गत साता म जापानमा दुई दशकदेखि व्यवसाय गर्दै आएका एक गैरआवासीय नेपालीसँग गफिँदै थिएँ। उमेरले करिब ६ दशक कटिसकेका उनले कुराकानीकै क्रममा युवा व्यवसायी हरि पाण्डेको प्रसंग निकाले। उमेरमा उनी हरिभन्दा पाका थिए तर उनले पनि ‘हरि दाइ’ भने। म छक्क परेँ। अनि मैले उमेर सोधेँ। उनले भने, ‘उमेरमा म जेठो हो तर उहाँ हाम्रो हरि दाइ। म भन्छु उहाँ हामी सबैका दाइ।’
अर्को दिन त्यस्तै व्यक्तिसँग भेट भयो- आफैँले हरिको प्रसंग निकाले। उनले पनि सहजै हरि दाइ भने। अनि टोकियोमा नेपालीहरूको धेरै रेस्टुरेन्ट भएका सिनोकोबुस्थित एक होटलको टेबलमा नेपाली रेस्टुरेन्ट सञ्चालकहरू गफिइरहेको स्थानमा पुगेँ। त्यहाँ चिनजान भएपछि हरिलाई उनीभन्दा पाका व्यक्तिले पनि दाइ भनेको कस्तो-कस्तो लाग्दै थियो। अनि सोधेँ- हरि पाण्डेजी पनि व्यवसायमा जम्नुभएको छ नि जापानमा त होइन? प्रश्न झर्न नपाउँदै एकजनाले भने, ‘उहाँ त अभिभावक, यहाँ सबैको ‘हरि दाइ’।’
हामीले त नेपालमा उमेरको हिसाबमा दाइ-भाइ/दिदी-बहिनी भन्ने गरेको। त्यहाँ त कर्मको हिसाबमा सम्मान गरेर दाइ भनिने रहेछ जस्तो लाग्यो। उमेरको हिसाबले हेर्दा ‘दाइ’ भन्नुपर्ने त्यस्तो कुनै कारण थिएन। उनीहरू सबै हरिभन्दा निकै पाका थिए। तर उनको बोलीमा ‘हरि दाइ’ यति स्वाभाविक थियो, मानौँ त्यो सम्बोधनमा उमेरको कुनै हिसाब छैन। मनमा प्रश्न उठ्यो- हरिलाई किन सबैले ‘हरि दाइ’ भन्छन्?

बिस्तारै बुझ्दै गएँ, त्यो सम्बोधन उमेरको हिसाबले रहेनछ। जापानको नेपाली समुदायमा ‘दाइ’ हुनु जन्मको वर्षले मात्र तय हुँदैन रहेछ। कर्मले को जेठो छ, अनुभवले को अगाडि छ र अप्ठ्यारो पर्दा कसको काँधमा भर पर्न सकिन्छ- त्यही नै यहाँको ‘दाइ’ रहेछ।
जापान पुगेका पुराना नेपालीमध्येका एक हुन् हरि। आफूभन्दा अगाडि पुगेकाको अनुभव बोकेर पछि आउनेका लागि बाटो खुला गरिदिने। कसैलाई काम सिकाउने, कसैलाई अवसर दिने, कसैलाई साथ दिने र कसैलाई कठिन समयमा सम्हालिदिने व्यक्ति हुन् उनी।
त्यसैले उनी एक जनाका मात्र दाइ रहेनछन्। अधिकांश जो व्यवसायमा छन्, उनीहरू सबैका दाइ रहेछन्-हरि। उमेरले आफूभन्दा जेठाले पनि हरि दाइ भन्छन्। आफूभन्दा कान्छाले त स्वतः हरि दाइ। कसैका लागि उनी पुरानो साथी हुन्, कसैका लागि व्यवसायको पहिलो सहारा, कसैका लागि जापानमा अप्ठ्यारो पर्दा सम्झिने मनकारी नेपाली। यो सम्बोधनमा आत्मीयता मात्रै छैन सम्मान पनि उत्तिकै छ। र, यही ‘हरि दाइ’ सम्बोधनबाट उनको ३२ वर्षे जापान यात्राको कथा सुरु हुन्छ।
अहिले जापानको व्यस्त सहरका सडक, सपिङ मल वा विमानस्थल हुन- नेपाली भेटिनु सामान्य भइसकेको छ। तीन दशकअघि भने अवस्था त्यस्तो थिएन। जापानमा नेपालीको संख्या निकै कम थियो। को कहाँ छ भन्ने जानकारी राख्न सकिने समय थियो।
त्यही समयमा चितवनको पिठुवाबाट एउटा युवक अवसर खोज्दै बाहिर निस्कियो। हालको रत्ननगर नगरपालिका-१४, पिठुवाको जनजागृति माध्यमिक विद्यालयबाट विद्यालय शिक्षापछि हरि पाण्डे भारततिर लागे। उद्देश्य थियो- केही सिक्ने, अध्ययन पूरा गर्ने र आफ्नो भविष्य बनाउने।

उनको जन्म सम्पन्न परिवारमा भएको थियो। पितापुर्खाले छाडेको सम्पत्तिमा बसेर पनि जीवन सहजै बिताउन सकिन्थ्यो। तर उनको मनले त्यो बाटो रोजेन। सानैदेखि आफ्नै कर्मले केही गर्नुपर्छ भन्ने सोच थियो। विद्यालयमा पढ्दादेखि नै उनको स्वभाव केही भिन्न थियो। अन्याय सहन नसक्ने। कसैले अनाहकमा कुरा लगायो वा गफ दियो भने ‘हावा गफ नगर’ भनेर भनिहाल्ने। कुरा बढे प्रतिवाद गर्न पनि पछि नहट्ने। गलतलाई गलत भन्न सक्ने र अन्यायका अगाडि चुप लागेर नबस्ने स्वभाव।
उनी पढेको विद्यालयसँग उनको पारिवारिक सम्बन्ध पनि गहिरो थियो। प्रधानाध्यापकदेखि प्राथमिक तहसम्म पढाउने शिक्षकहरूमध्ये धेरै उनका काका, मामा, भान्जालगायत घरवरपरका आफन्त थिए। त्यसैले विद्यालय उनका लागि पढ्ने ठाउँ मात्र थिएन, आफ्नै घरआँगनको विस्तारित संसार थियो।
त्यही विद्यालयबाट निस्किएको विद्यार्थी भारत पुग्यो। होटलसम्बन्धी प्रशिक्षण लियो। केही नयाँ सिक्यो। अनि त्यही सीप र केही आफ्नै गर्ने हुटहुटी बोकेर जापान पुग्यो र आफ्नो व्यवसाय सुरु गर्यो। अहिले सयभन्दा बढी नेपाली र विदेशीलाई जापानमा रोजगारी दिइरहेका छन्, हरि दाइ।
तीन दशकअघि जापान पुग्दा उनको अगाडि नयाँ संसार थियो। नयाँ देश। नयाँ भाषा। नयाँ संस्कृति। नयाँ काम। सबै कुरा अपरिचित। तर हरिले अपरिचितपनलाई डर मानेनन्। अवसर माने। भारतमा सिकेको सीप, अध्ययन र आत्मविश्वास जापानमा प्रयोग गर्न थाले। हस्पिटालिटी क्षेत्र अर्थात् होटल र रेस्टुरेन्ट उनको कर्मको मुख्य क्षेत्र बन्यो। एउटा कामले अर्को कामको ढोका खोल्दै गयो। एउटा अनुभवले अर्को अवसर जन्माउँदै गयो।
समय बित्दै गयो। काम बढ्दै गयो। व्यवसाय फैलिँदै गयो। कोभिडको समयमा अलिकति तलमाथि भयो। यद्यपि कोभिडको असर सकिएपछि उनले फेरि व्यवसायलाई माथि उकासे। मसला डाइनिङ, मसला स्टेसन, लोटस लङ, लोटस गार्डेन, कोलोनियल लङ, कोलोनियल गार्डेन र ओरिएन्टल टेरेस लोटसलगायतका व्यवसायसँग उनको नाम जोडिन्छ।
जापानका विभिन्न स्थानमा फैलिएका यस्ता व्यवसायको संख्या एक दर्जन आसपास पुगेको उनका निकटस्थ बताउँछन्। उनले कैयौँ स्थानमा आपा होटल (जुन जापानमा निकै चर्चित र अधिक चेन भएको होटल मानिन्छ) मा समेत रेस्टुरेन्ट चलाइरहेका छन्।

टोकियोको सिन्जुकुस्थित आपा होटल कबुकिचो चुओको पहिलो तलामा रहेको ओरिएन्टल टेरेस लोटस उनको व्यावसायिक यात्रासँग जोडिएको एउटा परिचित नाम हो। तर पाण्डे आफैँ भने आफ्ना व्यवसायको संख्या गनेर बस्न चाहँदैनन्। कति व्यवसाय छन्? कहाँ-कहाँ छन्? कति लगानी छ? यस्ता प्रश्न उनका लागि खासै महत्त्वपूर्ण देखिँदैनन्।
उनी आफ्नो काम र आफूले फैलाएको व्यवसायको चर्चा गर्न रुचाउँदैनन्। आफ्नो भिजिटिङ कार्डमा सबै व्यवसायको परिचय राखेका छैनन्। त्यो कार्डसमेत सहजै उपलब्ध गराउँदैनन्। उपलब्धिलाई ठूलो बनाएर प्रस्तुत गर्नु उनको स्वभाव होइन। उनको विश्वास सरल छ- ‘काम गर्दै जाँदा बढ्दै जाने हो। यसलाई सामान्य रूपमा लिनुपर्छ।’
अरूको उडानमा खुसी हुने हरि दाइ
हरि पाण्डेको कथा उनको व्यवसायको आकारबाट मात्र बुझिँदैन। बरु उनको वरिपरि रहेका मानिसको कथा सुन्दा उनको वास्तविक परिचय भेटिन्छ। उनीसँग लामो समय काम गरेका नेपाली हुन् वा विदेशी- धेरैका लागि उनी रोजगारदाता भएर सीमित रहेनन्। कसैले उनीसँग काम सिके। कसैले व्यवसायको अनुभव लिए। तीमध्ये कैयौँले भिन्न अवसर पाए। कसैले लगानीको सहारा पाए। कसैले कठिन समयमा साथ पाए र कतिपयले त उनीसँग काम गरेर पछि आफ्नै रेस्टुरेन्ट वा बार सुरु गरे।
व्यवसायमा एउटा सामान्य सोच हुन्छ- आफूसँग काम गर्ने मानिसले एक दिन छाडेर जान्छ भने त्यो आफ्नो क्षति हो। तर पाण्डेको सोच त्यसभन्दा भिन्न छ। उनीसँग काम गरेको मानिस एक दिन आफ्नै खुट्टामा उभियो भने उनी त्यसलाई आफ्नो हार मान्दैनन्। बरु आफूले सिकाएको मानिसले आफ्नै संसार बनाउन सकेकोमा खुसी हुन्छन् र सहयोग गरेर त्यसलाई थप सहारा दिन्छन्।
त्यसैले उनका वरिपरि काम गरेका धेरै मानिस अहिले जापानका विभिन्न ठाउँमा आफ्नै व्यवसाय गरिरहेका छन्। कसैलाई उनले लगानी दिए। कसैलाई काम सिकाए। कसैलाई अवसर दिए। कसैलाई बाटो देखाए र कतिपयलाई कठिन अवस्थामा सहयोग र उद्धारसमेत गरे। उनको व्यवसायको एउटा सुन्दर पक्ष यही हो- उनले आफू उभिएको ठाउँलाई अरूका लागि पनि भर्याङ बनाए।

उनले आफ्ना परिवारका मात्र होइन, कसैले साह्रै दुःख देखाएमा उनको परिवारको कसैलाई जापानम रहेको आफ्नै व्यवसायमा लगेर रोजगारी दिने कामसमेत गरेका छन्। नेपालबाट जापान जाने नेपालीको संख्या बढ्दै गएसँगै उनीसँग सम्पर्कमा आउनेको संख्या फराकिलो हुँदै गयो। धेरै नेपालीले जापान पुगेपछि उनलाई कुनै न कुनै रूपमा भेटे।
कसैलाई उनले नेपालमै चिनेका थिए। कसैसँग जापान आएपछि चिनजान भयो। कसैलाई साथीले लिएर आए। कसैलाई अप्ठ्यारो पर्दा आफैँले खोजेर साथ दिए। आफ्ना स्कुले साथीहरूलाई समेत जापान ल्याए। परिवारका सदस्यहरूलाई पनि व्यवसायमा जोड्दै गए। त्यसैले उनको संसार केवल व्यापारिक साझेदारको संसार रहेन। त्यसमा साथी छन्, परिवार छन्, सहकर्मी छन् र आफूलाई विश्वास गर्ने धेरै मानिस छन्।
नेपालबाट जापान जाने व्यवसायी, कलाकार, राजनीतिज्ञ, सरकारी अधिकारीदेखि विभिन्न क्षेत्रका नेपालीहरू पनि उनीसम्म ठोकिने रहेछन्। हरि दाइ कुनै पनि भेटघाटलाई प्रचारको विषय बनाउँदैनन्। कसैसँग फोटो खिचियो, कसैसँग भेट भयो वा कुनै चर्चित व्यक्तिले उनको रेस्टुरेन्ट, होटल, पब, क्लबमा खाना खायो भन्दै सामाजिक सञ्जालमा आफ्नो प्रभाव देखाउने उनको बानी छैन। उनीसँग डिनर वा लन्चका लागि विगतका राजदूत वा उच्च अधिकारी राजा भन्दै जाने मात्र होइन नेपालबाट जाने भीभीआईपीहरु पनि पुगेका हुने उनका साथीहरु सुनाउँछन्।
नेपालमा लगानी गर्न उनलाई पटकपटक प्रस्ताव आएका छन्। केही प्रस्ताव उनले स्वीकार पनि गरेका छन्। नेपालका केही ठाउँमा उनको लगानी रहेको बताइन्छ। तर कहाँ कति लगानी छ भन्ने कुरा उनी सार्वजनिक रूपमा बताउन चाहँदैनन्। उनी भन्छन – नेपालमा पनि यसो साथीभाइसँग संलग्न छु तर म खासै लगानीकर्ता होइन साथीहरुसँगको सहकार्य र उत्साह हो।
उनलाई लाग्छ- कामको आवाज आफैँ सुनिनुपर्छ, त्यसका लागि प्रचारको माइक चाहिँदैन। यही स्वभावले उनलाई अरूभन्दा भिन्न बनाएको छ। उनी आफू कर्म गर्ने र अरूलाई पनि कर्ममा उत्साहित गर्ने व्यक्तिका रूपमा परिचित छन्। त्यसैले उनीसँग काम गरेका धेरै मानिसले आज पनि उनलाई ‘हरि दाइ’ भनेर सम्झन्छन्। त्यो ‘दाइ’मा उमेरभन्दा बढी विश्वास छ।
राजनीति होइन, कर्ममा रमाउनुपर्छ
सबैका दाइ बनेको हरिसँग एउटा सरल दर्शन छ। उनी भन्छन्, यहाँ अर्थात जापानमा राजनीति होइन, कर्ममा विश्वास गर्छन्। गैरआवासीय नेपाली भन्ने वित्तिकै एनआरएनए भनेर बुझ्छन्। त्यो गलत हो। गैर आवासीय नेपाली भनिनु र गैर आवासीय नेपालीसंघमा जोडिनु फरक कुरा हो। विदेशमा लामो समय बिताउने मानिसका लागि एनआरएनए र त्यससँग जोडिएका बहसबाट पूर्ण रूपमा अलग रहन सजिलो छैन। हरि पाण्डे पनि त्यसबाट अलग थिएनन्।
गैरआवासीय नेपाली संघको नेतृत्वमा भवन भट्ट आउने समयसम्म उनी एक प्रकारको मेकरका रुपमा सक्रिय थिए। भट्टलाई नेतृत्वमा ल्याउने प्रयासमा पाण्डेले गरेको भूमिका जापानको नेपाली समुदायमा अहिले पनि चर्चा हुँदो रहेछ। तर समयसँगै एनआरएनएको आन्तरिक राजनीति र त्यसमा देखिएको विचलनले उनलाई आघात परेको छ। विस्तारै उनी त्यसबाट टाढा हुँदै गएका छन्।
अहिले उनी एनआरएनएको पद, राजनीति वा संस्थागत विवादमा खासै रुचि राख्दैनन्। तर तलमाथि गर्न खोजेमा उनी चुप भने बस्दैनन्। उनको बुझाइ सरल छ- विदेशमा बसेका सबै नेपाली गैरआवासीय नेपाली हुन्। सदस्यताको बहस र राजनीतिक खिचातानीभन्दा आफ्नो काम गर्नु, समस्यामा परेकालाई सक्दो सहयोग गर्नु र आफूले सकेको ठाउँमा मानिसलाई अघि बढाउनु महत्त्वपूर्ण हो।
जन्मपछि डेढ दशकजति मात्र मातृभूमिमा बिताएका पाण्डेका लागि जापान अब कर्मभूमि मात्र होइन, जीवनको ठूलो हिस्सा बनेको छ। उनको विवाह पनि जापानीसँग नै भयो। मानिसहरू आउँछन्। जान्छन्। सम्बन्धहरू बन्छन्। कतिपय टुट्छन्। व्यवसाय उठ्छन्। कतिपय फेरिन्छन्। तर केही कुरा बाँकी रहन्छन्- अनुभव, सम्बन्ध, विश्वास र कर्म।
हरिको जीवनमा पनि सायद यही कुरा सबैभन्दा लामो समय बाँचेका छन्। उनी त्यही विश्वासमा अघि बढे। उनलाई दाइ भन्नेहरूले जापानमा बसेर अहिलेको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अघि बढाएको हो। जापान रास्वपाको रणनीतिक जन्मस्थल नै भन्दा हुन्छ। तर त्यसमा उनको कुनै तुजुक छैन। नयाँ आए, काम गरे राम्रो हुन्छ, नगरे फेरि अर्को आउँछ, यो चक्र न हो, उनी भन्छन्। किनकी उनले भुइँ मानिसदेखि राष्ट्र प्रमुखसम्मका कुरा सुनेका छन्। उनीहरुको नाडी छामेका छन्।

व्यवसायभन्दा बाहिर उनको संसार अझ सरल छ। पुस्तक पढ्न रुचाउँछन्। राम्रा चलचित्र हेर्न र साथीभाइसँग घुम्न निस्कन मन पराउँछन्। आफन्तलाई समय दिन्छन्। परिवारको कार्यमा रुचि राखेर जमघटमा रमाउँछन्। अनि सानैदेखि मनपर्ने यसो म्युजिक भिडियोमा खेल्ने, मोडलिङ गर्ने, गीत लेख्ने उनी अहिले पनि गर्छन्। दर्जनबढी म्युजिक भिडियो पनि खेलेका छन्, उनले। नेपालीमात्र हाेइन उनले हिन्दी र जापानीमा समेत मोडलिङ गरेका छन्।
नेपालमा नाम चलेका हिरोइनहरू उनले अभिनय गरेका म्युजिक भिडियोमा अभिनय गरेका छन्। हिन्दी गीतमा पनि उनको अभिनय प्रशंसनीय नै छ। उनले जापानमा र नेपालमा मात्र होइन, अन्य देशमा पुगेर पनि भिडियोमा मोडलिङ गरेका छन्। नेपालका धेरैजसो भूभाग उनले घुमिसकेका छन्। देशका विभिन्न ठाउँसँग उनको परिचय छ।
सुदूरपश्चिम अझै उनको यात्राको अधुरो पाना हो। त्यसैले अब त्यहाँ पुग्ने इच्छा व्यक्त गर्छन्। अब नेपालमा म्युजिक भिडियोमा रम्न पाए भने त्यही क्षेत्रमा जाने हो। उनलाई फिल्मका लागि पनि कैयौँ अफर आएका छन्, तर उनले त्यो आफ्नो पाटो नभएको र सोखका लागि म्युजिक भिडियो गरेको भन्दै पन्छाउँदै आएका छन्। तर उनी छोटो समयमा सकिने सानो भूमिका भने निर्वाह गर्न सक्छन्।
हरि दाइ नेपाल आउँदा अन्य स्थान र जन्मस्थल पुग्दा प्रायः हेलिकप्टर प्रयोग गर्छन्। एक पटक मौसम खराब भएका कारण समस्यामा परेपछि भने सडक यात्रामा रम्न थालेको पनि सुनाउँछन्। सायद यात्राको चाहना पनि उनको स्वभावसँग मिल्छ- एक ठाउँमा अडिएर आफूलाई पूर्ण ठान्ने होइन, नयाँ ठाउँतिर जाने, नयाँ मानिस भेट्ने र नयाँ अनुभव बटुल्नेमा होइन नयाँ स्थानमा पनि रैथाने झैँ भिजेर मजा लिने गर्छन्, उनी।
हरिको जीवनमा कुनै ठूलो दाबी सुनिँदैन। उनी भन्दैनन्- मैले यति व्यवसाय बनाएँ। यसो गरेँ। अब यो गर्छु। उनीमा त्यो देखिँदैन। उनी सानो हुँदाका कुराहरू गर्न, गाउँको विषय सुन्न रमाउँछन्। तर उनी राजनीति वा अन्य ठूला कुरा गर्नेलाई रुचाउँदैनन्। उनी आफू पनि कम बोल्ने तर सटिक उत्तर दिने बानी भएर होला, अनावश्यक बोलीरहने, आफूलाई ठूलै व्यक्तिका रूपमा प्रस्तुत गर्नेलाई खासै वास्ता गर्दैनन्। त्यस्तासँग उनी रम्दैनन् र भन्छन- सबैकाे आफ्नै शैली हुन्छ।

उनको भनाइको सार एउटै छ- काम गर्दै जाँदा त्यो बढ्दै जाने हो। यसलाई सामान्य रूपमा लिनुपर्छ। अनि कर्ममा रम्नुपर्छ।
सायद उनको जीवनलाई यही एउटा वाक्यले सबैभन्दा राम्रोसँग बुझाउँछ। उनी ठूलो देखिन खोज्दैनन्। काम गर्छन्। आफू अघि बढ्छन्। अरूलाई पनि अघि बढाउँछन्। बाँकी कुरा समयलाई छाडिदिन्छन्।
यही कारण उनको कथा हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट, होटल, पब वा बारको संख्या गन्ने कथा होइन। यो मानिसको साथ कमाउने कथा हो। सम्पत्ति कमाउनेभन्दा बढी सम्बन्ध कमाउने व्यक्ति हुन् उनी। आफ्ना लागि बाटो बनाउनेभन्दा अरूका लागि पनि बाटो छाडिदिने व्यक्ति। त्यहाँको समुदायसँग छलफल गरेपछि निस्कने निष्कर्ष नै यही हो हरि दाइप्रति।
तीन दशकभन्दा बढी समय विदेशमा बिताएर पनि आफ्नो मातृभूमि, आफ्ना साथी, आफ्ना मानिस र आफ्ना सम्बन्धलाई मनमा बोकेर हिँड्ने एउटा गैरआवासीय नेपाली हुन्, उनी। जापानको नेपाली समुदायमा उमेरले होइन, कर्मले को जेठो भन्ने एउटा मौन भाषामा हरि पाण्डे धेरै अगाडि छन्। त्यसैले उमेरले आफूभन्दा पाका मानिसले पनि उनलाई सम्मानपूर्वक भन्छन्-‘हरि दाइ।’ उमेरले कान्छाहरूले त स्वतः भन्छन्-‘हरि दाइ।’
कसैका लागि साथी, कसैका लागि सहयात्री, कसैका लागि रोजगारदाता, कसैका लागि लगानीकर्ता, कसैका लागि कठिन समयमा सम्झिने मानिस। तर सबैका लागि एउटै परिचय- हरि दाइ। सायद ३२ वर्ष जापानमा बसेर उनले कमाएको सबैभन्दा ठूलो सम्पत्ति यही हो- मानिसको विश्वास, मानिसको सम्मान र मानिसले दिएको एउटा आत्मीय सम्बोधन- सबैका दाइ हरि!!
हेरि दाइका केही म्युजिक भिडियो



