प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

हिमाल प्रेस १९ कार्तिक २०८३ १४:०८ | Thursday, November 5, 2026
प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौँ- नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग शिष्टाचार भेट गरेका छन्।

बिहीबार स्वदेश फर्कनुअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन र मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको हो।

भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।

बुधबार काठमाडौँ ओर्लिएदेखि नै विदेश सचिव मिस्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका थिए। प्रधानमन्त्री बालेनसँगको भेटमा उनले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन्।

भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धका विविध आयामबारे सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।

नेपाल-भारत सम्बन्धमा पछिल्लो समय देखिएको उच्चस्तरीय संवादको सुस्ततालाई चिर्दै दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्पर्कलाई पुनः सक्रिय बनाउने प्रयासस्वरूप भारतका विदेश सचिव मिस्रीको भ्रमण भएको हो।

भारतीय विदेश सचिवले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लामो समयदेखि कायम रहेको नेपाल भारत निकट सम्बन्धलाई बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिअनुसार थप प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षको चासो देखिएको छ।

भ्रमणअघि नै सुरु भएको कूटनीतिक तयारी

मिस्रीको भ्रमणअघि नै दुवै देशले उच्चस्तरीय राजनीतिक भेटघाटको तयारी थालेका थिए। भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा प्रस्ताव गरेका सुधाकर दलेला मंगलबार (नोभेम्बर ३) मा काठमाडौँ आइपुगेका थिए। त्यसको भोलिपल्ट भारतीय विदेश सचिव उत्रेका हुन्।

दलेला यसअघि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत थिए। नेपाल र भुटान मामिलामा पनि उनको अनुभव छ।

मिस्रीको भ्रमणको मुख्य उद्देश्य प्रधानमन्त्री बालेनको प्रस्तावित भारत भ्रमणको तयारी गर्नु र त्यसका सम्भावित एजेन्डामा नेपाली पक्षसँग समझदारी बनाउनु रहेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई भारत भ्रमणको निम्तो दिइसकेका छन्। बालेनको भारत भ्रमण नोभेम्बर २२ देखि २४ सम्म हुने सम्भावना रहे पनि दुवै सरकारले औपचारिक मिति सार्वजनिक गरिसकेका छैनन्।

प्रधानमन्त्री बालेनले पदभार सम्हालेपछि भारतको यो भ्रमण उनको पहिलो द्विपक्षीय विदेश भ्रमण हुने बताइएको छ। यसलाई नेपाल भारत सम्बन्धमा नयाँ राजनीतिक संवादको सुरुवातका रूपमा पनि हेरिएको छ।

यसअघि पनि मिश्रीको नेपाल भ्रमण तय भएको थियो। तर प्रधानमन्त्रीसँग भेटवार्ताको समय नमिलेपछि र लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राका लागि भारतले अघि बढाएको मार्गलाई लिएर नेपालले आपत्ति जनाएपछि उत्पन्न कूटनीतिक असहजताका बीच भ्रमण स्थगित भएको थियो।

त्यसैले यसपटकको भ्रमणलाई दुवै पक्षबीच रोकिएको उच्चस्तरीय संवादलाई निरन्तरता दिने अवसरका रूपमा हेरिएको छ।

सचिवस्तरीय बैठक

बुधबार परराष्ट्र सचिव अमृतबहादुर राई र भारतीय विदेश सचिव मिस्रीबीच भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्री बालेनको भारत भ्रमणका सम्भावित एजेन्डा प्रमुख रूपमा उठेको थियो।

दुवै पक्षले उच्चस्तरीय भ्रमण आदानप्रदान, कनेक्टिभिटी, व्यापार, विकास सहयोग, ऊर्जा तथा जनस्तरको सम्बन्धलाई थप विस्तार गर्ने विषयमा छलफल गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा दुई देशबीचको समग्र सम्बन्धको समीक्षा गर्दै आपसी हितका विषयमा विचार आदानप्रदान भएको थियो। तर कूटनीतिक अधिकारीहरूका अनुसार छलफल सामान्य सम्बन्ध समीक्षामा मात्र सीमित थिएन।

प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउनुपर्ने विषय, त्यसबाट हासिल गर्न सकिने उपलब्धि र लामो समयदेखि थाती रहेका मुद्दालाई राजनीतिक तहमा लैजाने विषयमा पनि गृहकार्य भएको थियो।

सीमा विवाद, नेपालका लागि थप हवाई प्रवेश मार्ग, दुई देशबीचको बढ्दो व्यापार घाटा, पारवहन सुविधा र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको कार्यान्वयनलाई गति दिने विषय सम्भावित एजेन्डामा छन्।

भारतीय लगानीमा सञ्चालित जलविद्युत् आयोजनाका समस्या तथा नेपालमा भारतको सहयोगमा निर्माणाधीन आयोजनाको प्रगति पनि छलफलमा समेटिएका थिए।

हवाई, रेल तथा सडक सञ्जाल, सीमा क्षेत्रमा पुल निर्माण, पेट्रोलियम पाइपलाइन, विद्युत् प्रसारण लाइन र डिजिटल कनेक्टिभिटी विस्तारमा सहकार्य बढाउने विषयमा समेत दुवै पक्षले चासो देखाएका छन्।

प्रधानमन्त्रीको भ्रमणमा प्रस्तुत गरिने विषयलाई अन्तिम रूप दिन सम्बन्धित मन्त्रालयहरूबीच थप समन्वय आवश्यक देखिएको छ।

बाढीपछिको पुनर्निर्माणमा भारत

भ्रमणका क्रममा नेपालको बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको विषय पनि महत्वपूर्ण रूपमा उठेको छ। बुधबार परराष्ट्र सचिव राईसँगको वार्तामा मिस्रीले भोटेकोशी बाढीबाट नेपालको पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माण र पुनःस्थापनाका लागि भारत सहयोग गर्न तयार रहेको बताएका थिए।

नेपालले अघि सार्ने विशिष्ट परियोजना प्रस्तावमाथि विचार गर्न सक्ने र आवश्यक सहयोगका विषयमा छलफल गर्न तयार रहेको मिस्रीको भनाइ थियो। यसअघि पनि दुई पक्षबीच प्रारम्भिक छलफल भएको थियो।

नेपालले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतसँग दुई अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक सहयोग प्याकेज प्रस्ताव गर्ने तयारी गरेको छ।

त्यसमा एक अर्ब डलर सहुलियतपूर्ण ऋण, ५० करोड डलर अनुदान र थप ५० करोड डलर पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रस्ताव गरिएको छ। सहयोगको रकम, आयोजना र कार्यान्वयनको ढाँचा भने टुंगिएको छैन।

यस विषयमा भारतीय विदेश सचिवले सकारात्मक धारणा व्यक्त गरे पनि त्यसलाई अन्तिम सहमति वा सम्झौता भने प्रधानमन्त्रीको भ्रमणको क्रममा हुने देखिन्छ।

नेपालले परियोजनागत प्रस्ताव तयार गरी भारतसमक्ष प्रस्तुत गर्ने र भ्रमणमा यसलाई अन्तिम रुपमा दिने तयारी रहेको एक अधिकारीले बताए।

विभिन्न मन्त्रालयगत छलफल

मिस्रीले भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

परराष्ट्रमन्त्री खनालसँगको भेटमा दुई देशबीचको बहुआयामिक साझेदारी विस्तार र विद्यमान सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो।

अर्थमन्त्री वाग्लेसँग आर्थिक साझेदारी, भारतको सहयोगमा सञ्चालित विकास आयोजना तथा आर्थिक सहकार्यका नयाँ सम्भावनाबारे कुराकानी भएको थियो।

त्यस्तै, ऊर्जा तथा जलस्रोतका क्षेत्रमा जारी सहकार्यलाई विस्तार गर्ने, भारतीय लगानीका आयोजनालाई अघि बढाउने र पूर्वाधार तथा कनेक्टिभिटीका परियोजनालाई प्रभावकारी बनाउने विषयमा सम्बन्धित मन्त्रीहरूसँग छलफल भएको थियो।

सम्बन्धलाई गति दिने अवसर

नेपाल र भारतबीच खुला सीमा, व्यापार, पारवहन, ऊर्जा, सुरक्षा, विकास र जनस्तरको सम्बन्धका कारण विशेष महत्त्व छ। तर पछिल्लो समय राजनीतिक तहमा अपेक्षित संवाद हुन नसक्दा कतिपय द्विपक्षीय विषयले गति लिन सकेका छैनन्। सीमा विवाद, व्यापार असन्तुलन र विकास आयोजनाको कार्यान्वयनमा देखिएका समस्या समाधान हुन बाँकी छन्।

त्यस्तै, भारतीय बजारमा नेपाली उत्पादनको सहज पहुँच, थप हवाई प्रवेश मार्ग, ऊर्जा व्यापार र ठूला पूर्वाधार आयोजनाको कार्यान्वयनमा नेपालले आफ्नो प्राथमिकता स्पष्ट पार्नुपर्ने देखिन्छ।

यस पृष्ठभूमिमा मिश्रीको भ्रमण र त्यसक्रममा भएको उच्चस्तरीय संवादलाई आगामी प्रधानमन्त्रीस्तरीय भ्रमणको आधार तयार गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई औपचारिक भेटघाट र प्रतिबद्धतामा मात्र सीमित नराखी लामो समयदेखि उठ्दै आएका विषयमा ठोस प्रगति हासिल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने चुनौती नेपालसामु छ।

नेपालले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौमिक समानता र आपसी लाभका आधारमा अघि बढाउन चाहेको सन्देश दिनुपर्नेछ।

भारतका लागि पनि नेपालको नयाँ राजनीतिक नेतृत्वसँग विश्वासको सम्बन्ध निर्माण गर्दै विकास साझेदारीलाई थप प्रभावकारी बनाउने अवसर छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast