बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम

हिमाल प्रेस २१ भदौ २०८३ २०:२७ | Sunday, September 6, 2026
बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम

काठमाडौँ- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स‌ंक्रामक रोगको जोखिम बढेको छ। दूषित पानी, फोहर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम उच्च हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिएका छन्।

बाढीको पानी वा बाढीले छोएको पानी पिउनाले झाडापखाला, हैजालगायतका पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले विज्ञले सतर्क रहन आग्रह गरेका हुन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु काठमाडौँका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार विपद्मा एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाइमा ध्यान दिनु हो।

उनी भन्छन्, ‘बाढीबाट प्रदूषण फैलिएको हुन्छ। खानेपानी दूषित हुने, खानेकुरामा संक्रमण फैलिने तथा घर बाहिर बस्नुपर्ने अवस्थाका कारण कीटजन्य रोग तथा छालामा संक्रमणको जोखिम हुन सक्छ।’

चालिसे व्यक्तिगत सरसफाइ, खानेपानीको अवस्था, खानाको स्वच्छतामा ध्यान दिनुका साथै शुद्धीकरण गरेको पानी पिउनुपर्ने सुझाव दिन्छन्। यस्तो अवस्थामा दूषित पानी र फोहर खानाका कारण झाडापखाला र हैजा तीव्ररुपमा फैलिन सक्छ। टाइफाइड र हेपाटाइटिस ‘ए’ तथा ‘ई’ जस्ता रोगको संक्रमण पनि हुन सक्छ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन विपद्को समयमा कीटजन्यभन्दा पनि सुरुवाती दिनमा पानीजन्य रोगको बढी सम्भावना रहने बताउँछन्।

उनका अनुसार मुख्यतः अहिले व्यक्तिगत सरसफाइमा नै ध्यान दिनुपर्ने हुन्छ। उनी भन्छन्, ‘मुख्य भनेको स्वच्छ खानेपानी र खानेकुरा हो। राम्ररी हात धुने र व्यवस्थित शौचालय प्रयोग गर्दा धेरै रोगबाट बच्न सकिन्छ।’

डा. पुन यसबाट विशेषतः बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीघरोग भएका बिरामीलाई जोगाउनुपर्ने बताउँछन्। उनकाअनुसार शवलाई लामो समयसम्म व्यवस्थापन गर्न सकिएन भने त्यसबाट विभिन्न प्रकारका महामारी निम्तिन सक्ने जोखिम रहन्छ।

उनी त्यहाँ उत्पन्न हुने प्रदुषित वातावरणले झाडापखाला, हैजालगायतका रोगहरु निम्त्याउन सक्ने बताउँछन्।

विपद् प्रभावित क्षेत्रमा पुगिरहेका उद्धारकर्ता तथा राहत वितरणमा गएकाहरुले पनि सरसफाइमा ध्यान नदिने हो भने विभिन्न संक्रामक रोग फैलिन सक्ने जोखिम रहेको पुनको भनाइ छ।

उनी भन्छन्, ‘प्रभावित क्षेत्रमा धेरै नागरिक पुगिरहेको अवस्था छ। उहाँहरुले पनि मास्क लगाउने, सरसफाइमा ध्यान दिने, शौचालयको उचित प्रयोग गर्ने गर्नुपर्छ। नभए उहाँहरु नै रोग सार्ने माध्यम बन्न सक्नुहुन्छ।’

यस्तै बाढी प्रभावित जिल्लामध्येको नुवाकोटको विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरको खानेपानीको नमुना लिने क्रममा १५ वटा पिउने पानीका नमुनामध्ये पाँचवटामा ईकोलीको संक्रमण भेटिएको छ।

जनस्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी कृष्ण रिजालले विदुर नगरपालिकाको त्रिशूली नदी पारीतर्फको ४ होल्डिङ सेन्टरमा प्रयोग भइरहेको खानेपानीको नमूना लिने क्रममा एउटामा इकोली भेटिएको र त्रिशूली वारितर्फको ११ वटा होल्डिङ सेन्टरमध्ये चार वटा पानीको मुहानमा इकोली पाइएको बताए।

उनकाअनुसार खानेपानीको ट्यांकर र धाराको पानीमा उक्त जीवाणु भेटिएको हो।

सूचना अधिकारी रिजालका अनुसार उक्त खानेपानीको स्रोतलाई निर्मलीकरण गरेर खानयोग्य बनाइसकिएको र जोखिमको अवस्था छैन।

उनले भने, ‘दूषित भएको पानीलाई खानयोग्य बनाउन शुद्धीकरण गरिसकिएको छ र सबैलाई पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न सुझाव दिएका छौँ।’

प्रकाशित: २१ भदौ २०८३ २०:२७ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast