काठमाडौँ- फिल्म ‘कबड्डी ५: आफ्टर द फाइनल म्याच’को व्यापार १२ करोड नाघेको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार यस फिल्मले १२ करोड ३९ लाख ९२ हजार २४५ ग्रस कलेक्सज गरेको हो।
कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्मका १७ दिनको अवधिभर ४ लाख ५ हजार ८६४ टिकट बिक्री भइसकेका छन्।
दसैँको अवसरमा तीन नेपाली फिल्म प्रदर्शन हुँदा समेत यस फिल्मले देशभर राम्रो शो पाएको थियो। साथै हलमा पनि दर्शकको उत्साहजनक साथ पायो।
यद्यपि बिहीबारदेखि भारतीय फिल्म ‘रामायण’ नेपाली हलमा लाग्दा तेस्रो सातामा भने यसको शो खुम्चिएको छ।
यस फिल्ममा दयाहाङसहित मिरुना मगर, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ र माओत्से गुरुङलगायतको अभिनय छ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन्।
निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी छ।



