वर्षौँसम्म अलपत्र मेची करिडोरको ठेक्का तोडियो

हिमाल प्रेस १२ कार्तिक २०८३ १५:०१ | Thursday, October 29, 2026
4
SHARES
वर्षौँसम्म अलपत्र मेची करिडोरको ठेक्का तोडियो प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- मेची करिडोरअन्तर्गत इलामको बेलासे-गोलाखर्क भञ्ज्याङ सडक खण्डको निर्माण कार्य लामो समयसम्म अलपत्र परेपछि ठेक्का सम्झौता तोडिएको छ।

 निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेको उक्त सडकको बाँकी काम पूरा गर्न नयाँ ठेक्का प्रक्रिया अघि बढाइने भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले जानकारी दिए।

इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने महत्त्वपूर्ण वैकल्पिक सडकका रूपमा रहेको मेची करिडोरको ९.५ किलोमिटर लामो बेलासे-गोलाखर्क भञ्ज्याङ सडक खण्ड निर्माणका लागि २०७८ असार २९ गते २७ करोड २२ लाख रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण कार्य २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो।

तर, पटक पटक म्याद थप गर्दै कुल ६३ महिनासम्म निर्माणका लागि समय उपलब्ध गराउँदासमेत आयोजनाले अपेक्षित प्रगति हासिल गर्न सकेन। हालसम्म सडक निर्माणको वित्तीय प्रगति ४५.२८ प्रतिशत र भौतिक प्रगति करिब ४७ प्रतिशतमा सीमित भएपछि ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरिएको हो।

सडक डिभिजन इलामले ठेक्का सम्झौतासम्बन्धी सार्वजनिक सूचना जारी गर्दै निर्माण कार्यमा भएको ढिलाइ र न्यून प्रगतिका कारण सम्झौता अन्त्य गरिएको जनाएको छ।

सम्झौता अन्त्य भए पनि सडक निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत व्यवस्थापन र बहुवर्षीय ठेक्का सहमति जुटाएर नयाँ ठेक्का प्रक्रिया शीघ्र अघि बढाइने जनाइएको छ। नयाँ प्रक्रियामार्फत अधुरो सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १५:०१ | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast