काठमाडौँ- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए। उनले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरे। अर्धशतक बनाउन चार रनले चुकेका सर्टले सुरुवाती तीन विकेट गुमाएर दबाबमा परेको टोलीको इनिङ्स सम्हालेका थिए।
१९ रनमै तीन विकेट गुमाएको लुम्बिनीका लागि सर्ट र निरोशन डिकवेलाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे। डिकवेलाले १३ बलमा दुई चौकासहित १६ रन बनाए।
त्यसपछि सर्ट र दिलीप नाथले इनिङ्स अघि बढाए। सर्ट आउट भएपछि दिलीपले जिम्मेवारी सम्हाल्दै टोलीलाई जितसम्म पुर्याए।
उनले २७ बलमा चार चौकासहित अविजित २८ रन बनाए। हुसेन तलतको बलमा विजयी चौका प्रहार गरेका दिलीपसँगै लुम्बिनीले लक्ष्य पूरा गरेको थियो । शमिम हुसेनले पाँच रन बनाए।
बलिङमा कर्णालीका मार्क वाट प्रभावशाली रहे। उनले चार ओभरमा एक मेडन राख्दै १२ रन खर्चेर चार विकेट लिए। पवन सर्राफ र हुसेन तलतले एक एक विकेट हात पारे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमै समेटिएको थियो।
कर्णालीका सोमपाल कामीले सर्वाधिक २८ रन बनाए। उनले १८ बलमा चार चौका र एक छक्का प्रहार गरे। हुसेन तलतले २२ बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे। पवन सर्राफले १२ तथा गुल्सन झाले १३ रन बनाए।
अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। दीपेन्द्र रावत खाता नखोली आउट भए भने अरिफुल इस्लाम र दीपक डुम्रेले समान चार, कप्तान डेभिड मिलरले पाँच, मार्क वाटले दुई र नन्दन यादवले तीन रन बनाए।
एक समय १५ रनमै चार विकेट गुमाएको कर्णालीलाई पवन सर्राफ र सोमपाल कामीले पाँचौँ विकेटका लागि ४० रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए। तर त्यसपछि नियमित अन्तरमा विकेट गुमाउँदा टोली ठूलो योगफल बनाउन असफल भयो।
लुम्बिनीका अभिषेक गौतम, डार्सी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले समान दुई विकेट लिए। रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक एक विकेट हात पारे।
जितसँगै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनीले विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ।
लगातार चौथो हार बेहोरेपछि कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ। प्रतियोगिताको सुरुवाती दुई खेल जितेको कर्णाली त्यसयता लगातार चार खेलमा पराजित भएको हो। ६ खेलबाट चार अंक जोडेको कर्णाली सातौँ स्थानमा छ।



