काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले लगातार चौथो हार बेहोरेको छ।
शुक्रबार चितवन राइनोजसँग पराजय भोगेसँगै प्रतियोगितामा पोखराले चौथो हारको सामना गर्नुपरेको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याउन पोखरा असफल भयो। १९ ओभरमा सबै विकेट गुमाएको पोखराले केवल १२१ रन जोड्न सक्यो।
पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रनको योगदान दिए। त्यस्तै युवराजसिंह सम्राले १९, किरण ठगुन्नाले १३ र अर्जुन घर्तीले १२ रन बनाए।
चितवनका लागि रिजन ढकालले चार विकेट लिए। त्यस्तै कमलसिंह ऐरीले तीन, मौसम ढकाल र कुशल मल्लले १–१ विकेट लिए।
प्रतियोगितामा चितवनले दोस्रो जित निकालेको छ।
प्रकाशित: २० कार्तिक २०८३ २१:२९ | Friday, November 6, 2026
प्रतिक्रिया



