काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो कुनै आर्थिक लेनदेन वा अनुचित गतिविधिमा संलग्नता नरहेको दाबी गरेका छन्। थापाले बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफूमाथि प्रायोजित हल्ला चलाइएको बताए।
‘नेपाली कांग्रेसको आधिकारिकताको विषयमा एउटा हल्लाले अहिले राजनीतिक बजार पिटेको छ,’ उनले भने, ‘यो बदनियतका साथ चलाइएको हल्ला हो,यसलाई हामी पूर्ण रूपमा खारेज गर्छौं।’
पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले यसअघि नै पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर यस विषयमा धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै थापाले पार्टी र नेतृत्व सबै प्रकारका अनुसन्धानका लागि तयार रहेको बताए।
फिक्सर इनम सापकोटा नेपाल प्रहरी हिरासतमा रहेको अवस्थामा उनको नामसँग जोडेर सार्वजनिक भएको भनिएको अडियोप्रति प्रतिक्रिया दिँदै थापाले उक्त अडियो कहाँ, कसले, किन र कहिले बोलेको भन्ने आफूलाई जानकारी नभएको बताए।
‘त्यो अडियो कहाँ बोलेको? कसले बोलेको? किन बोलेको? कहिले बोलेको? थाहा छैन। बोलेको हो कि बोलाइएको? यो पनि थाहा छैन,’ उनले भने।
अडियोमा आफ्नो नाम जोडिएको भन्दै सार्वजनिक रूपमा स्पष्टीकरण दिइरहनुपर्ने विषय नभएको उनको भनाइ छ। बरु सम्बन्धित व्यक्तिमाथि निष्पक्ष अनुसन्धान हुनुपर्नेमा उनले जोड दिए।
‘अब प्रश्न हामीलाई सोध्ने होइन। प्रश्न कहाँ सोध्ने? जहाँ सोध्नुपर्ने हो, त्यहाँ सोध्ने,’ थापाले भने, ‘जब राम्रोसँग अनुसन्धान हुन्छ, फेयर अनुसन्धान हुन्छ, दूधको दूध, पानीको पानी मज्जाले छुटिन्छ। हामी त्यसकै प्रतीक्षामा छौँ।’
नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई उनले पार्टीभित्रको विद्रोहको संज्ञा दिएका छन्। भदौ २३ र २४ गते युवाहरूले गरेको विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तन आवश्यक रहेको निष्कर्षसहित आफूहरू अघि बढेको उनले बताए।
‘नेपाली कांग्रेसको पार्टीको विशेष महाधिवेशन भनेको विद्रोह हो,’ उनले भने, ‘पार्टीको भुइँ तहको कार्यकर्ताले गरेको विद्रोहमा हामीहरू मिसिएको हो।’
पार्टीको आधिकारिकताका लागि भइरहेको राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नगरेको थापाको दाबी छ। उनले भने, ‘रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन।’
आफूले विभिन्न राजनीतिक दलका नेताहरूसँग गरेको भेटघाटलाई पनि पक्राउको हल्ला वा अडियो प्रकरणसँग जोड्न नहुने उनको भनाइ छ।
कांग्रेस सभापतिको हैसियतमा मधेश प्रदेश सरकारको विश्वासको मतलगायत राजनीतिक विषयमा छलफल गर्न नेताहरूसँग भेटघाट गरेको उनले बताए।
‘म तर्सिने जिनिस नै होइन, तर्सिनै परेको छैन,’ उनले भने, ‘नेपाली कांग्रेसको पार्टी सभापति छु, मेरो पार्टी सभापतिको रूपमा केही ड्युटीजहरू छन्।’
उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटघाट राजनीतिक संवादकै सिलसिला भएको बताए।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै थापाले प्राकृतिक विपत्तिबाट घरबारविहीन भएका नागरिकको पुनःस्थापना, सुकुम्बासी समस्या, रोजगारी र लगानीलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए। ‘सबैभन्दा ठूलो कुरा इकोनोमी छ, खोइ जब्स? खोइ इन्भेस्टमेन्ट? जताततै बर्बाद हुँदै गएको छ,’ उनले भने।
सरकार पाँच वर्षको जनादेशसहित आएको भन्दै त्यसलाई सम्मान गर्ने तर लोकतान्त्रिक अधिकार र संस्थामाथि हस्तक्षेप भए प्रतिवाद गर्ने उनको चेतावनी छ।
‘डेमोक्रेटिक राइटलाई खुम्च्याउने कुरा, हाम्रा संस्थालाई कमजोर बनाउने कुरा हुँदै गर्दा हामी मूकदर्शक भएर बस्दैनौँ, बोल्छौँ, प्रश्न गर्छौं, पर्यो भने प्रतिवाद गर्छौं,’ थापाले भने।
आफूमाथि पटकपटक प्रायोजित आरोप र चरित्रमाथि प्रश्न उठाउने प्रयास हुँदै आएको दाबी गर्दै उनले आफ्नो नैतिकता र इमानदारीमाथि कुनै सम्झौता नगरेको बताए। ‘मेरो आत्मा दाग छैन, मनमा कुनै कालो छैन, मेरा हात सफा छन्, माइ ह्याण्ड्स आर क्लिन,’ उनले भने।
आफूले विगतमा पनि शक्तिशाली सत्ताको गलत कामविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै थापाले अहिले पनि आफ्नो अडानबाट पछि नहट्ने बताए।
उनले प्रायोजित हल्लाका कारण प्रश्न गर्ने अधिकार कमजोर हुन नहुनेमा जोड दिए। ‘यत्रो प्रायोजित हल्लाहरूको बीचमा राइट टु क्वेस्चन मर्नु हुँदैन। प्रश्न मर्यो भने डेमोक्रेसी सकिन्छ, डेमोक्रेसी मात्र होइन, हाम्रो प्रगतिको पनि सकिन्छ,’ उनले भने।



