अमेरिकाको मियामी नजिकैको ओपा-लोका विमानस्थलमा बुधबार फ्लाभियो बोल्सोनारो। तस्बिर स्रोत : न्युयोर्क टाइम्स
काठमाडौँ- ब्राजिलका राष्ट्रपति पदका पराजित उम्मेदवार फ्लाभियो बोल्सोनारो बुधबार अमेरिकाको मियामी पुगेका छन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा ब्राजिलका अधिकारीहरूले उनको राहदानी रद्द गरेपछि उनी देश छाडेर अमेरिका पुगेका हुन्।
बोल्सोनारो अमेरिका पुग्नुअघि २४ घण्टासम्म उनको अवस्था अज्ञात थियो। उनी कहाँ छन् र कसरी अमेरिका पुग्छन् वा पुग्छन् कि पुग्दैनन् भन्ने स्पष्ट हुन सकेको थिएन।
अमेरिकी परराष्ट्र मन्त्रालयले बोल्सोनारो र उनको परिवारलाई अमेरिका प्रवेश गर्न दिने गरी भिसा जारी गर्ने योजना बनाएको मन्त्रालयका एक वरिष्ठ अधिकारीले मंगलबार बताएका थिए।
बुधबार बिहान साढे ९ बजेपछि बोल्सोनारो परिवारसहित मियामीको एउटा निजी विमानस्थलमा विमानबाट ओर्लिएको दृश्य सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए। विमानस्थलबाट बाहिरिएलगत्तै उनीहरूलाई छाताले छोपेर एउटा एसयूभीमा राखिएको थियो।
अमेरिकी सरकारले बोल्सोनारोलाई गरेको सहयोगले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाबीच तनाव बढाउन सक्ने देखिएको छ। लुलाले ट्रम्पमाथि ब्राजिलको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै आएका छन्।
दक्षिणपन्थी सिनेटर बोल्सोनारो आइतबार भएको राष्ट्रपति निर्वाचनमा लुलासँग पराजित भएका थिए। उनका पिता तथा पूर्वराष्ट्रपति जैर बोल्सोनारो सत्तापलटको प्रयास गरेको अभियोगमा लामो कारावास सजाय भोगिरहेका छन्।
निर्वाचनको नतिजालाई सुरुमा चुनौती दिएका फ्लाभियोले पछि पराजय स्वीकार गरेका थिए। यद्यपि उनले लुलाले अनुचित रणनीति अपनाएर चुनाव जितेको आरोप लगाएका थिए।
ट्रम्पले पनि ब्राजिलको निर्वाचनको आलोचना गर्दै त्यसमा धाँधली भएको देखिएको बताएका थिए।
अर्जेन्टिनाको राष्ट्रिय आप्रवासन निर्देशनालयका अनुसार बोल्सोनारो मंगलबार राति पत्नी र दुई छोरीसहित स्थलमार्गबाट ब्राजिल हुँदै अर्जेन्टिना पुगेका थिए। बुधबार उनले त्यहाँबाट निजी विमान चढेर इक्वेडरको ग्वायाकिल गएको र त्यसपछि अर्को विमानबाट अमेरिका पुगेको निर्देशनालयले जनाएको छ।
मंगलबार ब्राजिलका अधिकारीहरूले बोल्सोनारोका राहदानी रद्द गरेका थिए। अनलाइन जुवासम्बन्धी कारोबारमार्फत एक अर्ब डलरभन्दा बढी रकम शुद्धीकरण गरेको आरोप लागेका एक ब्राजिलेली वकिलसँगको सम्बन्धबारे अनुसन्धान भइरहेकाले उनको राहदानी रद्द गरिएको थियो।
बोल्सोनारोमाथि भ्रष्टाचारको ठूलो योजनामा संलग्न भई बदनाम भएका एक बैंकरबाट लाखौँ डलर जुटाएर आफ्ना पिता जैर बोल्सोनारोको जीवनीमा आधारित चलचित्र निर्माण गर्न खोजेको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
जैर बोल्सोनारो सन् २०२२ को राष्ट्रपति निर्वाचनमा लुलासँग पराजित भएपछि सत्तापलटको प्रयास गरेको अभियोगमा दोषी ठहर भएका थिए।
राहदानी रद्द गर्नुका साथै ब्राजिलका अधिकारीहरूले बोल्सोनारोलाई देश छाड्न रोक लगाउन आप्रवासन अधिकारीहरूलाई सतर्कतासमेत गराएका थिए। त्यति हुँदाहुँदै पनि उनी कसरी सीमा पार गरेर अर्जेन्टिना पुगे भन्ने तत्काल स्पष्ट हुन सकेको छैन।
अर्जेन्टिनाको परराष्ट्र मन्त्रालयका अनुसार बोल्सोनारोको प्रवेशसम्बन्धी प्रक्रिया राष्ट्रपति हाभियर मिलेईको कार्यालय र आप्रवासन अधिकारीहरूले सम्हालेका थिए। मिलेई ब्राजिलेली सिनेटर बोल्सोनारोका निकट सहयोगी हुन्। यद्यपि अर्जेन्टिनाको संघीय प्रहरीले बोल्सोनारो देश प्रवेश गरेको कुनै अभिलेख नरहेको जनाएको छ।



