सामराको शतकमा पोखरा एभन्जर्सले कर्णाली याक्सलाई दियो एनपील ३ कै सबैभन्दा ठूलो लक्ष्य

हिमाल प्रेस २३ कार्तिक २०८३ १४:१२ | Monday, November 9, 2026
सामराको शतकमा पोखरा एभन्जर्सले कर्णाली याक्सलाई दियो एनपील ३ कै सबैभन्दा ठूलो लक्ष्य

काठमाडौँ- ओपनर युवराजसिंह सामराको शतकमा पोखरा एभन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) कै सबैभन्दा पराकिलो लक्ष्य कर्णाली याक्सलाई दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेटको क्षतिमा २१८ रनको लक्ष्य दिएको हो।

पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो। यससँगै पोखरा जारी सिजनमा २०० रनको आँकडा पार गर्ने पहिलो टोली बनेको छ ।

एनपीएल इतिहासमा भने यो दोस्रो ठूलो योगफल हो। यसअघि सन् २०२५ मा भएको दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध नै २२० रन बनाएको थियो।

पोखराका लागि युवराज सम्राले ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा अविजित १०२ रन बनाए। उनले ४५ बलमै १० चौका र ६ छक्कासहित शतक पूरा गरेका थिए । जारी सिजनमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन्।

क्यानडाका ओपनरसमेत रहेका सम्राले एनपीएलमा आफ्नो दोस्रो खेलमै शतक प्रहार गरेका हुन्। उनी एनपीएल इतिहासमा शतक बनाउने पोखराका तेस्रो तथा समग्रमा चौथो खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा आन्द्रे गौस र दोस्रो संस्करणमा एडम रोसिङटनले पोखराका लागि शतक बनाएका थिए।

यस्तै कुशल भुर्तेलले ३९ बलमा सात छक्कासहित ६२ रनको योगदान दिए। सम्रा र कुशलले दोस्रो विकेटका लागि १३६ रनको महत्वपूर्ण साझेदारी गरे। यो जारी सिजनको तेस्रो शतकीय साझेदारी हो भने कुनै पनि विकेटका लागि अहिलेसम्मकै उच्च साझेदारी बनेको छ।

एनपीएल इतिहासमा पनि यो नयाँ कीर्तिमानी साझेदारी हो। यसअघि सन् २०२४ मा पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए।

पोखराले पहिलो विकेटका रूपमा महेदी हसनलाई गुमाएको थियो। उनी १६ बलमा पाँच रन बनाएर आउट भए। त्यसपछि सम्रा र कुशलले आक्रामक ब्याटिङ गर्दै टोलीलाई ठूलो योगफलतर्फ अघि बढाएका थिए।

सम्रा र कुशल आउट भएपछि कप्तान चमिका करुणारत्नेले तीव्र गतिमा रन जोड्दै पोखरालाई २०० रन पार गराउन महत्वपूर्ण भूमिका खेले।

उनले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित २५ रन बनाए। यसै खेलबाट एनपीएलमा डेब्यु गरेका सन्नी विक तीन रनमा अविजित रहे।

कर्णालीका लागि कप्तान सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए। मार्क वाटले एक विकेट हात पारे।

अब कर्णाली याक्सले जितका लागि २० ओभरमा २१८ रन बनाउनुपर्नेछ।

प्रकाशित: २३ कार्तिक २०८३ १४:१२ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast