द्वौ श्वानौ श्यामशबलौ वैवस्वतकुलोद्भवौ।
ताभ्यामन्नं प्रयच्छामि स्यातामेतावहिंसकौ।।
ताभ्यामन्नं प्रदास्यामि रक्षतां पथि सर्वदा।।
वैवस्वत अर्थात् यमराजको कुलमा उत्पन्न श्याम र शबल वर्णका दुई कुकुरलाई म अन्न अर्पण गर्दछु। यी दुवै अहिंसक बनी मेरा रक्षक बनून् र जीवनयात्राका क्रममा सधैँ मेरो रक्षा गरून्।
यमपञ्चकको दोस्रो दिन यमदूतका रूपमा परिचित कुकुरको पूजा गरी श्रद्धापूर्वक भोजन गराउने परम्परा छ। धार्मिक मान्यताअनुसार यमराजका दुई कुकुरलाई श्याम र शबल नामले चिनिन्छ। यिनीहरूलाई यमलोकको द्वारपाल तथा यमदूतका रूपमा वर्णन गरिएको पाइन्छ। मानवीय कर्मअनुसार परलोकको यात्रामा यममार्गको रक्षासँग सम्बन्धित यिनको धार्मिक महत्त्व रहेको छ।
कुकुर मानवीय गुणले युक्त, स्वामीभक्त, सतर्क र संवेदनशील जनावर हो। यसको श्रवण तथा घ्राणशक्ति अत्यन्त तीक्ष्ण हुन्छ। सामान्य मानिसले सहजै पत्ता लगाउन नसक्ने गन्ध तथा गतिविधिसमेत यसले थाहा पाउन सक्छ। घरपरिवारको सुरक्षा गर्नु, अपरिचित व्यक्तिको उपस्थितिबारे सचेत गराउनु र आफ्नो संरक्षकप्रति बफादार रहनु यसका विशेषता हुन्।
वर्तमान समयमा घरायसी सुरक्षाका साथै सरकारी सुरक्षा निकायमा समेत तालिमप्राप्त कुकुरहरूको प्रयोग हुँदै आएको छ। अपराध अनुसन्धान, लागुऔषध तथा विस्फोटक पदार्थको पहिचान, उद्धारकार्य र सुरक्षासम्बन्धी विभिन्न क्षेत्रमा यिनीहरूको महत्त्वपूर्ण योगदान रहेको छ।
मानव सभ्यताको विकासक्रमदेखि नै मानिससँग निकट सम्बन्ध राख्दै आएको यस प्राणीलाई धार्मिक आस्थाका आधारमा यमदूतका रूपमा सम्मान गर्नु हाम्रो सांस्कृतिक परम्पराको विशिष्ट पक्ष हो। यस पर्वले पशुप्रति करुणा, सहअस्तित्व र जीवप्रतिको सम्मानको सन्देशसमेत प्रदान गर्दछ।
नरक चतुर्दशी : अपामार्ग मार्जन तथा पापप्रक्षालन।
यमपञ्चकको दोस्रो दिन नै नरक चतुर्दशीका रूपमा पनि मनाइन्छ। यस दिन प्रचलित परम्पराअनुसार अपामार्ग वनस्पतिको प्रयोग गरी मार्जन गर्दै स्नान गर्ने विधान रहेको छ।
सीतालोष्टसमायुक्तः सकण्टकदलान्वितः।
हर पापमपामार्ग भ्राम्यमाणः पुनः पुनः।।
हे अपामार्ग वनस्पति! चिसो माटोको डल्लो तथा काँडायुक्त पातसहित तिमीलाई पटक–पटक शरीरमा घुमाएर मार्जन गर्दा मेरा सम्पूर्ण पाप तथा दोषहरू निवारण गरिदेऊ। यसरी अपामार्गको प्रयोगद्वारा शारीरिक तथा आध्यात्मिक शुद्धिको कामना गर्दै स्नान गर्ने परम्परा रहिआएको छ।
माषपत्र प्राशन :
यस दिन माष अर्थात् मासको पात सेवन गर्ने परम्परासँग सम्बन्धित मन्त्र पनि प्रचलित छ।
नुद सर्वाणि पापानि नरकादर्शनं कुरु।
प्राश्नामि तव पत्राणि माषो देहि यशो बलम्।।
हे पवित्र वनस्पति! मेरा सम्पूर्ण पापहरू निवारण गर र मलाई नरकको दर्शन गर्नुपर्ने अवस्था नआओस्। म तिम्रा पातहरू सेवन गर्दछु। मलाई यश, कीर्ति र बल प्रदान गर।
यस मन्त्रमा माषपत्र सेवनसँगै पापक्षय, नरकभयबाट मुक्ति तथा यश र बल प्राप्तिको मंगलकामना गरिएको छ। यस परम्पराले वनस्पतिको धार्मिक तथा औषधीय महत्त्वलाई समेत उजागर गर्दछ।
तिलाग्नि, दीपदान तथा नरक चतुर्दशीको लोकपरम्परा
यसै दिन तिलको डाँठ बालेर अग्नि ताप्ने, तोरीको तेलबाट दीप प्रज्वलन गर्ने तथा घरपरिवारका सदस्यहरूको शिर वरिपरि दीप घुमाउने प्रचलन पनि रहेको छ। यस क्रममा ‘नर्के जा, हर्के आइज’ भन्ने लोकोक्ति उच्चारण गर्दै अशुभताको निवारण र शुभताको आगमनको कामना गरिन्छ।
त्यसपछि दीप तथा पवित्र जलको प्रवाहसँग सम्बन्धित परम्पराअनुसार नजिकैको जलाशयमा बत्ती विसर्जन गर्दै परिवारका सदस्यहरूको आयु, आरोग्य र कल्याणको कामना गरिन्छ। यसलाई पापप्रक्षालन तथा पुण्य सञ्चयको धार्मिक भावनासँग जोडेर हेरिन्छ।
आगामी संवत्सर यमभयरहित, सुखमय र मंगलमय बनोस् भन्ने कामनासहित गरिने यी धार्मिक क्रियाकलापमा प्रकृति, अग्नि, जल, वनस्पति र जीवजन्तुप्रतिको सम्मान अन्तर्निहित रहेको छ।
आउँदै गरेको शिशिर ऋतुको कठ्याङ्ग्रिँदो चिसोलाई सहन सक्ने शारीरिक सामर्थ्य र स्वास्थ्यको कामनासहित तिलको अग्नि ताप्ने तथा परम्पराअनुसार माषपत्र सेवन गर्ने चलनले यस पर्वको ऋतुसापेक्ष महत्त्वसमेत दर्शाउँछ।
यसरी कुकुरको पूजा, अपामार्ग मार्जन, माषपत्र प्राशन, तिलाग्नि तथा दीपदानका माध्यमबाट यमपञ्चकको दोस्रो दिन धार्मिक आस्था, लोकसंस्कृति, प्रकृतिप्रेम र आरोग्यको मंगलकामना अभिव्यक्त गरिन्छ।




