कांग्रेस इतिहासमै जम्बो कार्यसमितिको पदबहाली आज

हिमाल प्रेस १२ कार्तिक २०८३ ९:५० | Thursday, October 29, 2026
10
SHARES
कांग्रेस इतिहासमै जम्बो कार्यसमितिको पदबहाली आज

काठमाडौँ- नेपाली कांग्रेसको इतिहासमै ठूलो केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्दै छ। १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार शपथ ग्रहण गरेसँगै नयाँ कार्यसमितिले पदबहाली गर्ने भएको हो। असोजमा सम्पन्न महाधिवेशनमा सभापतिसहित दुई सय ३१ कार्यसमिति चयन भएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा सभापतिबाहेकका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्। सभापति गगनकुमार थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै शपथ ग्रहण गरिसकेका छन्।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार समारोहमा नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै पदबहालीसमेत गराइनेछ। शपथ ग्रहण र पदबहालीपछि बिहीबारै नयाँ कार्यसमितिको पहिलो बैठक बस्ने तयारी छ।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व चयन गरेको थियो। निर्वाचनको अन्तिम परिणाम असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।

महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला पन्त निर्वाचित भएका छन्।

१५ औँ महाधिवेशनको बन्दसत्रले कार्यसमितिको आकार बढाउँदै एक सय ६४ बाट दुई सय ९७ सदस्यीय पुर्‍याउने निर्णय गरेको थियो। यसपटक दुई सय ३१ पदका लागि निर्वाचन भएको थियो। ६६ पदमा भने मनोनीत गरिने व्यवस्था विधानमा गरिएको छ।

नयाँ कार्यसमितिको पहिलो बैठकले महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिने तयारी छ। बैठकमा पार्टीका जिल्ला तथा प्रदेश अधिवेशनबारे पनि छलफल हुने नेताहरूले बताएका छन्।

जम्बो कार्यसमितिले पदभार सम्हाल्न लागेसँगै कांग्रेसको नयाँ नेतृत्वसामु पार्टी संगठनलाई चुस्त बनाउने, आन्तरिक एकता कायम गर्ने र महाधिवेशनबाट व्यक्त अपेक्षालाई व्यवहारमा उतार्ने चुनौती पनि रहनेछ।

प्रकाशित: १२ कार्तिक २०८३ ९:५० | Thursday, October 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast