सुर्खेत- जुम्लाको गुठीचौर गाउँपालिकाकी ३३ वर्षीया तिलसरा नेपालीका लागि कुपोषण कुनै तथ्यांक मात्र होइन, आफ्नै जीवनको भोगाइ हो।
१४ वर्षमै विवाह गरेकी तिलसरा १५ वर्षको उमेरमा आमा बनिन्। गर्भावस्था र सुत्केरी अवस्थामा उनले पर्याप्त पोषण पाइनन्। त्यसको असर उनका सन्तानको स्वास्थ्यमा पर्यो। उनका दुई सन्तान कुपोषित भए। एक सन्तानको त दुई वर्षकै उमेरमा गम्भीर कुपोषणका कारण मृत्यु भयो।
तिलसराको कथा त्यहीँबाट सुरु भएको थिएन। कुपोषणको जरो उनको मातृत्वभन्दा धेरै पहिल्यै गाडिएको थियोकिशोरी अवस्थामै।
महिनावारी सुरु भएपछि हरेक महिना तीनदेखि पाँच दिनसम्म उनले दूध, दही, घिउ, मासु र फलफूलजस्ता पौष्टिक खानेकुरा खान पाइनन्। महिनावारीकै कारण उनको विद्यालय छुट्यो। पढाइ छुट्दै गएपछि १४ वर्षमै विवाह भयो। त्यसको केही समयमै उनी आमा बनिन्।
तिलसराको जीवनले कर्णालीमा बाल कुपोषणलाई बच्चाको स्वास्थ्य समस्याका रूपमा हेर्न नहुने देखाउँछ। यसको सम्बन्ध किशोरी अवस्थाको पोषण, महिनावारीसँग जोडिएको खाद्य विभेद, कम उमेरमा हुने विवाह र गर्भधारण, आमाको पोषण तथा महिलामाथिको कामको बोझसँग गाँसिएको छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०७९ (सन् २०२२) अनुसार कर्णालीमा पाँच वर्षमुनिका ३६.६ प्रतिशत बालबालिका उमेरअनुसार अपेक्षित उचाइभन्दा होचा अर्थात् पुड्कोपनको समस्यामा छन्। १८.३ प्रतिशत बालबालिकाको उमेरअनुसार तौल कम छ भने चार प्रतिशतमा ख्याउटेपन देखिएको छ।
बालबालिकाको कुपोषणसँगै आमाको स्वास्थ्य अवस्था पनि चिन्ताजनक छ। सर्वेक्षणअनुसार कर्णालीमा १५ देखि ४९ वर्ष उमेरका २५.४ प्रतिशत महिलामा रक्तअल्पता देखिएको थियो। मातृ तथा शिशु स्वास्थ्यको अवस्थाले पनि कर्णालीमा कुपोषणले निम्त्याएको चुनौतीलाई थप स्पष्ट पार्छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको तथ्यांकअनुसार पछिल्लो ७ वर्षमा प्रदेशमा कुपोषणबाट ६२ जना आमाको र एक हजार दुई सय पाँचजना शिशुको मृत्यु भएको छ।
आर्थिक वर्ष २०७६/७७ मा सात जना आमाको र दुई सय आठ जना शिशुको मृत्यु भएको थियो। २०७७/७८ मा मातृ मृत्यु ११ र शिशु मृत्यु दुई सय १८ पुग्यो। २०७८/७९ मा नौ जना आमाको र एक सय ९९ जना शिशुको मृत्यु भयो भने २०७९/८० मा आठ जना आमाको र एक सय ६८ जना शिशुको मृत्यु भएको तथ्यांक छ।
आर्थिक वर्ष २०८०/८१ मा १३ जना आमाको र एक सय ३२ जना शिशुको मृत्यु भयो। २०८१/८२ मा मातृ मृत्यु नौ र शिशु मृत्यु ९९ मा झर्यो। तर २०८२/८३ मा शिशु मृत्यु पुनः बढेर एक सय ७६ पुग्यो। सो वर्ष मातृ मृत्यु भने पाँचमा झरेको छ।
मृत्युदरका केही सूचकमा सुधार देखिए पनि बालबालिकाको पोषण र आमाको स्वास्थ्यमा चुनौती कायमै छ। नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार कर्णालीमा एक वर्ष नपुग्दै हुने शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २९ छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०७९ मा यो दर ३६ थियो। त्यस्तै नवजात मृत्युदर २६ बाट २२ र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ४६ बाट ३८ प्रतिहजार जीवित जन्ममा झरेको छ।
केही सूचकमा भने सुधार भइरहेको छ। तर कुपोषणको जरो अझै सामाजिक र पारिवारिक संरचनाभित्र बाँकी नै छ।
सुर्खेतस्थित पोषण पुनःस्थापना केन्द्रमा पछिल्लो पाँच वर्षमा पाँच सय चारजना कुपोषित बालबालिका भर्ना भएका छन्। केन्द्रकी प्रमुख प्रभा सिंहका अनुसार कम उमेरमै गर्भधारण, धेरै सन्तान जन्माउने प्रवृत्ति, बालबालिकाको उचित स्याहारको अभाव, पोषणसम्बन्धी जानकारीको कमी र महिलामाथिको अत्यधिक कामको बोझ कुपोषणका प्रमुख कारण हुन्।
उनका अनुसार २० वर्षमुनिका आमाहरू कुपोषित बच्चा लिएर केन्द्रमा आउने गरेका छन्।
कर्णालीमा बालबालिकालाई दिइने खाना र उपचारमा ध्यान पुगिरहँदा बच्चालाई जन्म दिने आमाले गर्भअघि र गर्भावस्थामा कस्तो खाना पाइन्, किशोरी हुँदा उनको पोषण अवस्था कस्तो थियो, उनको विवाह कति उमेरमा भयो र गर्भधारण कति उमेरमा भयो भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छन्।
कालिकोटकी सुर्पना शाहीका अनुसार महिनावारी र सुत्केरी हुँदा महिलालाई छुट्टै राख्ने तथा केही दिन दूध, दहीलगायतका खानेकुरा नदिने चलन अझै छ। उनी भन्छिन्, उनकी छोरीहरूले समेत यही अभ्यास दोहोर्याइरहेका छन्।
महिनावारीका बेला तीनदेखि पाँच दिनसम्म पौष्टिक खाना रोकिँदा वर्षमा ३६ देखि ६० दिनसम्म महिलाको खानामा यस्तो प्रतिबन्ध हुन्छ। वर्षौँसम्म दोहोरिने यही अभ्यासलाई सामान्य परम्परा मानेर बेवास्ता गर्दा किशोरी र महिलाको पोषण अवस्थामाथि पर्ने दीर्घकालीन असर ओझेलमा पर्न सक्छ।
महिनावारी र पोषणको सम्बन्धलाई सामाजिक संरचनासँग पनि जोडेर हेर्नुपर्ने मर्यादित महिनावारी अभियानकी अभियन्ता डा. राधा पौडेल बताउँछिन्। उनका अनुसार महिनावारीसँग जोडिएका विभेदले महिलालाई कमजोर र पुरुषलाई बलियो मान्ने पितृसत्तात्मक सोचलाई पुस्तौँसम्म हस्तान्तरण गर्न भूमिका खेल्छ।
त्यसैले कर्णालीको कुपोषणलाई बच्चा जन्मिएपछि उसले पाउने खाना र स्याहारबाट मात्र बुझेर पुग्दैन। यसको कथा किशोरीको थालबाट सुरु हुन्छ र विवाह, गर्भधारण, मातृत्व हुँदै बच्चाको स्वास्थ्यसम्म पुग्छ।
एउटी किशोरीले पर्याप्त पोषण नपाउनु, महिनावारीका बेला पौष्टिक खाना नपाउनु, त्यसकै कारण विद्यालय छाड्नु, कम उमेरमै विवाह हुनु र त्यसपछि अपर्याप्त पोषणकै अवस्थामा गर्भधारण गर्नु-यी सबै अलग-अलग समस्या जस्ता देखिए पनि एउटै चक्रका कडी हुन्। त्यस चक्रको अन्तिम असर भने बच्चाको शरीरमा देखिन्छ।
कर्णालीमा कुपोषणविरुद्धको हस्तक्षेप त्यसैले बच्चाको थालबाट मात्र सुरु गरेर पुग्दैन। त्यो थालसम्म खाना पुग्नुअघि किशोरीको थालमा के थियो र आमाको शरीरले गर्भावस्थाअघि कस्तो पोषण पायो भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ।



