इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

हिमाल प्रेस २४ साउन २०८३ १२:२७ | Sunday, August 9, 2026
14
SHARES
इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अध्यक्ष जियानी इन्फान्टिनोलाई कमजोर बनाउने उद्देश्यले सुनियोजित  प्रयास निरन्तर भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ।

फिफाको यस्तो प्रतिक्रिया बेलायती सञ्चारमाध्यम द डेली टेलिग्राफमा प्रकाशित एक रिपोर्टपछि आएको हो। उक्त रिपोर्टमा इन्फान्टिनो युईएफएको महासचिव हुँदा एक महिलासँग सम्बन्धमा रहेको र ती महिलालाई युईएफएले सम्बन्धविच्छेदस्वरूप रकम दिएको दाबी गरिएको थियो।

फिफाका प्रवक्ताले द टेलिग्राफसँग इन्फान्टिनोले उक्त आरोपलाई अस्वीकार गरेको र ती दाबीहरू पूर्ण रूपमा असत्य भएको बताएका थिए।

फिफाले शनिबार जारी गरेको विज्ञप्तिमा आधारहीन दाबी तथा झुटा आरोपप्रति आपत्ति जनाउँदै अनुमान र संकेतका आधारमा गरिएका कुरालाई तथ्यका रूपमा प्रस्तुत गर्न नहुने जनाएको छ।

इन्फान्टिनोले फिफाको ‘फिफा फर्वार्ड इन्टरप्राइज’ (एफएफई) प्रस्ताव फिर्ता लिएपछि युईएफए र युरोपका विभिन्न फुटबल संघबाट थप दबाब सामना गरिरहेका छन्।

एफएफई योजनाअन्तर्गत व्यावसायिक तथा टिकट बिक्रीसम्बन्धी अधिकार व्यवस्थापन गर्न नयाँ कम्पनी स्थापना गर्ने र त्यसको २१ प्रतिशत हिस्सा निजी लगानी कम्पनीलाई बिक्री गर्ने प्रस्ताव गरिएको थियो।

युईएफएले इन्फान्टिनोप्रतिको विश्वास गुमेको बताइसकेको छ। नर्वे फुटबल संघकी अध्यक्ष लिसे क्लाभेनेसले पनि शुक्रबार स्विस-इटालियन नागरिक इन्फान्टिनोलाई पदबाट राजीनामा दिन आह्वान गरेकी थिइन्।

युरोपेली फुटबलको नियामक निकाय युईएफएले फिफाका प्रतियोगिता बहिष्कार गर्ने धम्की अझै कायम रहेको जनाएको छ। एफएफई योजना पुनः अघि नबढ्ने सुनिश्चिततासमेत प्राप्त नभएको युईएफएको भनाइ छ।

फिफाले शनिबारको विज्ञप्तिमा भनेको छ,‘फिफाका अध्यक्ष फिफाका सदस्य संघहरूले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित गरेका हुन् र उनी आफ्नो जनादेशअनुसार जिम्मेवारीमा छन्।’

फिफाले थप भनेको छ,‘फिफाका सदस्य संघहरूको समर्थन प्राप्त गर्न नसक्नेहरूले फिफाले स्थापित गरेको लोकतान्त्रिक प्रक्रियाबाट हासिल गर्न नसकेको कुरा आरोप, संकेत वा गलत सूचनामार्फत हासिल गर्ने प्रयास गर्नु हुँदैन।’

युरोपबाटै बढी विरोध

इन्फान्टिनोप्रतिको विरोध मुख्यतः युरोपबाट भइरहेको छ। मेक्सिको फुटबल संघले क्षेत्रीय निकाय कन्काकाफको धारणा विपरीत इन्फान्टिनोको समर्थनमा उभिएको छ।

मेक्सिको फुटबल संघले दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल) को धारणा समर्थन गर्दै फिफाका २११ सदस्य राष्ट्रको सहभागितामा मतदान नगरी इन्फान्टिनोलाई पदबाट हटाउने कुनै पनि प्रयास अस्वीकार गर्ने जनाएको छ।

अफ्रिकी फुटबल महासंघ (क्याफ) अन्तर्गतका ५४ वटै राष्ट्रले पनि इन्फान्टिनोलाई सर्वसम्मत समर्थन गरेका छन्।

प्रकाशित: २४ साउन २०८३ १२:२७ | Sunday, August 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast