विश्वकपमा निजी लगानी भित्र्याउने प्रस्तावले फुटबल जगत विभाजित

हिमाल प्रेस १५ साउन २०८३ ११:३२ | Friday, July 31, 2026
4
SHARES
विश्वकपमा निजी लगानी भित्र्याउने प्रस्तावले फुटबल जगत विभाजित

काठमाडौँ- सन् २०२६ को फिफा विश्वकप सफलतापूर्वक सम्पन्न भएको एक महिना नपुग्दै अन्तर्राष्ट्रिय फुटबल अनिश्चितताको अवस्थामा पुगेको छ।

युरोपेली फुटबल महासंघ (यूईएफए) ले फिफाका सबै प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेपछि विश्व फुटबलमा नयाँ विवाद उत्पन्न भएको हो।

यो निर्णय फिफा अध्यक्ष जियानी इन्फान्टिनोले नयाँ स्थापना गर्न प्रस्ताव गरिएको फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) नामक सहायक कम्पनीको २० प्रतिशत हिस्सेदारी निजी लगानीकर्तालाई बिक्री गर्ने योजनाको विरोधस्वरूप आएको हो। उक्त कम्पनीले विश्वकपसहित फिफाका प्रमुख प्रतियोगिताहरूको व्यवस्थापन गर्ने प्रस्ताव गरिएको छ।

यूईएफएले आफ्ना ५५ सदस्य राष्ट्रका फुटबल संघहरूले उक्त प्रस्ताव सर्वसम्मत रूपमा अस्वीकार गरेको जनाउँदै विश्व फुटबलका प्रमुख प्रतियोगितामा निजी स्वामित्व स्वीकार्य नहुने बताएको छ।

यूईएफएले विज्ञप्तिमा भनेको छ,‘यूईएफए र यसका ५५ सदस्य संघ एकताबद्ध छन्। विश्वकप तथा फिफाका अन्य प्रतियोगितामा स्वामित्वको हिस्सा निजी लगानीकर्तालाई हस्तान्तरण गर्ने फिफाको प्रस्तावलाई हामी सर्वसम्मत र स्पष्ट रूपमा अस्वीकार गर्छौं।’

उत्तरी, मध्य अमेरिकी तथा क्यारेबियन फुटबल महासंघ (कन्काकाफ) ले पनि सुशासन, पारदर्शिता र प्रक्रियागत विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै प्रस्ताव अस्वीकार गरेको छ।

कन्काकाफले जारी गरेको विज्ञप्तिमा प्रस्तावबारे आवश्यक प्रक्रियाको पालना नगरिएको, अत्यन्त छोटो समयसीमा दिइएको तथा फिफाका सम्बन्धित निकायबाट समीक्षा वा स्वीकृति नलिइएको भन्दै आपत्ति जनाएको छ।

महासंघले इतिहासकै सबैभन्दा धेरै आम्दानी गरेको विश्वकपपछि निजी लगानी किन आवश्यक परेको हो भन्ने प्रश्नसमेत उठाएको छ।

एसियाली फुटबल महासंघ (एएफसी) ले प्रस्तावलाई प्रत्यक्ष रूपमा अस्वीकार नगरे पनि आफूहरूसँग पूर्वपरामर्श नगरी सार्वजनिक गरिएको भन्दै असन्तुष्टि जनाएको छ।

एएफसीले भनेको छ,‘यस प्रस्तावबारे एएफसीसँग कुनै परामर्श गरिएको थिएन। यति महत्वपूर्ण विषयलाई एएफसी परिवारले स्थापित प्रक्रियाअनुसार अध्ययन र छलफल गर्ने अवसर नपाउँदै सार्वजनिक गरिएकामा हामी निराश छौं।’

अफ्रिकी फुटबल महासंघ (काफ) ले भने प्रस्तावको विस्तृत अध्ययन गर्ने जनाएको छ। काफले आफ्ना सदस्य संघहरूलाई प्रस्तावबारे अध्ययन गरी परामर्श प्रक्रियामा सहभागी हुन आग्रह गर्दै फुटबल विकासका लागि वित्तीय स्रोत विस्तार गर्न फिफा र अन्य सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) ले भने अहिलेसम्म यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इन्फान्टिनोको प्रस्तावमा योजनालाई समर्थन गर्ने सदस्य संघहरूलाई ४ करोड अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराउने व्यवस्था पनि समावेश छ।

एफएफई फिफाको नियन्त्रणमै रहने भए पनि त्यसमा निजी लगानीकर्ताको लगानी रहनेछ। ती लगानीकर्तामध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइ जोसुआ कुशनर पनि रहेको जनाइएको छ।

यूईएफए र कन्काकाफको कडा विरोधपछि यो प्रस्ताव संकटमा परेको छ। यसले विश्व फुटबलको शासन प्रणालीमा विभाजन आउने सम्भावनाबारे पनि चिन्ता बढाएको छ।

यता प्रमुख महासंघहरूको विरोधपछि फिफाले आफ्नो प्रस्तावको बचाउ गर्दै फुटबलका मूल सम्पत्तिलाई व्यापारीकरण गर्ने कुनै उद्देश्य नरहेको बताएको छ।

फिफाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनेको छ,‘हामीले सम्बन्धित महासंघहरूबाट प्राप्त सुझाव सुनेका छौं र खुला तथा लोकतान्त्रिक परामर्श प्रक्रियाप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याउँछौं।’

फिफाले थपेको छ,‘कसैले पनि फुटबल बेचिरहेको छैन।’

प्रकाशित: १५ साउन २०८३ ११:३२ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast