माइजोगमाईमा महाकवि स्मृति र काव्यविमर्श

हिमाल प्रेस २३ कार्तिक २०८३ ९:०८ | Monday, November 9, 2026
माइजोगमाईमा महाकवि स्मृति र काव्यविमर्श

इलाम- ‘थुम्के साहित्यिक समूह’को आयोजना तथा ‘अमर कल्याण माध्यमिक विद्यालय’को व्यवस्थापनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा इलामको माइजोगमाईको केन्द्र नयाँबजारमा ‘महाकवि परिचर्चा एवम् रचना वाचन कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रममा अमर कल्याण माध्यमिक विद्यालयका पूर्वविद्यार्थी तथा चाइना रेडियो इन्टरनेसनलको नेपाली सेवाका विदेशी विशेषज्ञ एवं वरिष्ठ आख्यानकार चेतनाथ आचार्यले माइजोगमाईको प्राकृतिक तथा सांस्कृतिक पर्यावरणबारे चर्चा गर्दै कवितामार्फत इलामको प्राकृतिक सौन्दर्यको महिमा उजागर गरे।

महाकवि देवकोटाका काव्यिक आयाममाथि परिचर्चा गर्दै डा. हेम भण्डारीले ‘मुनामदन खण्डकाव्यमा वर्गीय सङ्कट’ शीर्षकको कार्यपत्र प्रस्तुत गरे। देवकोटाको स्मरणमा स्थानीय कविहरू ओमनाथ अधिकारी, ढाकानाथ खतिवडा, नारायणप्रसाद चँदारा, मन्दाता पोखरेल, प्रेमप्रसाद भण्डारी र होमनाथ आचार्यले कविता वाचन गर्नुका साथै मन्तव्य राखे।

प्रमुख अतिथि अमर कल्याण नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर भण्डारीले महाकवि देवकोटाको योगदानको स्मरण गरे। उनले माइजोगमाई क्षेत्रका स्रष्टाका सिर्जनामा यहाँको प्रकृति, समाज र संस्कृतिको प्रतिबिम्बन भएको उल्लेख गर्दै त्यसको प्रशंसा गरे।

‘थुम्के साहित्यिक समूह’का अध्यक्ष तथा माइजोगमाई क्षेत्रका वरिष्ठ साहित्यकार केशवराज पौडेलले देवकोटाको ‘मुनामदन’मा नेपाली समाज र संस्कृतिको पूर्ण प्रतिबिम्ब रहेको धारणा राखे। सभाध्यक्षसमेत रहेका पौडेलले ‘लक्ष्मीप्रसाद’ शीर्षकको कविता वाचन गर्दै कार्यक्रमलाई समापन गरे। पौडेलद्वारा ‘मुनामदन’को विनिर्माण गरी तयार पारिएको ‘नमुना मदन’ खण्डकाव्यसमेत सार्वजनिक भइसकेको छ।

प्रकाशित: २३ कार्तिक २०८३ ९:०८ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast