विराटनगर किंग्स ४ विकेटले विजयी, पोखरा प्लेअफ दौडबाट बाहिरियो

हिमाल प्रेस २६ कार्तिक २०८३ १६:०६ | Thursday, November 12, 2026
8
SHARES
विराटनगर किंग्स ४ विकेटले विजयी, पोखरा प्लेअफ दौडबाट बाहिरियो

काठमाडौँ- कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनमा ह्याट्रिकसहित ६ विकेट लिएपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ। लगातार खराब प्रदर्शनबाट गुज्रिएको पोखरा यस हारसँगै प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको हो।

जारी एनपीएलमा प्लेअफको सम्भावना गुमाउने पोखरा पहिलो टोली बनेको छ। ६ खेल खेलिसकेको पोखराले एक खेलमा मात्र जित निकाल्दा ५ खेलमा हार बेहोरेको छ। लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाजसँग प्रतिस्पर्धा गर्न बाँकी रहे पनि उक्त खेल जित्दा समेत पोखरालाई प्लेअफमा पुग्न पर्याप्त हुने छैन।

बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

विराटनगरको जितमा बसिर अहमदले सर्वाधिक ३७ रन बनाए। लोकेश बमले ३३ रनको योगदान दिए। सेहान जयासुर्या १७ तथा इसुरु उडाना २५ रनमा अविजित रहे।

पोखराका रमेश मेन्डिस र कुशल भुर्तेलले समान २ विकेट लिए। विपिन खत्री र धनन्जय लक्षणले एक-एक विकेट हात पारे।

यस जितसँगै विराटनगरको प्लेअफ सम्भावना कायमै रहेको छ। ६ खेलमा समान ३ जित र ३ हार बेहोरेको विराटनगरले ६ अंक जोडेको छ। लिग चरणको अन्तिम खेलमा विराटनगरले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटिएको थियो। पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए।

सन्दीपले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिँदै आफ्नो टी–२० करियरकै उत्कृष्ट बलिङ प्रदर्शन गरे। जारी एनपीएलमा ह्याट्रिक गर्ने उनी पहिलो बलर बनेका छन्।

उनले इनिङ्सको १५औँ ओभरमा लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरे। ओभरको तेस्रो बलमा युवराज शर्मा, चौथो बलमा चमिका करुणारत्ने र पाँचौँ बलमा किरण ठगुन्नालाई आउट गर्दै सन्दीपले पोखरालाई थप दबाबमा पारे।

त्यसअघि उनले ११औँ ओभरमा सन्नी विके र रमेश मेन्डिस तथा सातौँ ओभरमा अर्जुन घर्तीलाई आउट गरेका थिए। यसअघि कर्णाली याक्सविरुद्ध एक विकेटमा सीमित भएका सन्दीपले पोखराविरुद्ध भने उत्कृष्ट पुनरागमन गरे।

विराटनगरका एन्जेलो म्याथ्युज, रुपेश सिंह र चरिथ असलंकाले समान एक विकेट लिए।

पोखराका लागि ओपनर युवराज शर्माले सर्वाधिक ८४ रन बनाए। उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। आक्रामक ब्याटिङ गरेका युवराज सन्दीपको बलमा इसुरु उडानाबाट क्याच आउट भए।

धनन्जय लक्षणले २२ र सन्नी विकेले १२ रन जोडे। पोखराका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रकाशित: २६ कार्तिक २०८३ १६:०६ | Thursday, November 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast