म्याग्दी- तिहारमा बेनी बजारमा झिनिया रोटीको कारोबार बढेको छ। चाडपर्वलाई लक्षित गरी झिनिया उत्पादन गर्दै आएका स्थानीय उद्यमीलाई बजारबाट माग धान्न भ्याइनभ्याइ भएको छ। घरपरिवारका सदस्यदेखि श्रमिकसम्म परिचालन गरेर उनीहरू उत्पादनमा जुटेका छन्।
बेनी नगरपालिका-७ मङ्गलाघाटकी कल्पना श्रेष्ठलाई यतिबेला झिनिया बनाउन भ्याइनभ्याइ छ। सामान्य अवस्थामा परिवारका सदस्य मिलेर उत्पादन गर्ने उनले तिहारको माग धान्न एक जना श्रमिकसमेत राखेकी छन्। दसैँ र तिहारको अवधिमा झिनिया बिक्रीबाट रु तीनदेखि चार लाखसम्म आम्दानी हुने गरेको श्रेष्ठले बताइन्।
‘तिहारमा माग धेरै आउने भएकाले श्रमिक राखेर उत्पादन गरिरहेका छौँ,’ उनले भनिन्,‘बेनी बजारदेखि म्याग्दीका ग्रामीण क्षेत्र, पर्वत, बागलुङ र पोखरासम्म झिनिया बिक्री हुने गरेको छ।’
मङ्गलाघाटकै हेमबहादुर पुनको परिवार पनि झिनिया उत्पादनमा व्यस्त छ। परिवारका १० जना सदस्य नै यो काममा खटिएका छन्। पुनका अनुसार दैनिक एक बोरा चामलको पिठो बराबरको झिनिया उत्पादन हुन्छ। दसैँतिहारको अवधिमा रु दुईदेखि तीन लाखसम्मको झिनिया बिक्री हुने गरेको उनले बताए।
‘पछिल्लो दुई महिनादेखि परिवारका १० जना सदस्य झिनिया बनाउने काममा लागेका छौँ,’ पुनले भने,‘बेनी बजारका साथै पोखराबाट पनि माग आउने गरेको छ। उत्पादन गर्न सके बिक्रीको समस्या छैन।’
झिनिया उत्पादनबाट आम्दानीसँगै मौलिक परम्पराको संरक्षणसमेत भइरहेको छ। बेनी नगरपालिका-७ की टकसरा रानाले विगत २५ वर्षदेखि झिनिया बनाउँदै आएकी छन्। परम्परागत सीपलाई निरन्तरता दिँदै फुर्सदको समय सदुपयोग गर्न र घरखर्च जुटाउन यो व्यवसाय रोजेको उनले बताइन्।
‘दिनभर त्यसै बस्नुभन्दा झिनिया बनाउँदा घरखर्चका लागि रकम पनि जम्मा हुन्छ,’ उनले भने,‘आफूले काम गर्दा अरू महिला दिदीबहिनीलाई पनि प्रेरणा मिल्छ।’
रानाका अनुसार झिनियाको बजार म्याग्दीमा मात्र सीमित छैन। पोखरासहित विदेशबाट समेत माग आउने गरेको छ। दुई वर्षअघि अस्ट्रेलियाबाट रु २५ हजार बराबरको झिनियाको माग आए पनि पर्याप्त उत्पादन गर्न नसक्दा रु १३ हजार बराबरको मात्रै पठाउन सकिएको उनले बताए।
चामलको पिठो पकाएर मेसिनमा पेलेपछि चाउचाउजस्तै मसिनो त्यान्द्रो निकालिन्छ। त्यसलाई दुई दिनसम्म घाममा सुकाएपछि झिनिया तयार हुन्छ। अहिले केही उद्यमीले विद्युत्बाट चल्ने मेसिन प्रयोग गर्न थालेका छन्। झिनिया बनाउन कम्तीमा तीन जना जनशक्ति आवश्यक पर्ने र उनीहरूले एक दिनमा ३५० भन्दा बढी झिनिया बनाउन सक्ने उद्यमीहरू बताउँछन्।
झिनिया घ्यू वा तेलमा तारेर खान सकिन्छ। आकर्षक देखिने, स्वादिलो र लामो समयसम्म राख्न मिल्ने भएकाले तिहारमा यसको माग बढ्ने गरेको छ। उद्यमीका अनुसार १२ वटा झिनियाको मूल्य रु १४० देखि रु १५० सम्म पर्छ। तिहारमा दाजुभाइ तथा दिदीबहिनीबीचको भेटघाट, पाहुनाको सत्कार र आफन्तकहाँ कोसेली लैजाने चलनले पनि यसको खपत बढाएको छ।
मङ्गलाघाटमा मात्रै करिब २० जना झिनिया उद्यमी रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले बताए। उनका अनुसार अहिले अधिकांश उद्यमी उत्पादनमा व्यस्त छन्।
उपभोक्ता समिता पुनले घरमै झिनिया बनाउन झन्झट हुने र भण्डारण गर्दा बिग्रने चिन्ता हुने भएकाले बजारबाट किनेर कोसेली लैजान सहज भएको बताए। यही सहजताले पनि झिनियालाई चाडपर्वको लोकप्रिय परिकार बनाएको उनको भनाइ छ।
बढ्दो माग र बजार विस्तारको सम्भावना भए पनि उत्पादनलाई व्यवस्थित बनाउन आवश्यक सहयोगको खाँचो भने उद्यमीले औँल्याएका छन्। झिनिया बनाउने आधुनिक मेसिन, सीपमूलक तालिम तथा सुरक्षित भण्डारणका लागि आवश्यक उपकरणको व्यवस्था भए उत्पादन बढाउन र बजारको माग पूरा गर्न सहज हुने उद्यमी हरिकुमार श्रेष्ठले बताए।
स्थानीय महिलाको परम्परागत सीप, पारिवारिक श्रम र चाडपर्वको बजारले झिनिया उत्पादनलाई मौसमी आम्दानीको भरपर्दो माध्यम बनाउँदै लगेको छ। उचित प्रविधि र व्यवस्थापनको साथ पाएमा यसलाई चाडपर्वमा सीमित नराखी नियमित घरेलु उद्यमका रूपमा विस्तार गर्न सकिने सम्भावना देखिएको छ।



