डा. प्रदीप मिश्र कांग्रेस केन्द्रीय सदस्यको आकांक्षी

हिमाल प्रेस १९ असोज २०८३ १५:२१ | Monday, October 5, 2026
2
SHARE
डा. प्रदीप मिश्र कांग्रेस केन्द्रीय सदस्यको आकांक्षी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

धनगढीमा लामो समयदेखि स्वास्थ्य सेवामा सक्रिय मिश्रले आफ्नो पेसागत अनुभवलाई पार्टीको नीति निर्माणमा उपयोग गर्दै सुलभ, सहज र गुणस्तरीय स्वास्थ्य सेवाका लागि काम गर्ने बताएका छन्।

कांग्रेस पृष्ठभूमिको परिवारमा हुर्किएका मिश्र विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघमार्फत लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए। उनका पिता नारायण मिश्र कांग्रेसका नेता तथा तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति हुन्।

सन् २००७ मा काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका मिश्रले २०१५ देखि धनगढीमा नवजात शिशु तथा बालरोग विशेषज्ञका रूपमा सेवा दिँदै आएका छन्। उपचारका क्रममा सुदूरपश्चिमका ग्रामीण तथा विपन्न नागरिकले भोगिरहेको स्वास्थ्य समस्यालाई नजिकबाट बुझेको र त्यसको समाधान व्यक्तिगत सहयोगभन्दा नीतिगत सुधारबाट सम्भव हुने उनको भनाइ छ।

‘राजनीति नै सबै नीतिको मूल नीति हो। स्वास्थ्य र सामाजिक नीतिको पुनर्संरचना राजनीतिक तहमै गर्नुपर्छ। त्यसैले विषय विज्ञका रूपमा पार्टीको नीति निर्माणमा योगदान दिन उम्मेदवारी दिएको हुँ,’ मिश्रले भने।

मिश्र नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाका पूर्वसचिव तथा पूर्वअध्यक्ष र प्रजातान्त्रिक चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका संयोजकसमेत भइसकेका छन्। उनले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री गोविन्द बोहराका विज्ञ सल्लाहकारका रूपमा पनि काम गरेका छन्।

उनले विपन्न तथा पहुँचविहीन नागरिकका लागि सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न राष्ट्रिय स्वास्थ्य नीतिमा सुधार तथा चिकित्सक, इन्जिनियर, बुद्धिजीवीलगायत पेसागत समुदायका आवाजलाई पार्टीको नीति निर्माणमा जोड्ने एजेन्डा अघि सारेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast