेस काउन्सिल जस्ता संस्थाहरुलाई विश्वास गर्दै अझ बलियो बनाउनुपर्ने उनले बताए।
सभापति लामिछानेले परिवक्व ढंगले अघि बढ्नुपर्ने जस्ता प्रश्न आउन नदिने गरी सरकारले विधिको शासन अनुसार चल्न ध्यान दिनुपर्ने धारणा राखे।



