आठ वर्षमा दुई हजारभन्दा बढी स्मारक र आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

हिमाल प्रेस २३ कार्तिक २०८३ १३:४४ | Monday, November 9, 2026
आठ वर्षमा दुई हजारभन्दा बढी स्मारक र आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

काठमाडौँ- नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र अध्ययनलाई सहज बनाउने उद्देश्यले सञ्चालित नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडिपी) ले आठ वर्षको अवधिमा दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार पाँच सयभन्दा बढी शिलालेख र आठ हजारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत अभिलेख तयार पारेको छ।

सन् २०१८ मा सुरु भएको परियोजनाले विभिन्न जात्रा, पर्व तथा अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित वृत्तचित्र र अभिलेखसमेत तयार गरेको छ। परियोजनाबाट सङ्कलित विवरण पुरातत्व विभागको राष्ट्रिय सम्पदा सूची तथा डिजिटल डेटाबेसमा समावेश गरिएको छ।

जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयअन्तर्गत हाइडेलबर्ग सेन्टर फर ट्रान्सकल्चरल स्टडिज र हाइडेलबर्ग एकेडेमी अफ साइन्सेस एन्ड ह्युम्यानिटिज तथा नेपालका सराफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन्स एन्ड कल्चर र पुरातत्व विभागको सहकार्यमा परियोजना सञ्चालन गरिएको थियो। बेलायतस्थित आर्केडिया फन्डले परियोजनाका लागि मुख्य आर्थिक सहयोग उपलब्ध गराएको थियो।

यसका अतिरिक्त हाइडेलबर्ग विश्वविद्यालय पुस्तकालय, काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्ट, युनेस्को नेपाल, काठमाडौँ विश्वविद्यालयको सेन्टर फर आर्ट एन्ड डिजाइन तथा हाइडेलबर्ग विश्वविद्यालयको साउथ एसिया इन्स्टिच्युटको काठमाडौँ कार्यालयले पनि सहकार्य गरेका थिए। परियोजनाको प्रारम्भिक चरणमा जर्मनीको आइथ्री माइन्जसमेत सहभागी थियो।

परियोजना सम्पन्न भएपछि तयार गरिएको डिजिटल डेटाबेसको सञ्चालन, संरक्षण र व्यवस्थापनको जिम्मेवारी नेपाल आर्किटेक्चर आर्काइभमार्फत सराफ फाउन्डेसनले लिने भएको छ।

परियोजना प्रमुख प्राडा क्रिस्टियाने ब्रोसियसले डिजिटल अभिलेखले अनुसन्धानकर्ता, विद्यार्थी तथा सम्पदाप्रेमीलाई ऐतिहासिक सामग्रीको अध्ययन र संरक्षणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताए। उनले परियोजनाको समापनलाई नेपालको सम्पदा संरक्षणको नयाँ यात्राको सुरुवाका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

सराफ फाउन्डेसनका अध्यक्ष अरुण सराफले सङ्कलित ज्ञान र तथ्याङ्क नेपालमै सुरक्षित राख्दै सरोकारवालाको पहुँच सहज बनाउने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार फाउन्डेसनले डेटाबेसको निरन्तर व्यवस्थापन गर्नुका साथै अनुसन्धानकर्ता र सम्पदा संरक्षणमा कार्यरत विज्ञलाई आवश्यक जानकारी उपलब्ध गराउनेछ।

परियोजनाअन्तर्गत नुवाकोटका ऐतिहासिक भवन तथा सांस्कृतिक सम्पदाको पनि विस्तृत अभिलेखीकरण गरिएको छ। ब्रोसियसका अनुसार बाढीबाट क्षति पुगेका वा बगाएका संरचनालाई पुरानै स्वरूपमा पुनर्निर्माण तथा संरक्षण गर्न यस्ता अभिलेख उपयोगी हुनेछन्।

यसैबीच, जोसेफ पिटर रिन्डफ्लेइस सङ्ग्रहमा रहेका ८०० भन्दा बढी ऐतिहासिक नेपाली हस्तलिखित ग्रन्थ तथा कागजात राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ। जर्मनीबाट नेपाल ल्याइएका ती सामग्रीमा १३औँदेखि २०औँ शताब्दीसम्मका ताडपत्र, लालमोहर, अदालती स्रेस्ता, संस्कृत ग्रन्थ र यात्रा संस्मरणलगायत सामग्री छन्।

सङ्ग्रहकर्ता स्वर्गीय रिन्डफ्लेइसको इच्छाअनुसार सन् २०१८ मा ती सामग्री हाइडेलबर्ग विश्वविद्यालयका प्राडा एक्सेल माइकेल्सलाई हस्तान्तरण गरिएको थियो। जर्मनीमा संरक्षण, डिजिटलाइजेसन र सूचीकरणको काम सम्पन्न भएपछि ती सामग्री नेपाल ल्याई राष्ट्रिय अभिलेखालयलाई बुझाइएको हो।

प्रकाशित: २३ कार्तिक २०८३ १३:४४ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast