काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपास्थित बीपी स्मृति भवनमा बिहीबार आयोजित समारोहमा सभापति गगनकुमार थापाले वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।
सभापति थापाले यसअघि नै असोज ३१ गते दसैँको फूलपातीका दिन शपथ लिइसकेका थिए।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको थियो। निर्वाचनको अन्तिम परिणाम असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।

महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्।
त्यस्तै महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला पन्त निर्वाचित भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रले केन्द्रीय कार्यसमितिको आकार १६४ बाट बढाएर २९७ सदस्यीय बनाउने निर्णय गरेको थियो। यसपटक २३१ पदका लागि निर्वाचन भएको थियो भने बाँकी ६६ पदमा विधानअनुसार मनोनयन गरिने व्यवस्था छ।



