काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार अघि बढ्ने भन्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्।
थापाले मंगलबार अपिल जारी गर्दै सभापति थापाले असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ महाधिवेशनको प्रक्रिया वडा तहबाटै सुरु हुने भएकाले सबैलाई उत्साहका साथ सहभागी हुन आग्रह गरेका हुन्।
उनले पार्टीभित्र फरक मत र असमझदारी हुनु लोकतान्त्रिक अभ्यासकै हिस्सा भएको उल्लेख गर्दै त्यसको समाधान संवाद, विधि र पद्धतिबाट खोज्नुपर्ने बताएका छन्। महाधिवेशन नै सबै सदस्यको सहभागितामार्फत फरक विचारलाई सम्मान र सम्बोधन गर्ने उत्तम माध्यम भएको उनको भनाइ छ।
थापाले महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न केन्द्रीय कार्यसमितिले आपसी संवाद र सहमतिको वातावरण बनाउन अधिकतम प्रयास गर्दै आएको दाबी गरेका छन्। महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध र गतिशील बनाउँदै राष्ट्रिय चुनौती सामना गर्न सक्ने बलियो कांग्रेस निर्माण गर्ने उनले बताएका छन्।
अपिलमा पार्टीले २०८२ पुससम्म सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने निर्णय गरेको उल्लेख छ। त्यसअनुसार सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यको नामावली टुंग्याइसकेको र केन्द्रीय निर्वाचन समितिले अधिवेशन प्रक्रिया अघि बढाइसकेको थापाले जानकारी दिएका छन्।
भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समावेश गर्ने गरी आवश्यक प्रबन्ध गरिसकेको उनले स्मरण गराएका छन्।
तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा सुनिश्चित भइसकेकाले उनीहरू १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय सदस्यकै रूपमा सहभागी हुन सक्ने थापाको भनाइ छ। त्यसैले कुनै द्विविधा नराखी असोज ३ र ४ गतेको वडा अधिवेशनसहित निर्धारित कार्यतालिकाअनुसारका सबै तहका अधिवेशनमा सहभागी हुन उनले आग्रह गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने तय भएको छ। महाधिवेशनको प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु हुँदै छ।


