डडेल्धुरा- डडेल्धुरामा व्यावसायिक पुष्पखेतीमा युवा आकर्षण बढ्दै गए पनि किसानले बीउ, सिँचाइ र बजार व्यवस्थापनमा समस्या भोग्नुपरेको छ। कम लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि जिल्लाका आधा दर्जनभन्दा बढी युवा पुष्प व्यवसायमा संलग्न भएका छन्। तर,आवश्यक बीउको सहज उपलब्धता, सिँचाइ सुविधा र उत्पादित फूलको बजार सुनिश्चित नहुँदा व्यवसाय विस्तारमा चुनौती देखिएको छ।
जिल्लाको अजयमेरु गाउँपालिका-५ झिगनीका ३४ वर्षीय टेकराज पाठकले चार वर्षअघि पुष्प व्यवसाय सुरु गरेका हुन्। कृषि प्राविधिक शिक्षा अध्ययन गरेका उनले परम्परागत खेतीभन्दा फरक व्यवसाय गर्ने सोचका साथ सयपत्री फूलखेती थालेका थिए। सुरुका दिनमा गाउँबाट सदरमुकामसम्म डोकोमा फूल बोकेर बिक्री गर्नुपर्ने अवस्था रहे पनि अहिले घरमै फूल खरिद गर्न ग्राहक आउने गरेको पाठकले बताए।
उनले स्थानीय जातका सयपत्रीसहित ‘कर्मा ५५५’ र ‘टेनिस बल’ जातका फूल उत्पादन गर्दै आएका छन्। कृषि ज्ञान केन्द्रबाट टनेल तथा गाउँपालिकाबाट थोपा सिँचाइका लागि पाइप सहयोग पाएका पाठकले दसैँ र तिहारको समयमा डडेल्धुरासहित कैलाली र कञ्चनपुरसम्म फूल बिक्री गर्दै आएका छन्। उत्पादित फूलको माला प्रतिगोटा एक सयदेखि दुई सय रुपैयाँ र फूल प्रतिकेजी चार सयदेखि पाँच सय रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताए। एक सिजनमा एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनको भनाइ छ।
अमरगढी नगरपालिका-१ डोलाका सुरत ऐर पनि पाँच वर्षदेखि पुष्प व्यवसायमा संलग्न छन्। कृषि विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका उनले करिब डेढ रोपनी जमिनमा सयपत्री फूलखेती गरेका छन्। विदेश जानुभन्दा आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचले व्यवसाय सुरु गरेको बताउने ऐरका लागि अहिले पुष्पखेती परिवारको आम्दानीको मुख्य स्रोत बनेको छ। उनले स्थानीय उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिए।
पर्शुराम नगरपालिका-४ कटालका चक्रसिंह मालले पनि चार वर्षअघि तीन रोपनी जमिनमा सयपत्री फूलखेती सुरु गरेका हुन्। उनले ‘कर्मा ५५५’ जातको फूल उत्पादन गरी दसैँ, तिहार र छठ पर्वका समयमा डडेल्धुरादेखि धनगढीसम्म बिक्री गर्दै आएका छन्।
पुष्पखेतीबाट आम्दानीको सम्भावना देखिए पनि किसानले आवश्यक गुणस्तरको बीउ सहज रूपमा नपाउने, सिँचाइको पर्याप्त व्यवस्था नहुने र उत्पादित फूलको बजार सुनिश्चित नहुने समस्या भोग्दै आएका छन्। विशेषगरी बजारमा भित्रिने प्लास्टिकका कृत्रिम मालाका कारण स्थानीय फूलको बिक्री प्रभावित हुने गरेको किसानको गुनासो छ। पुष्पखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न स्थानीय सरकारले पर्याप्त प्राथमिकता र प्रोत्साहन दिन नसकेको उनीहरूको भनाइ छ।
कृषि ज्ञान केन्द्र डडेल्धुराले भने पुष्पखेतीलाई प्रोत्साहन गर्न बीउ वितरण तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। किसानलाई स्थानीय उत्पादनको प्रवर्द्धन, बजार व्यवस्थापन र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सके पुष्प व्यवसायबाट युवालाई गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सकिने कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताए।



