कांग्रेस बैठक : क्रियाशील अद्यावधिक नगरेकाहरू पनि महाधिवेशनमा सहभागी हुन पाउने

हिमाल प्रेस २१ भदौ २०८३ २१:०७ | Sunday, September 6, 2026
कांग्रेस बैठक : क्रियाशील अद्यावधिक नगरेकाहरू पनि महाधिवेशनमा सहभागी हुन पाउने फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भोटेकोशी बाढीपहिरोपछिको उद्धार, राहत तथा पुनर्निर्माणमा पार्टी पंक्तिलाई थप सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठक विपद् व्यवस्थापन, आसन्न १५औँ महाधिवेशन र राष्ट्रिय राजनीतिका समसामयिक विषयहरूमा केन्द्रित रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएको छ।

बैठकले बाढीपहिरो प्रभावित क्षेत्रहरूमा सरकारलाई आवश्यक नीतिगत तथा व्यावहारिक सुझाव(सल्लाह दिने र पार्टीको तर्फबाट भइरहेका उद्धार तथा राहत कार्यलाई थप तीव्रता दिने निर्णय गरेको छ।

यसका लागि पार्टीका सबै तहगत संरचना, भ्रातृ संस्था तथा शुभेच्छुक संगठनहरूलाई प्रभावित बस्तीहरूमा खटाएर नागरिकको सेवामा समर्पित गराइने प्रवक्ता चालिसेले बताए।

साथै, संयुक्त राष्ट्रसंघको आसन्न महासभामा नेपालको तर्फबाट उठाउनुपर्ने जलवायु न्याय, विपद् व्यवस्थापन र राष्ट्रिय हितका एजेन्डाहरूबारे प्रधानमन्त्री वालेन्द्र शाहलाई औपचारिक रूपमा सुझाव दिने निर्णयसमेत बैठकले गरेको छ।

भोटेकोशी बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका विभिन्न जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएकाले यही भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशनको मितिमा पुनर्विचार गर्न बैठकले निर्वाचन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ।

विपद्को यस कठिन घडीमा पार्टीको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा र राहतमा केन्द्रित हुनुपर्ने भएकाले अधिवेशनको कार्यतालिकालाई आवश्यकताअनुसार समायोजन गर्नुपर्ने निष्कर्षमा कार्यसम्पादन समिति पुगेको हो।

यसैबीच, पार्टीभित्रको बृहत्तर एकता र सबैको सहभागितालाई सुनिश्चित गर्दै बैठकले १५औँ महाधिवेशनका सन्दर्भमा अर्को महत्त्वपूर्ण निर्णय गरेको छ।

पार्टीको अनुशासन उल्लंघन गरेका, पार्टी परित्याग गरेका र निधन भएका बाहेक पन्ध्रौ महाधिवेशनका लागि नवीकरण गरे पनि अध्यावधिक नगरेकाहरूलाई महाधिवेशनमा सहभागी हुनदिने निर्णय बैठकले गरेको छ।

यस निर्णयले कानुनी अन्योल वा प्रक्रियागत ढिलाइले रोकिएका नेता(कार्यकर्ताहरूलाई महाधिवेशनमा जोड्दै ुसग्लो कांग्रेस निर्माणमा ठूलो बल पुग्ने विश्वास गरिएको छ।

प्रकाशित: २१ भदौ २०८३ २१:०७ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast