काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आएका पाकिस्तानी खेलाडीलाई सहभागी गराउन प्रतिखेलाडी २५ हजार अमेरिकी डलर अतिरिक्त शुल्क मागिएको विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले समाधानका लागि पहल गरिरहेको जनाएको छ।
मंगलबार सञ्चारकर्मीसँग क्यानका सचिव पारस खड्काले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) बाट एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीका लागि अतिरिक्त शुल्क बुझाउनुपर्ने इमेल प्राप्त भएपछि प्राविधिक तथा प्रशासनिक अन्योल सिर्जना भएको बताए।
खेलाडीहरूले आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर नेपाल आइसकेपछि प्रतियोगिताको पूर्वसन्ध्यामा यस्तो सर्त आएको भन्दै क्यानले आश्चर्य व्यक्त गरेको छ। यसले एनपीएलका फ्रेन्चाइज टोली तथा आयोजकलाई समेत आर्थिक र व्यवस्थापकीय चुनौती थपेको छ।
क्यानले समस्या समाधानका लागि फ्रेन्चाइज टोलीका सञ्चालक तथा अपरेसन प्रमुखहरूसँग छलफल गरिरहेको जनाएको छ।
त्यस्तै, पिसिबीको अन्तर्राष्ट्रिय क्रिकेट सञ्चालन विभागसँग प्रत्यक्ष सम्पर्क गरी पत्राचार गरिएको छ। नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल सरकारका सम्बन्धित निकायमार्फत पनि समन्वयको प्रयास भइरहेको क्यानको भनाइ छ।
क्यानका अनुसार शुल्कबारे पहिले नै औपचारिक जानकारी प्राप्त भएको भए फ्रेन्चाइज टोलीहरूलाई खेलाडी अनुबन्धन र बजेट व्यवस्थापन गर्न सहज हुने थियो।
केही पाकिस्तानी खेलाडीको सम्झौता रकम नै २५ हजार अमेरिकी डलरभन्दा कम रहेको अवस्थामा थप शुल्क तिर्नुपर्ने व्यवस्थाले टोलीहरूलाई आर्थिक भार पर्ने देखिएको छ।
नेपालको क्रिकेट अर्थतन्त्र विकासकै क्रममा रहेकाले एक्कासि ठूलो आर्थिक दायित्व थपिनु चुनौतीपूर्ण हुने क्यानको बुझाइ छ।
एनपीएल खेल्न कर्णाली याक्समा आबद्ध भएका पाकिस्तानी टी-२० टोलीका कप्तान साहिबजादा फरहान प्रतियोगिता सुरु हुनुअघि नै स्वदेश फर्किएका छन्।
उनलाई पिसिबीले इमेलमार्फत राष्ट्रिय टोलीको जिम्मेवारीका लागि तत्काल पाकिस्तान फर्किन निर्देशन दिएको बताइएको छ।
फरहान आवश्यक एनओसी पाएर नेपाल आएका थिए। तर, प्रतियोगिताको पूर्वसन्ध्यामा पिसिबीले नयाँ सर्त राख्दै पाकिस्तानी खेलाडीहरूको एनओसी रोकेपछि उनको सहभागिताबारे अन्योल सिर्जना भएको थियो।



