बर्खास्त गरिएका आईजीपी दानबहादुर कार्की। फाइल तस्बिर
काठमाडौँ- सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।
आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै उनले पुनर्बहालीको मागसहित रिट निवेदन दिन लागेका हुन्। अदालतको प्रशासनिक प्रक्रिया पूरा भई रिट दर्ता हुन भने बाँकी छ।
सरकारले बुधबार मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपी पदबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ। केसीले बुधबार नै दर्ज्यानी चिह्न ग्रहण गर्दै पदभार सम्हालिसकेका छन्।
कार्कीलाई आईजीपीबाट हटाएपछि प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ। सरकारले प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकारको नयाँ पद सिर्जना गरी उनलाई उक्त जिम्मेवारी दिएको हो।
नवनियुक्त आईजीपी केसी र निवर्तमान आईजीपी कार्की एउटै ब्याची हुन्।



