काठमाडौँ- चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीस्थित पृथ्वी राजमार्गमा ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
बिहान ८:४५ बजे सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ज १२५९ नम्बरको माइक्रोबस आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका ११ जनालाई स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ।
दुर्घटनापछि पृथ्वी राजमार्गको उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ। घटनास्थलमा उद्धार तथा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।



