काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलप्रति लक्षित तीखा टिप्पणी गरेका छन्। पोखरेल पनि रास्वपाकै नेता हुन्।
सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले शिक्षामन्त्रीलाई देशकै सबैभन्दा ठूलो ‘नेपोबेबी’ भएको आरोप लगाए। ‘शिक्षामन्त्रीभन्दा ठूलो नेपोबेबी यो देशमा कोही छैन। छ भने मलाई देखाइदिनुस्। चाहे मामावलीपट्टि हेर्नुस्, चाहे बुबापट्टिबाट हेर्नुस्,’ सिंहले भने।
सिंहले विश्वविद्यालयहरू स्वायत्त संस्था भएकाले ती आफ्नै ऐन र नियमअनुसार सञ्चालन हुनुपर्ने बताए। विश्वविद्यालय शिक्षा मन्त्रालयको शाखा कार्यालय नभएको उल्लेख गर्दै उनले मन्त्रालयको हस्तक्षेपप्रति असन्तुष्टि व्यक्त गरे।
‘विश्वविद्यालयहरू आफैँमा स्वायत्त संस्था हुन्। विश्वविद्यालयका आफ्नै ऐन र नियम छन्। शिक्षा मन्त्रालयको शाखा कार्यालय होइन। शिक्षाको त नाश नै भयो,’ उनले भने।


