इलाममा धान रोपाइँ ९५ प्रतिशत

हिमाल प्रेस २७ साउन २०८३ १७:२४ | Wednesday, August 12, 2026
4
SHARES
इलाममा धान रोपाइँ ९५ प्रतिशत

इलाम- इलाममा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा पुगेको छ। कृषि ज्ञान केन्द्र इलामका अनुसार साउन २६ गतेसम्म जिल्लामा धान रोप्नयोग्य क्षेत्रफलको ९५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ।

समयमै मनसुन सक्रिय भएकाले यस वर्ष धान रोपाइँ उत्साहजनक देखिएको हो। समयमै रोपाइँ सम्पन्न हुँदा धान उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी प्रदीप लुइँटेलले गत वर्ष पनि साउन २६ गतेसम्म जिल्लामा ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको बताए।

जिल्लामा कूल ११ हजार ६२ दशमलव ६४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा हालसम्म १० हजार ५०९ दशमलव ५१ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।

कुलो तथा नहरको सुविधा भएका र खोला तथा खोल्सानजिकका खेतमा रोपाइँ सकिएको छ भने आकाशेपानीको भरमा खेती हुने क्षेत्रका केही खेतमा अझै रोपाइँ हुन बाँकी छ।

पछिल्लो समय किसानले धान उत्पादन हुने खेतमा अदुवा, अलैँचीजस्ता उच्च मूल्यका नगदेबाली लगाउन थालेकाले समेत धान रोपाइँ शतप्रतिशत हुन नसकेको सूचना अधिकारी लुइँटेलले बताए।

‘कतिपय किसानले धान फल्ने खेत मासेर अदुवा, अलैँचीजस्ता उच्च मूल्यका नगदेबाली लगाउन थालेकाले शतप्रतिशत धान रोपाइँ भएको देखिँदैन,’उनले भने,‘व्यवस्थित सिँचाइको अभाव, रोगकिरा, प्राकृतिक प्रकोप, कम उत्पादकत्व र सस्तो बजार मूल्यजस्ता कारणले पनि किसान नगदेबालीतर्फ आकर्षित भएका छन्।’

इलामको चुलाचुली गाउँपालिका र माई नगरपालिकामा मुख्यरुपमा व्यावसायिक धानखेती हुँदै आएको छ। माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई र सन्दकपुर गाउँपालिका तथा देउमाई, इलाम र सूर्योदय नगरपालिकाका तल्लो क्षेत्रमा समेत धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

यहाँका किसानले सावित्री र रञ्जितजस्ता उन्नत जातका साथै चिराखे, भँगेरे, चुल्ठे, मन्सुली र रामधानलगायत रैथाने जातका धान खेती गर्दै आएका छन्। केन्द्रका अनुसार इलाममा वार्षिक ३६ हजार ९३९ दशमलव ८१ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ।

प्रकाशित: २७ साउन २०८३ १७:२४ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast