चीनमा सम्पन्न यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

हिमाल प्रेस २२ कार्तिक २०८३ १६:२९ | Sunday, November 8, 2026
चीनमा सम्पन्न यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

काठमाडौँ- नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ। हङकङसँगको आइतबारको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो।

६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हासिल गर्‍यो। बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए।

नेपालले सिरिजको पहिलो खेलमै थाइल्याण्डलाई सात विकेटले हराउँदै सुखद् सुरुवात गरेको थियो। त्यसपछि चीनसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि नतिजाविहीन बनेको थियो।

तेस्रो खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले चौथो खेलमा पुनः थाइल्याण्डमाथि ५२ रनको जित निकालेको थियो।

पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले हराउँदै उपाधि यात्रालाई थप बलियो बनाएको नेपालले अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो।

उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेटको क्षतिमा ८८ रन बनाएको थियो। त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल पुनः सञ्चालन हुन सकेन।

प्रतियोगितामा नेपाल, आयोजक चीन, हङकङ र थाइल्याण्ड गरी चार टोली सहभागी थिए।

प्रकाशित: २२ कार्तिक २०८३ १६:२९ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast