अन्धकारमाथि प्रकाशको विजयको पर्व तिहार : राष्ट्रपति पौडेल

हिमाल प्रेस २३ कार्तिक २०८३ १३:१९ | Monday, November 9, 2026
अन्धकारमाथि प्रकाशको विजयको पर्व तिहार : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहार (दीपावली) पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सांस्कृतिक पहिचान र समृद्धिको भावनालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

तिहार पर्व २०८३ का अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति र उपराष्ट्रपतिले यस पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता, भ्रातृत्व र एकताको भावना अभिवृद्धि गर्ने बताएका छन्।

राष्ट्रपति पौडेलले तिहार सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको उज्यालो र प्रकाशको पर्व भएको उल्लेख गर्दै यसले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने बताए।

नेपालको मौलिक संस्कृति संरक्षण गर्ने महत्त्वपूर्ण कडीका रूपमा रहेको तिहारले प्रेम, स्नेह, सामाजिक एकता, समृद्धि, दया, करुणा तथा अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिने उनको भनाइ छ।

काग, कुकुर, गाई, गोरु तथा गोवर्द्धन पर्वतको सम्मान र पूजा गर्ने परम्पराले मानव, प्रकृति तथा जीवजन्तुबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने राष्ट्रपति पौडेलले उल्लेख गरे।

उनले तिहारका सांस्कृतिक अभ्यासले मानवीय जीवनमा प्रकाश छर्दै सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर हुन प्रेरित गर्ने विश्वास व्यक्त गरे। तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्ने उनको विश्वास छ।

त्यसैगरी, उपराष्ट्रपति यादवले तिहारले हिमाल, पहाड र तराई मधेसका समुदायलाई साझा उत्साह, सम्मान र परस्पर सद्भावका माध्यमबाट जोड्दै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने बताए।

नेपाल विविध भाषा, संस्कृति, परम्परा, जातजाति र धार्मिक विश्वासले सुशोभित राष्ट्र भएको उल्लेख गर्दै उनले तिहारले यही विविधतालाई आत्मीय सम्बन्धको सूत्रमा बाँधेर ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने बताए।

उपराष्ट्रपति यादवले काग तिहारले सूचना र सन्देश, कुकुर तिहारले निष्ठा र समर्पण, गाई तिहारले मातृत्व तथा समृद्धि र गोरु पूजाले श्रम, उत्पादन र कृषि सभ्यताको गौरवलाई उजागर गर्ने उल्लेख गरे।

लक्ष्मी पूजाले समृद्धिसँगै सदाचार र सदुपयोगको सन्देश दिने तथा देउसीभैलोले सामूहिक आनन्द, सहकार्य र सामाजिक एकतालाई बलियो बनाउने उनको भनाइ छ।

उनले मधेसमा प्रचलित गोवर्द्धन पूजा, सामूहिक रूपमा खेलिने हुक्का–लोली (हुक्कापाति) र हुर्राहुरीलाई जीवन्त लोकसंस्कृतिका अमूल्य प्रतीकका रूपमा व्याख्या गरे । यस्ता परम्पराले मौलिक पहिचान, लोकजीवन, सामाजिक सहअस्तित्व र सामुदायिक एकतालाई जीवन्त राख्ने उनको विश्वास छ।

उपराष्ट्रपति यादवले तिहार दीप प्रज्वलनको पर्व मात्र नभई नेपाली सभ्यता, संस्कार, प्रकृतिप्रतिको सम्मान, पारिवारिक आत्मीयता र सामाजिक सहअस्तित्वको जीवन्त उत्सव भएको बताए। घरआँगनमा बालिने दीपले अन्धकार हटाउनुका साथै आशा, विश्वास, सद्भाव र मानवीय करुणाको उज्यालो छर्ने उनको भनाइ छ।

प्रविधिको विकाससँगै मानवीय सम्बन्ध, सामाजिक मूल्य र सांस्कृतिक पहिचान जोगाइराख्नु साझा दायित्व भएको उल्लेख गर्दै उपराष्ट्रपतिले तिहारलाई राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनसँग जोडेर हेर्नुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast