सरकार पूर्वाग्रही र प्रतिशोधपूर्ण बनेको कांग्रेसको आरोप, कडा प्रतिवाद गर्ने निर्णय

हिमाल प्रेस १९ कार्तिक २०८३ १८:४३ | Thursday, November 5, 2026
सरकार पूर्वाग्रही र प्रतिशोधपूर्ण बनेको कांग्रेसको आरोप, कडा प्रतिवाद गर्ने निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्न खोजिएको भन्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको छ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले राज्य संरक्षित व्यक्तिहरूमार्फत पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए।

यस बिषयलाई संसद, संसदीय समितिमा समेत कडा ढंगले उठाउने उनले बताए। उनले निर्वाचन नजिकिँदै जाँदा डिजाइन नै बनाएर अध्यावधिक र पार्टीको वैधानिकतासँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको धारणा राखे।

यस विषयमा राज्यले गर्ने छानविनमा कांग्रेस पछि नहट्ने रसाइलीले उल्लेख गरे।

बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिहरूसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री रसाईले बताए।

त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्वाग्रही र एकअर्कालाई ठेगान लगाउने राजनीति धेरै दिन नटिक्ने बताए। सबैलाई समन्वय गरेर अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने दायित्व भएको सरकारले सरकारी संयन्त्रहरू प्रयोग गरेर कसैलाई ठेगान लगाउने वा तिर सोझाउने काम गर्न नहुने उनले बताए। विशेष गरी सत्ता पक्षको सवालमा उठेको विषय र प्रधानमन्त्रीसँग जोडिएको विषयका बारेमा सरकार जवाफदेही हुनुपर्ने उनको भनाइ छ।

उनले छानबिन तथा पक्राउ गर्दा पनि कानुनी प्रक्रिया हुनुपर्ने, गैरकानूनी ढंगबाट पक्राउ गरेर प्रतिशोध साँध्ने वा तर्साउने प्रवृत्ति देखाउन नहुने धारणा राखे। कानून विपरितको कुनै पनि काम भए कांग्रेस हेरेर नबस्ने उनले बताए।

प्रकाशित: १९ कार्तिक २०८३ १८:४३ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast