काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा लुम्बिनी लायन्सको अपराजित यात्रामा ‘ब्रेक’ लागेको छ।
काठमाण्डु गोर्खाजसँग हार बेहोरेपछि लुम्बिनीको अहिलेसम्मको अपराजित यात्रामा ‘ब्रेक’ लागेको हो।
प्रतियोगितामा लुम्बिनीले पहिलोपटक हारको सामना गर्नुपरेको छ। अहिलेसम्म पाँच खेल खेलेको लुम्बिनीले तीनमा जित हात पारेको छ भने वर्षाका कारण प्रभावित एक खेलमा अंक बाँडेको छ। यद्यपि ७ अंकसहित लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा रहेको छ।
त्यस्तै चार खेल खेलेको काठमाडौँले तीनमा जित हात पारेको छ भने एक खेलमा हार बेहोर्नुपरेको छ। ६ अंकसहित काठमाडौँ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँले लुम्बिनीलाई ३६ रनको फराकिलो अन्तरले पराजित गर्यो। काठमाडौँले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा सबै विकेट गुमाएर १२४ रनमात्रै जोड्न सक्यो।
यसअघिका खेलहरूमा सन्तुलित टिम देखिएको लुम्बिनी काठमाण्डौँविरूद्धको खेलमा भने सन्तोषजनक प्रदर्शन गर्न सकेन। लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए।
कप्तान रोहित पौडेल शून्य रनमा आउट हुँदा रुबेन ट्रम्पल्यामेनले ११, निरोशन डिकवेला १४ र अविशेष गौतमले १६ रनको योगदान दिए। यसबाहेक लुम्बिनीका अन्य ब्याटरहरुले दोहरो अंकमा रन जोड्न सकेनन्।
काठमाडौँका लागि जहानदाद खानले ४ तथा कप्तान करण केसीले २ विकेट लिए। त्यस्तै सहबाब आलम, सन्तोष यादव, रासिद खान र सहान अराचिगेले १–१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले डेविड वार्नरको अर्धशतकीय इनिङको मद्तले ८ विकेटको क्षतिमा १६० रनको योगफल खडा गरेको थियो। पहिलो विकेटका लागि वार्नर र साहिल पटेलले शतकीय साझेदारी गरेका थिए।
तर, वार्नर र पटेल प्याबेलियन फर्किएपछि काठमाडौँ टिम धरमराएको थियो। वार्नरले ५० बलमा ६६ र पटेलले ३६ बलमा ३८ रनको योगदान दिए। त्यस्तै सहानले ३४ रन बनाए। यीबाहेक काठमाडौँका अन्य ब्याटर दोहरो अंकमा रन बनाउन सकेनन्।
लुम्बिनीका लागि रुबेन, शेर मल्ल र अभिशेष गौतमले २–२ विकेट लिए।



