काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भइरहेको सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर सञ्चारकर्मी पक्राउ परेको तथा पक्राउ गर्ने तयारी भइरहेको विषयबारे चासो व्यक्त गरेका थापाले सरकारको पछिल्लो कार्यशैलीले राज्यका निकायमाथि कार्यकारी हस्तक्षेपको संकेत गरेको टिप्पणी गरेका हुन्।
१५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदभार ग्रहण गरेको केही दिनपछि सभापति थापाले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत भने,‘हामी नै हो स्टेट,हामीले बोलेको कुरा हुकुम हुन्छ,अड्डा,अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो।’
उनले सरकारको कामकारबाहीलाई सामान्य रूपमा लिन नसकिने बताए। सरकारले शक्तिको प्रयोग स्वेच्छाचारी ढंगले गरेको आरोप लगाए। ‘शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ। मेरो इच्छा नै कानुन हो भन्ने भयो, अहिले भएकै त्यही हो। प्रवृत्तिले हद नाघेको छ,’ सभापति थापाले भने।



