कोशी प्रदेश

पुराना दलमा पहिरो, श्रम संस्कृतिमा नेताको ओइरो!

किरण पौडेल १५ कार्तिक २०८३ १४:१४ | Sunday, November 1, 2026
12
SHARES
पुराना दलमा पहिरो, श्रम संस्कृतिमा नेताको ओइरो! श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ।

काठमाडौँ- झन्डै चार दशक नेकपा एमालेमा बिताएका इलामका उमेश गुरुङले केही दिनअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै पार्टी परित्यागको घोषणा गरे। एमाले इलामका पूर्वसचिव गुरुङले पार्टीमा आबद्ध रहेकोमा ‘हीनताबोध’ भएको उल्लेख गर्दै अलग हुने निर्णय सुनाएका हुन्। उनले आफ्नो स्टाटसमा जिल्लादेखि राष्ट्रिय तहसम्मका एमाले नेताहरू र पार्टीका नाममा भएका विकास निर्माणका कामसमेत सम्झिएका छन्।

एमाले परित्याग गरेलगत्तै उनी श्रम संस्कृति पार्टीमा आबद्ध भए। पूर्वपत्रकारसमेत रहेका गुरुङलाई संगत गर्नेहरू स्पष्टवक्ताका रूपमा चिन्छन्। उनको यही छविका कारण स्थानीयस्तरमा राम्रो प्रभाव छ।

गुरुङले दुईपटक सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बन्ने आकांक्षा राखेका थिए। तर दुवैपटक उनलाई पछि पार्दै एमाले नेता उदय राईले टिकट पाए। पार्टीले आफ्नो आकांक्षा सम्बोधन नगरेपछि उनले असन्तुष्टि व्यक्त गर्न छाडेनन्।

‘मेरा धेरै शुभचिन्तकले एकपटक संसदीय कार्यकारी भूमिकामा देख्न चाहेका थिए। पूरा गर्न सकिनँ, क्षमा दिनुहोला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म विगतका दुई स्थानीय चुनावमा आकांक्षी थिएँ। सेटिङ, नातागोता, कृपापात्र भएनछु। पटक्कै पछुतो छैन। पछुतो त सिंगो जीवन एमालेमा व्यर्थै बिताएकोमा छ।’

लामो समय बिताएको पार्टीप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति रोजेका गुरुङ अब त्यही पार्टीबाट सन्दकपुर गाउँपालिकाको अध्यक्षका प्रत्यासी बन्ने चर्चा छ।

उनी मात्र होइन, सन्दकपुर–५ जमुनाका एमाले युवा नेता केवल राई पनि श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

सन्दकपुरका यी दुई नेता एमाले छाड्दै गर्दा नजिकैको माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितबहादुर राईले पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेका छन्। गाउँपालिका अध्यक्ष भइसकेका र एकपटक संसदीय निर्वाचनमा समेत उम्मेदवार बनेका जितबहादुरले पुरानो पार्टीको औचित्य नरहेको निष्कर्षसहित श्रम संस्कृति रोजेका हुन्।

‘हामीले जस्तो सोचिरहेका थियौँ, एमाले त्यो स्तरको पार्टी बनेन। त्यही कारण नयाँतिर लागियो,’ जितबहादुरले हिमालप्रेससँग भने।

उनी नेकपा जिल्ला कमिटी अध्यक्षका आकांक्षी थिए। पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनालका निकटस्थ मानिने उनले खनालसँगको राजनीतिक सम्बन्धसमेत त्याग्दै पार्टी छाडेका हुन्।

उमेश, केवल र जितबहादुरका यी निर्णय कोशी प्रदेशका पहाडी जिल्लामा पुराना दलप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षण बढ्दै गएको संकेतका रूपमा देखिएका छन्। श्रम संस्कृति पार्टीका नेताहरू पनि कोशीका पहाडी जिल्लामा पार्टीप्रतिको आकर्षण बढिरहेको दाबी गर्छन्।

‘केन्द्रबाट नेताहरू गाउँ पुग्छन्, पार्टी प्रवेश गर्नेको लहर चल्छ। कहिले पाँचथर त कहिले ताप्लेजुङ वा भोजपुरमा पुराना दलका नेताहरू अहिले पार्टी परित्याग गरिरहेका छन्,’ जितबहादुरले भने।

नेताहरूका अनुसार कोशीका पहाडी जिल्लामा पुराना दल छाड्नेहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टीमा आबद्ध भइरहेका छन्। तर पछिल्लो समय श्रम संस्कृतिमा प्रवेश गर्नेको सङ्ख्या बढी रहेको पार्टीका नेताहरूको दाबी छ।

‘सरकार बनेपछि रास्वपातिर खासै जनलहर देखिएन। तर हाम्रो पार्टीमा धेरै प्रवेश गरिरहनुभएको छ,’ श्रम संस्कृति पार्टीका सहमहासचिव समीर तामाङ भन्छन्, ‘म एकपटक पाँचथर जाँदा एक हजार ३११ जना र दोस्रोपटक जाँदा ९०३ जना प्रवेश गराएँ।’

तामाङका अनुसार श्रम संस्कृति प्रवेश गर्ने अधिकांश पुराना दलका नेताकार्यकर्ता छन्। ‘एमाले, नेकपा र कांग्रेसकै नेता धेरै हुनुहुन्छ। रास्वपाका केही पनि हुनुहुन्छ,’ उनी भन्छन्, ‘रास्वपाको संगठन तल्लो तहसम्म पुग्न नसकेको र आकर्षण नदेखिएकाले त्यहाँबाट कम प्रवेश भइरहेको छ।’

किन छाड्दैछन् पुराना पार्टी?

फागुन २१ को आमनिर्वाचनमा श्रम संस्कृति पार्टीले कोशी प्रदेशबाट प्रत्यक्षतर्फ तीन सिट जितेको थियो। निर्वाचनको चार महिनाअघि मात्रै गठन भएको पार्टीले भोजपुर, खोटाङ र सुनसरी–१ मा जित निकालेको हो।

लामो समय मंगोल अर्गनाइजेसन (एमएनओ) मा राजनीति गरेका आरएन राई खोटाङबाट निर्वाचित हुँदा ध्रुव राईले भोजपुरमा जित हासिल गरेका थिए। सुनसरी–१ बाट भने धरान उपमहानगरपालिकाका पूर्वप्रमुख हर्क साम्पाङ निर्वाचित भएका थिए।

राजनीतिक विश्लेषकहरूका अनुसार श्रम संस्कृति पार्टीका नेताहरू परम्परागत अर्थमा राजनीतिक नेता मात्र नभई अभियन्ताका रूपमा पनि स्थापित भएकाले उनीहरूप्रति आकर्षण बढेको हो।

‘उनीहरूको शैली र स्वभाव भुइँतहका नेताको भएकाले पनि धेरै प्रभावित भएका हुन्,’ राजनीतिक विश्लेषक धर्म गौतम भन्छन्।

पुराना दलको नसुध्रिएको कार्यशैली र नेतृत्वप्रतिको अविश्वास पनि नयाँ पार्टीतर्फ आकर्षण बढ्नुको अर्को कारण रहेको श्रम संस्कृति पार्टीका युवा नेता राजन समीपको बुझाइ छ। पूर्वमाओवादी नेता समीप केही समयअघि मात्रै श्रम संस्कृति प्रवेश गरेका हुन्। अहिले उनी पार्टीको संगठन सुदृढीकरण अभियानमा सक्रिय छन्।

‘हामी आफैँ पनि लामो समय एउटै पार्टीमा रह्यौँ। तर जनताका समस्या सम्बोधन हुने गरी काम भएको देखिएन,’ उनी भन्छन्, ‘जनताले पुराना दललाई पत्याउन छाडेका छन्। नेतृत्वको अलोकप्रियता र त्यसलाई ढाकछोप गर्ने प्रवृत्तिभन्दा पार्टीबाट बाहिरिनु बेस लाग्यो।’

समीपका अनुसार श्रम संस्कृति पार्टीले सञ्चालन गरेका अभियानले जनतामा नयाँ आशा जगाएको छ। ‘अभियान जताजता लग्यो, त्यतात्यता लहर बढ्दो छ। जनतामा आशाको दियो बल्न थालेको छ,’ उनी भन्छन्।

कहाँ बढी प्रभाव, कहाँ कमजोर?

श्रम संस्कृति पार्टीले आगामी प्रदेशसभा निर्वाचनपछि कोशी प्रदेशमा सरकार निर्माण गर्ने लक्ष्य राखेको छ। त्यसका लागि पार्टीले वरिष्ठ नेता सुदन किरातीलाई भावी मुख्यमन्त्रीका रूपमा अघि सारेर प्रचारसमेत गरिरहेको छ। माओवादी छाडेर श्रम संस्कृति प्रवेश गरेका किराती अहिले हर्क साम्पाङ अंकित टी–सर्ट लगाएर गाउँगाउँ पुगिरहेका छन्।

नेता समीपका अनुसार सुदन किरातीको सक्रियताले पनि कोशीमा पार्टीको प्रभाव विस्तार गर्न सहयोग पुगेको छ। पार्टीले अहिले ‘केचना–कञ्चनजंघा टू सगरमाथा हातेमालो अभियान’ सञ्चालन गरिरहेको छ। कोशी प्रदेशको तराईदेखि हिमाली क्षेत्रसम्म पुग्ने लक्ष्यसहित अभियानअन्तर्गत विभिन्न जिल्लामा कार्यक्रम भइरहेका छन्।

‘प्रदेशमा लगभग दुईतिहाइको अनुमान छ। अझै धेरै गर्न बाँकी छ,’ सहमहासचिव तामाङ भन्छन्।

पार्टी स्रोतका अनुसार कोशीका १४ जिल्लामध्ये पाँचथर, इलाम, खोटाङ, उदयपुर र मोरङको राजमार्गभन्दा माथिल्लो क्षेत्रमा श्रम संस्कृति पार्टीको प्रभाव बढी छ। तेह्रथुम, ओखलढुंगा र सोलुखुम्बुमा भने तुलनात्मक रूपमा कम प्रभाव देखिएको छ।

‘हिमाली भेगमा काम गर्न पाइएको छैन। त्यता पनि अभियान लैजाने हो भने प्रभाव बढ्छ,’ नेता समीप भन्छन्।

तराईका जिल्लामा समेत पार्टीको प्रभाव विस्तार भइरहेको उनको दाबी छ। ‘पहिले जातिवादको आरोप लाग्थ्यो। अहिले त्यस्तो छैन,’ उनी भन्छन्।

श्रम संस्कृति पार्टीले कोशीका एक सय ३७ स्थानीय तहमध्ये बहुमत पालिकामा जित हासिल गर्ने दाबीसमेत गरेको छ। स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न पालिकाका आकांक्षीलाई पार्टीमा भित्र्याइरहेकाले चुनावी परिणाम आफ्नो पक्षमा आउने नेताहरूको बुझाइ छ।

‘अहिले नै संख्या किटान गर्न त गाह्रो होला। तर धेरै ठाउँमा जित्न सकिन्छ,’ सहमहासचिव तामाङ भन्छन्।

अन्य प्रदेशमा तालमेलको रणनीति

कोशीमा प्रभाव विस्तार गर्ने अभियानसँगै श्रम संस्कृति पार्टीले अन्य छ प्रदेशमा पनि संगठन विस्तारका कार्यक्रम सञ्चालन गरिरहेको छ। अध्यक्ष हर्क साम्पाङले मधेशबाट रुवीकुमारी ठाकुरलाई उपसभामुख बनाउने र महाकालीमा पुल निर्माणको पहल गर्नेजस्ता गतिविधिलाई पार्टीको प्रभाव विस्तार गर्ने रणनीतिका रूपमा नेताहरूले व्याख्या गरेका छन्।

पार्टीले जनजाति समुदायका नेतामा मात्र सीमित नभई अन्य समुदायका नेता तथा जनप्रतिनिधिलाई समेत आकर्षित गर्ने प्रयास गरिरहेको छ।

‘भर्खरै भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा प्रवेश गर्नुभएको छ। अन्य नेता पनि जनप्रतिनिधिको पद छाडेर आइरहनुभएको छ। सबैको पार्टी बनाउने प्रयास जारी छ,’ नेता समीप भन्छन्।

आगामी निर्वाचनमा अन्य प्रदेशमा भने श्रम संस्कृति पार्टीले तालमेलको रणनीति अपनाउने भएको छ। नयाँ राजनीतिक शक्तिहरूसँग सहकार्य गरेर चुनावी प्रतिस्पर्धामा उत्रिने उसको योजना छ।

नेताहरूका अनुसार मधेशमा सीके राउत नेतृत्वको जनमत पार्टी, बागमतीमा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र सुदूरपश्चिममा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग सम्बन्ध विस्तार गर्ने प्रयास भइरहेको छ।

‘हाम्रा अध्यक्षसमेत सबैलाई जोड्न लाग्नुभएको छ। सबैसँग समन्वय भइरहेको छ। अब निर्णायक राष्ट्रशक्ति बनाउने योजनामा जुटेका छौँ,’ सहमहासचिव तामाङ भन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast