शब्दश्रद्धा

समयलाई शब्दमा छाडेर अस्ताए पत्रकार युवराज गौतम

हिमाल प्रेस २७ भदौ २०८३ २२:२५ | Saturday, September 12, 2026
समयलाई शब्दमा छाडेर अस्ताए पत्रकार युवराज गौतम

काठमाडौँ- कहिलेकाहीँ कुनै समाचार एउटा कालखण्डको अन्त्यजस्तो सुनिन्छ। शनिबार बिहान युवराज गौतमको निधन त्यस्तै खबर बन्यो।

२०१६ माघ ७ मा इलाममा जन्मिएका गौतमलाई केही समयदेखि श्वासप्रश्वासमा समस्या थियो। शनिबार बिहान बेहोस भएका उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताल लगिएको थियो। परीक्षणका क्रममा मुटुको चाल बन्द भएपछि डा‍. दिवाकर सिंह थापाले उनलाई मृत घोषणा गरे।

कलमले इतिहाससँग संवाद गर्ने पत्रकारका रूपमा चिनिन्थे गौतम। नेपाली पत्रकारितामा एउटा पुस्ताका लागि लेखन पेसा थिएन। त्यो समयलाई नजिकबाट हेर्ने, सत्तालाई प्रश्न गर्ने र आफूले देखेको युगलाई शब्दमा बाँधेर राख्ने कर्म थियो। गौतम त्यही पुस्ताका पत्रकार थिए। नम्र बोली, गहन अध्ययन, राष्ट्रवादी र विश्व राजनीतिप्रतिको चासोले उनलाई समाचारकक्षभन्दा परको द्रष्टा बनाएको थियो। उनी घटनालाई तत्कालको ‘हेडलाइन’मा मात्र नहेरी त्यसको पृष्ठभूमि र दीर्घ प्रभाव खोज्ने पत्रकारका रूपमा परिचित छन्।

उनले नेपालको सबैभन्दा पुरानो सरकारी दैनिक गोरखापत्रको सम्पादकीय नेतृत्व सम्हाले। त्यो जिम्मेवारी उनको यात्राको महत्त्वपूर्ण अध्याय थियो। ‘कान्तिपुर’ दैनिकको सुरुवाती चरणमा पनि काम गरेका उनले सरकारी र निजी दुवै सञ्चारसंस्कृति चिनेका थिए।

पञ्चायत, २०४६ को जनआन्दोलन, बहुदलीय व्यवस्थाको पुनःस्थापना, माओवादी सशस्त्र द्वन्द्व, २०६२-६३ को आन्दोलन, गणतन्त्र स्थापना र त्यसपछिको संक्रमण- यी सबै राजनीतिक कालखण्डमा उनको कलम प्रखर रूपमा चलेको देखिन्छ। राजसंस्था उनको लेखनको केन्द्र थियो।

गौतमलाई दरबारनिकट पत्रकार पनि भनिन्थ्यो। राजसंस्थाप्रतिको झुकाव उनले लुकाएनन्। बरु नेपालको राजनीतिक इतिहास, राष्ट्रियता र राष्ट्रिय स्वार्थलाई आफ्नै दृष्टिकोणबाट लेखे। त्यसैले उनको लेखनमा सहमति र असहमतिमा टिप्पणी हुने गर्दथ्यो।

गौतम आफैँले साझा गरेको एक प्रसंग स्मरणीय छ- दरबारमा पारसबाट हिमानीको हत्या भयो भनेर प्रचार भयो। यसबारेमा दुर्गानाथ शर्माले उनलाई फोन गरेर के गर्ने भनेका थिए। गौतमले तत्काल भनेका थिए मेरो कुरा सुन्छन् भने सबै कुसमाचार खण्डन गर्नुपर्छ भन्ने छैन- ‘पारस र हिमानी एउटै कारमा कुनै देवालय सवार भए भइहाल्यो नि। यसै खण्डन हुन्छ नि।’ अन्तत: दरबारले उनको सुझाव मानेको थियो।

उनले लेखेका शब्दहरू, उनले उठाएका प्रश्नहरू र उनले छानेका विषयहरू सबैसँग सहमत हुनुपर्छ भन्ने छैन। तर उनले आफ्नो समयलाई आफ्नै दृष्टिकोणबाट अभिलेखित गरे। पत्रकारितामा यही नै एउटा पत्रकारको स्थायी योगदान हो- आफू बाँचेको समयलाई शब्दमा छाडेर जानु।

उनको विचारसँग असहमत हुनु र लेखनको वजन नियाल्नु भिन्न कुरा हुन्। गौतम आफ्ना मान्यतामा स्पष्ट थिए र स्पष्टता नै उनको शैली थियो। उनको महत्त्वपूर्ण कृतिमध्ये ‘राष्ट्रवादको आलोकमा राजा महेन्द्रको डायरी’ प्रमुख हो। यसमा राजा महेन्द्रका डायरी र तिनमा अभिव्यक्त राजनीतिक दृष्टिकोणलाई राष्ट्रवादको कोणबाट केलाइएको छ।

पुस्तक आएपछि पनि उनले महेन्द्रको राष्ट्रवाद र राज्य सञ्चालनमा उनको भूमिकाबारे बहस जारी राखे। त्यस्तै ‘श्री ५ वीरेन्द्र स्मृति ग्रन्थ’ मा उनको लेखक तथा सम्पादकका रूपमा भूमिका रहेको छ। ‘वीरेन्द्रको आँसु’, ‘वीरेन्द्रको व्यथा’, ‘वीरेन्द्र : भ्रम र यथार्थ’, ‘किन मारिए राजा वीरेन्द्र?’, ‘महेन्द्र महिमा’ र ‘राजा वीरेन्द्रको सम्झना’ जस्ता लेख तथा शृंखलामार्फत उनले राजसंस्थासम्बन्धी लेखनालई निरन्तरता दिए।

राजा महेन्द्र वा राजा वीरेन्द्रबारे लेख्दा उनी विगतको वर्णनमा मात्र रोकिँदैनथे। त्यस समयका निर्णय र घटनालाई आजको नेपालसँग जोडेर त्यसको अर्थ खोज्थे। विगत फर्केर आउँदा पनि उनी वर्तमानलाई बुझ्ने प्रयास गर्थे।

गौतम सार्वजनिक बहसमा इसाईकरणको विस्तार र पश्चिमीकरणबारे पनि बोल्थे। विभिन्न देशका उदाहरण दिँदै आक्रामक विचार प्रस्तुत गर्थे। त्यही कारण उनलाई एउटै विचारधारासँग मात्र जोडेर बुझ्नु उनको व्यक्तित्वलाई साँघुरो बनाउनु हुनेछ।

गौतमको पत्रकारिता सिंहदरबार र दलहरूको गतिविधिमा मात्र सीमित रहेन। उनको अर्को क्षेत्र परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय राजनीति थियो। दुई ठूला छिमेकी भारत र चीन, बदलिँदो विश्व शक्ति सन्तुलन, भूराजनीतिक अवस्थिति र राष्ट्रिय सुरक्षामा उनको कलम चलेको देखिन्छ।

नेपालको आन्तरिक राजनीति र बाह्य सम्बन्धबीचको सम्बन्धलाई उनी गम्भीरतापूर्वक हेर्थे। परराष्ट्र नीति समाचारमा होइन विचारमा केन्द्रित हुने समयमा पनि उनी परराष्ट्र ‘बिट’ आवश्यक छ भनेर लेख्ने थोरै पत्रकारमध्ये एक थिए।

सेना तथा सुरक्षा निकायसँगको सम्पर्क उनको पत्रकारिताको अर्को पाटो थियो। राजनीतिक नेतृत्व, दरबार, सुरक्षा संस्था र अन्तर्राष्ट्रिय मामिलालाई नजिकबाट नियाल्ने अवसरले उनको दृष्टि अरूभन्दा केही भिन्न बनाएको थियो। ।

पुरानो पुस्ताका पत्रकारमा हुने एउटा विशेषता- घटनालाई तत्कालीन समाचारभन्दा पर गएर हेर्ने बानी- उनमा प्रस्ट थियो। पछिल्ला वर्षहरूमा उमेरसँगै सानातिना रोगले सक्रियता घटाए पनि लेखनप्रतिको भोक मरेको थिएन।

राजनीतिक र समसामयिक विषयका छलफल, इतिहासका प्रसंग र राष्ट्रिय मामिलामा उनी आफ्नो दृष्टिकोणसहित उपस्थित भइरहन्थे। अन्तिम समयसम्म पनि उनी इतिहास, राजनीति र राष्ट्रिय स्वार्थसम्बन्धी विषयमा लेखिरहेका थिए। उनका लेख विभिन्न पत्रपत्रिका र अनलाइन माध्यममा छरिएर रहेका छन्।

युवराज गौतमको निधनले नेपाली राजनीतिक इतिहासका धेरै मोड नजिकबाट देखेको साक्षीको अन्त्य भएको छ। पत्रकारितामा त्यही नै स्थायी योगदान हो- बाँचेको समयलाई शब्दमा छाडेर जानु। नेपाली पत्रकारिताको एउटा लामो कालखण्डसँगै हिँडेको उनको स्मृति, राजा महेन्द्र र राजा वीरेन्द्रमाथिको उनको लेखन, राष्ट्रिय राजनीति र विदेश मामिलामाथिको उनको चासो तथा उनले बनाएको भिन्न पहिचान भने पाठक र सहकर्मीका सम्झनामा रहिरहनेछ।

उनको अन्त्येष्टि आइतबार गरिनेछ। छोरी अध्ययनका लागि बेलायतमा रहेकाले एक दिन ढिला गरी अन्त्येष्टि गर्न लागिएको पारिवारिक स्रोतले जनाएको छ। उनका पत्नी र एक छोरी छन्। अग्रज पत्रकार तथा लेखक युवराज गौतमप्रति हिमााल प्रेस परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast