अपिल असफल भए म्यानचेस्टर सिटीमाथि कारबाही

हिमाल प्रेस २७ कार्तिक २०८३ १२:४९ | Friday, November 13, 2026
अपिल असफल भए म्यानचेस्टर सिटीमाथि कारबाही सन् २०२४ मे १९ मा इङ्ल्यान्डको म्यानचेस्टरमा म्यानचेस्टर सिटी र वेस्ट ह्याम युनाइटेडबीचको प्रिमियर लिग फुटबल खेलपछि उपाधिसहित खुसी मनाउँदै म्यानचेस्टर सिटीका खेलाडी। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- म्यानचेस्टर सिटीले प्रिमियर लिगको आर्थिक नियम उल्लङ्घन गरेको ठहरविरुद्ध आगामी महिना गर्ने अपिल असफल भए क्लबमाथि अर्को वर्ष कारबाही हुने भएको छ।

नौ वर्ष अवधिमा आफ्नो आर्थिक अवस्था कृत्रिम रूपमा ९० करोड पाउन्डभन्दा बढीले बढाएर देखाएको ठहरविरुद्ध म्यानचेस्टर सिटीले गरेको अपिलको सुनुवाइ डिसेम्बरको मध्यतिर हुने भएको छ। सुनुवाइ केही दिनसम्म चल्न सक्छ।

उक्त अपिलमाथि स्वतन्त्र आयोगले नयाँ वर्षमा फैसला सुनाउने अपेक्षा गरिएको छ। अपिल असफल भए त्यसपछि क्लबमाथि लगाइने कारबाहीबारे निर्णय हुनेछ।

कारबाहीको समयतालिका गोप्य राखिएको छ। यसअघि केहीले अपिल प्रक्रिया पूरा हुनुअघि नै कारबाही घोषणा हुन सक्ने अनुमान गरेका थिए।

सिटीको अपिल असफल भए प्रिमियर लिगको नियमावलीअनुसार स्वतन्त्र आयोगलाई उपयुक्त ठानेको जुनसुकै कारबाही गर्ने व्यापक अधिकार छ। त्यसमा जरिवाना, अङ्क कटौतीदेखि प्रिमियर लिगबाटै निष्कासन गर्नेसम्मका कारबाही हुन सक्छन्।

कारबाही कहिलेदेखि कार्यान्वयनमा आउने भन्ने स्पष्ट छैन। त्यस्तो सजायविरुद्ध पनि अपिल गर्न सकिने व्यवस्था छ। यसले विश्व फुटबलको सबैभन्दा लोकप्रिय घरेलु प्रतियोगिता प्रिमियर लिगमाथि मडारिएको अनिश्चितता आगामी मेमा सकिने यस सिजनपछि पनि लम्बिन सक्ने कानुनविद्हरूले चेतावनी दिएका छन्। यो विवादको टुङ्गो लाग्न अझै वर्षौँ लाग्न सक्ने उनीहरूको भनाइ छ।

प्रिमियर लिग र म्यानचेस्टर सिटीले आगामी कानुनी सुनुवाइको समयतालिकाबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।

स्वतन्त्र आयोगले गत सेप्टेम्बरमा सार्वजनिक गरेको फैसलामा सन् २०२३ मा सिटीमाथि लगाइएका ११५ आरोपमध्ये एउटाबाहेक सबैमा दोषी ठहर गरेको थियो। ती आरोपमा प्रायोजन सम्झौतामा हेरफेर गरेको, क्लबका मालिकबाट प्राप्त आर्थिक सहयोग लुकाएको र प्रतियोगिताको खर्चसम्बन्धी सीमा उल्लङ्घन गरेको विषय समावेश थिए।

फैसलाअनुसार क्लबले अपनाएको आर्थिक व्यवस्थाअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) का शाही परिवारका सदस्य तथा म्यानचेस्टर सिटीका मालिक सेख मन्सुर बिन जायद अल नाह्यानको नियन्त्रणमा रहेको अबुधाबीको एउटा निजी लगानी कम्पनीले केही व्यावसायिक प्रायोजकले तिर्ने रकममा थप रकम उपलब्ध गराएको थियो।

यसैबीच, म्यानचेस्टर सिटीमाथिको अनुसन्धान अघि बढाउन सहयोग पुग्ने गोप्य इमेलसहितका कागजात सञ्चारमाध्यमलाई उपलब्ध गराएका ‘फुटबल लिक्स’का संस्थापक रुई पिन्टोले खेलकुद क्षेत्रमा हुने थप अपराध उजागर गर्न बेलायतका अभियोजनकर्ताहरूसँग छलफल गरिरहेको उनका वकिलले बताएका छन्।

पिन्टोका वकिल विलियम बुरडोनका अनुसार बेलायतको गम्भीर ठगी अनुसन्धान कार्यालय (एसएफओ) ले उनीसँग सम्पर्क गरिरहेको छ।

सन् २०२० देखि पिन्टो पोर्चुगलको साक्षी संरक्षण कार्यक्रममा छन्। उनका वकिलहरूले चुनौती दिएपछि निर्णय उल्ट्याउनुअघि पोर्चुगलले गत सेप्टेम्बरमा पिन्टोलाई दिँदै आएको सहयोग फिर्ता लिने चेतावनी दिएको थियो।

फ्रान्सेली वकिल बुरडोनले यसअघि विकिलिक्सका संस्थापक जुलियन असान्ज र अमेरिकी गुप्तचर निकायका पूर्वविश्लेषक एडवर्ड स्नोडेनलगायत चर्चित सूचना सार्वजनिक गर्ने व्यक्तिहरूको कानुनी प्रतिरक्षा गरिसकेका छन्। पिन्टो र एसएफओबीच भइरहेको छलफलबारे यसअघि ‘द गार्जियन’ले समाचार प्रकाशित गरेको थियो।

एसएफओका प्रवक्ताले भनेका छन्, ‘कानुन कार्यान्वयनसम्बन्धी गतिविधिमा प्रतिकूल असर नपरोस् भन्ने लामो समयदेखि कायम अभ्यासअनुसार हामी यस विषयमा कुनै अनुसन्धान भइरहेको छ वा छैन भन्ने पुष्टि गर्न अथवा अस्वीकार गर्न सक्दैनौँ।’

म्यानचेस्टर सिटी : पैसाको साम्राज्य, ठगीको छाया

प्रकाशित: २७ कार्तिक २०८३ १२:४९ | Friday, November 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast