प्रदेश विश्वविद्यालयको विकास र शैक्षिक सुधारमा साझा रणनीति खोजिँदै

हिमाल प्रेस १२ कार्तिक २०८३ १२:५३ | Thursday, October 29, 2026
6
SHARES
प्रदेश विश्वविद्यालयको विकास र शैक्षिक सुधारमा साझा रणनीति खोजिँदै

काठमाडौँ- संघीय संरचनाअनुसार शिक्षा क्षेत्रको विकासलाई प्रभावकारी बनाउने, प्रदेश विश्वविद्यालयहरूको संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा उच्च शिक्षाको गुणस्तर सुधार गर्ने विषयमा साझा रणनीति तय गर्न हेटौँडामा प्रदेशस्तरीय शैक्षिक सम्मेलन सुरु भएको छ।

संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको सम्मेलनमा सातै प्रदेशका शिक्षा तथा सामाजिक विकासमन्त्री, प्रदेश विश्वविद्यालयका पदाधिकारी, सरकारी अधिकारी तथा शिक्षा क्षेत्रका विज्ञहरू सहभागी छन्।  सम्मेलन कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ।

बागमती विश्वविद्यालयका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर विशिष्ट अतिथिका रूपमा सहभागी छन्। उद्घाटन सत्रमा अध्यक्ष पौडेलले उच्च शिक्षाको वर्तमान अवस्था, विकासका सम्भावना तथा सुधारका आवश्यकताबारे प्रस्तुति दिए।

पहिलो दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले आआफ्नो प्रदेशमा शिक्षा क्षेत्रमा भएका प्रगति, असल अभ्यास र विद्यमान समस्याबारे धारणा राख्ने कार्यक्रम छ।

शिक्षा क्षेत्रमा संघ र प्रदेशबीचको समन्वय, संघीयता कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक कठिनाइ, प्रदेश विश्वविद्यालयहरूको संस्थागत विकास तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि सम्मेलनका प्रमुख छलफलका विषय रहेका छन्। त्यस्तै, विश्वविद्यालयहरूको क्षमता विकास, शैक्षिक स्रोतको उपयोग र प्रदेशहरूबीच ज्ञान तथा अनुभव आदानप्रदानका सम्भावनाबारे पनि विमर्श गरिनेछ।

शिक्षा क्षेत्रका साझा समस्याको पहिचानसँगै तिनको समाधानका लागि संघ, प्रदेश र विश्वविद्यालयबीच समन्वित प्रयास अघि बढाउने विषयलाई समेत प्राथमिकता दिइने जनाइएको छ ।

दुईदिने सम्मेलनबाट उच्च शिक्षाको विकासका लागि साझा प्राथमिकता निर्धारण, प्रदेशहरूबीच सहकार्यका क्षेत्र पहिचान तथा आगामी दिनमा अवलम्बन गर्न सकिने नीतिगत र व्यावहारिक उपायबारे साझा धारणा निर्माण हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १२:५३ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast