धनगढी- नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका विधेयकलाई चाँडै टुंग्याएर प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।
कांग्रेस प्रदेशसभा संसदीय नेता कमलबहादुर शाहले समिति सभापति धर्मराज पाठकसँग बिहीबार छलफल गरी लामो समयदेखि विचाराधीन रहेका विधेयकमाथिको छलफल प्रक्रिया टुंग्याएर तत्काल प्रदेशसभामा पेस गर्नुपर्नेमा जोड दिए।
निवर्तमान मुख्यमन्त्री शाहले आफू नेतृत्वको सरकारले प्रदेशसभा सचिवालयमा दर्ता गरी समितिमा छलफलमा रहेका विधेयकबारे चासो राख्दै सभापतिको ध्यानाकर्षण गराइएको बताए। उनी नेतृत्वको सरकारले २०८१ साल चैत ३ गते ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र २०८२ जेठ २१ मा ‘सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।
यी दुवै विधेयक लामो समयसम्म सदनको प्रक्रियामा अगाडि नबढेपछि गत वैशाख १७ गते संसदीय दलको बैठकबाट अविलम्ब सदनमा पेस गरी छलफल प्रक्रिया अघि बढाउन सभामुखको ध्यानाकर्षण गराइएको संसदीय दलका नेता शाहले स्मरण गराए।
‘गत जेठ ११ गते प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुवै विधेयक टेबल गरिएका थिए। जेठ २० गते प्रदेशसभामा सामान्य छलफल भएपछि जेठ २६ गते दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको थियो’, उनले भने,‘छलफलका क्रममा रहेका यी दुई विधेयकसहित अन्य विचाराधीन विधेयकलाई समेत छिटो टुङ्ग्याएर प्रदेशसभामा पठाउन छलफल भएको हो।’
विधेयकहरू लामो समयसम्म समितिमा रोकिँदा प्रदेशसभाको विधायिकी कार्यसम्पादन र संसदीय प्रक्रियामाथि नै प्रश्न उठ्ने भएकाले जनसरोकार र प्रदेशको दीर्घकालीन विकाससँग जोडिएका विधेयकहरूलाई प्राथमिकताका साथ अघि बढाउन सभापति पाठकसमेत सहमत भएको जनाइएको छ।



