काठमाडौँ- अमेरिकाको वासिङ्टन डीसीस्थित लोगन सर्कल क्षेत्रमा ५५ वर्षीय एक व्यक्तिले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
अमेरिकी प्रहरीका अनुसार गोली चलाउने व्यक्ति म्याट ल्याम्बर्ट हुन्। उनी आकस्मिक कक्षमा कार्यरत चिकित्सक रहेको खुलेको सीएनएनले जनाको छ।
ल्याम्बर्टले सुरुमा ह्यान्डगन प्रयोग गरी आफू बस्ने भवनका व्यवस्थापकलाई जिमभित्र गोली हानी हत्या गरेका थिए। त्यसपछि भवनभित्र प्रवेश गरी सातौँ तलामा रहेको आफ्नो अपार्टमेन्टको बाल्कोनीबाट राइफलमार्फत अन्य चार जनामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
घटनापछि ल्याम्बर्ट आफ्नै अपार्टमेन्टभित्र ब्यारीकेड गरी बसेका थिए। पछि उनले आफैँलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ल्याम्बर्ट आफ्नो अपार्टमेन्टमा देखिएको ढुसी (मोल्ड) सम्बन्धी समस्यालाई लिएर भवन व्यवस्थापन पक्षसँग कानुनी विवादमा समेत संलग्न थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



