नेपालमा प्रत्येक वर्ष मस्तिष्कघातबाटै ५० हजारभन्दा बढीले ज्यान गुमाउँछन्

हिमाल प्रेस १२ कार्तिक २०८३ १३:४३ | Thursday, October 29, 2026
2
SHARE
नेपालमा प्रत्येक वर्ष मस्तिष्कघातबाटै ५० हजारभन्दा बढीले ज्यान गुमाउँछन्

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेका छन्।

विश्व मस्तिष्कघात दिवसका सन्दर्भमा नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष राजु पौडेलले यस्तो तथ्य प्रस्तुत गरेका हुन्।

‘हरेक मिनेट महत्वपूर्ण हुन्छ’ नाराका साथ आज नेपालमा पनि मस्तिष्कघातका दिवस मनाउन लागिएको छ। नेपालमा प्रत्येक १० मिनेटमा एक जनामा मस्तिष्कघात हुने गरेको पाैडेलले बताए।

‘मस्तिष्कघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ, मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ, त्यसैलाई मस्तिष्कघात भनिन्छ,’ उनले भने।

नेपालमा मस्तिष्कघातको वर्तमान अवस्था र उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल पक्षघात सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम हुँदै आएको छ। डा. पौडेल मस्तिष्कघातको उपचारका लागि अन्तरराष्ट्रिय मापदण्ड तय गरिँदै आएको बताए।

सङ्घले जर्मनीको हाइडलबर्गको युनिभर्सिटी हस्पिटलसँग पक्षघात सहकार्य गर्दै आएको छ। त्यसैगरी, जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा मस्तिष्कघातसम्बन्धमा काम गर्दै आएको छ।

डा पौडेल मस्तिष्कघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए। ‘विश्वमा हरेक चार जनामा एक जनालाई र तीन सेकेन्डमा एक जनालाई पक्षाघातको सम्भावना हुन्छ, यसबाट सजग हुनुपर्छ’, उनले भने।

विश्वभर प्रत्येक वर्ष मस्तिष्कघातका कारण एक करोड २० लाख मानिस प्रभावित हुँदै आएका छन्। प्रभावितमध्ये ५० प्रतिशतको मस्तिष्कघातका कारण मृत्यु हुने गरेको डा पौडेलले बताए।

नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा मस्तिष्कघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उनको भनाइ छ। नेपालमा अहिले मस्तिष्कघात भएकामध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको बताइन्छ।

उनका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ।

सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षघातको लक्षण भएको र यस्ता लक्षण देखिए चार घण्टाभित्रै अस्पताल पुग्न सके उपचार सम्भव रहेको डा पौडेल बताए।

मस्तिष्कघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अतिरिक्त बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ। रासस

 

प्रकाशित: १२ कार्तिक २०८३ १३:४३ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast