काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरुलाई महाधिवशेन प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पूर्वसभापति शेरबहादुर देउवा, शेखर कोइराला, शशांक कोइराला, पूर्णबहादुर खड्कालगायतका सबै शीर्ष नेताहरूलाई अधिवेशनमा सहभागी हुन अनुरोध गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकले व्यवस्थापन समितिले तयार पारेको मतदाता नामावली अनुमोदन गरेको छ। अनुमोदन गरिएको नामावली अब केन्द्रीय निर्वाचन समिति मार्फत जिल्लाजिल्लामा पठाइने प्रवक्ता चालिसेले बताए।
बैठकले सानातिना कुरामा नअल्झिई पार्टी जगाउने अभियानमा लाग्न आह्वान गरेको उनले जानकारी दिए। उनले यसअघिको महाधिवशेनबाट निर्वाचित पुराना पदाधिकारीहरू पनि हाल केन्द्रीय सदस्यकै हैसियतमा रहने गरी सहभागी गराइने स्पष्ट पारे।
संस्थापन पक्षले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका केन्द्रीय सदस्यहरूलाई त्यही हैसियतमा सहभागी गराउने निर्णय गरेपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकमा निवर्तमान सभापति शेरबहादुर देउवानिकट नेताहरू पनि सहभागी भएका थिए।
उनले पूर्वसभापति देउवाकै हातबाट अधिवेशनको उद्घाटन गराउने प्रयास र अनुरोध भइरहेको भन्दै कुनै पनि अग्रज नेताको सम्मानमा कमी हुन नदिने धारणा राखे।
प्रवक्ता चालिसेले लोकतन्त्रमा फरक मत हुनु स्वाभाविक भए पनि त्यसलाई मतमा बदल्ने ठाउँ अधिवेशन नै भएकाले आगामी १६ गतेसम्म सबै नेताहरू खुला मञ्चमा एकजुट भएको सन्देश जनतामाझ पुग्ने विश्वास व्यक्त गरे।


