काठमाडौँ- श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक मंगलबारदेखि धरानमा बसिरहेको छ। मंगलबारको बैठकमा वरिष्ठ नेता सुदन किराती समूहलाई प्रवेश नदिएको भन्ने कुरा एकदमै चर्चित बन्यो। किराती समूहका नेताहरूलाई बैठकमा नबोलाइएको र बैठक स्थल गएकालाई पनि प्रवेश नदिएको नेताहरूले गरे। तर आज भने बैठकमा उपस्थित हुन किराती समूहलाई अनुरोध गरिएको छ।
किरातीले यसलाई सकारात्मक रुपमा लिँदै सबैलाई बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा हिजो बसेको बैठकले आज औपचारिक रुपमा सुदन समूहलाई स्वागत गर्ने निर्णय गरेको व्यहोरा सहितको पत्र सुदन समूहलाई पठाएको छ । किराती निकट एक नेताका अनुुसार आजको स्वागत कार्यक्रमका लागि औपचारिक निम्तो आइसकेको छ ।
निम्तोपछि सुदन किरातीले फेसबुकमा लेख्दै भनेका छन्, ‘काम गर्दै जाँदा भूल, गल्ती र कमजोरी हुन सक्छन् तर त्यसमा खराब नियत नै छ भन्नु हुँदैन ।’ उनले देश शोक र संकटको घडीमा भएकाले यस्तो संवेदनशील समयमा सबै अझ बढी जिम्मेवार, संयमित र एकताबद्ध हुन रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘देश र संस्थाभन्दा व्यक्ति वा समूह ठूलो हुन सक्दैन । त्यसैले सबै व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठ्नै पर्छ ।’ उनले बैठकमा सबैको उपस्थितिका लागि अनुरोध गरेका छन् र आम पार्टीपंक्तिलाई कुनै पनि प्रकारको भ्रममा नपर्न अपिल गरेका छन् ।
चार महिनाअघि किराती वरिष्ठ नेता बन्ने गरी श्रम संस्कृतिसँग एकता भएको थियो । किराती समूहबाट एकजना उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य सहित १८ जना पार्टी एकतामा समावेश भएका छन् । आज सबैलाई बैठकमा आउन किरातीले भनेका हुन् ।


