काठमाडौँ- हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अन्तर्गत आज कुकुर तिहारसँगै लक्ष्मीपूजा पर्व पनि मनाइँदैछ।
तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा पर्व आज एकैदिन परेको हो।
आइतबार बिहान कुकुर पूजा गरेपछि साँझ लक्ष्मीपूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
आइतबार दिउँसो चतुर्दशी तिथि र साझ औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा एकै दिन यी दुवै पर्व मनाउने निर्णय गरिएको हो।
आज बिहान यमराजको दूतका रूपमा कुकुरको पूजा गरिँदै छ। साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी दीपावली गरिने छ।
लक्ष्मीलाई ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवीको रूपमा पुज्ने गरिन्छ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले वास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरिन्छ। साँझ दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।
आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ।
लक्ष्मीपूजा गरेपछि घरघरमा गएर युवतीहरूले भैलेनी खेल्ने चलन छ।
भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको धार्मिक विश्वास छ।
आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने चलन छ। भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।



